काठमाडौं(जस)–नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक.प्रा.लि.ले विद्यमान ग्राहकलाई लक्षित गर्दै देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी तथा स्वामित्व सुरक्षालाई एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ । साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो । कम्पनीका अनुसार अभियानअन्तर्गत ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा मुख्य पक्षलाई समेटिएको छ ।
‘केयर प्लस’अन्तर्गत ग्राहकले आधिकारिक बीवाईडी सर्भिस नेटवर्कमार्फत सवारीको विस्तृत निरीक्षण, जेन्युइन स्पेयर पाट्र्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा प्रमाणित प्राविधिकबाट मर्मतसम्भार सेवा प्राप्त गर्नेछन् । त्यस्तै, ‘कनेक्ट प्लस’मार्फत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा उपलब्ध गराइनेछ । यी सेवाका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहकार्य गर्नेछ । ‘प्रोटेक्ट प्लस’अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहजीकरण, योग्य सवारीका लागि विस्तारित वारेन्टी तथा दुर्घटना भएमा नगदरहित सेवा र बीमा दाबी प्रक्रियामा समन्वय गरिने कम्पनीले जनाएको छ । यसका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहकार्य गर्नेछन् ।
अभियानको महत्वपूर्ण पक्षका रूपमा सेप्टेम्बर २०२४ अघि डेलिभरी भएका र बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा यी सुविधा निःशुल्क उपलब्ध गराइने भएको छ । त्यस्ता ग्राहकले ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत प्राप्त गर्नेछन् । अभियानअन्तर्गत योग्य ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन् । साथै, एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि उपलब्ध हुनेछ । साइमेक्स इंक.का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी हस्तान्तरणपछि सुरु हुने बताए । उनले व्यावसायिक सर्भिस, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराउन लागिएको बताए । हाल बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोडमा सञ्चालनमा रहेको छ ।
ग्राहकलाई थप सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको साइमेक्सले जनाएको छ ।नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको यो अभियानले बीवाईडीको बिक्रीपछिको सेवा, डिजिटल कनेक्टिभिटी र ग्राहक स्वामित्व अनुभवलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । आगामी अगस्ट ११ देखि काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीले आफ्ना नवीनतम उत्पादन तथा सेवासमेत प्रस्तुत गर्नेछ ।