काठमाडौं(जस)–टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक छुट र विशेष अनुभवसहितको योजना सार्वजनिक गरेको छ । एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने नाइमा एक्स्पो टोयोटाका लागि यस वर्ष थप विशेष बन्ने भएको छ ।
कम्पनीले एक्स्पोको अवसर पारेर नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । टोयोटाले एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र उक्त विशेष छुट उपलब्ध हुने जनाएको छ । अर्थात्, एक्स्पोमा पुगेर टोयोटाको गाडी बुक गर्ने ग्राहकले खरिदमा प्रत्यक्ष बचतको अवसर पाउनेछन् ।