बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३

मनाङका बाढीपहिरो प्रभावित ६४ परिवारलाई एनआरएनएको राहत

बुधबार, असोज २१ २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मनाङ जिल्लाका बाढी तथा पहिरो प्रभावित ६४ परिवारलाई राहत तथा मानवीय सहयोग प्रदान गरेको छ ।

गत असोज ८ गतेदेखि १२ गतेसम्म परेको भीषण वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावित चामेका १४ परिवार र ताल गाउँका ५० परिवार गरी ६४ परिवारलाई स्थानीय आवश्यकता र मागका आधारमा राहत सामग्री वितरण गरिएको हो ।

एनआरएनए एनसीसी जापानका पूर्वअध्यक्ष ताशी लामा तथा समाजसेवी शुक गुरुङको अनुरोधमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरण गरिएको एनआरएनएले जनाएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र नासो गाउँपालिका–१ का वडाध्यक्ष मिन राशी गुरुङको सहकार्यमा प्रभावित परिवारको पहिचान गरी राहत सामग्री वितरण गरिएको हो ।

राहतस्वरूप प्रत्येक घरधुरीलाई एक थान त्रिपाल, एक थान सोलार बत्ती, ४० किलो बराबरको खाद्यान्न सामग्रीको एक प्याकेज, एक सेट भान्साका सामग्री र एक थान प्रेसर कुकर प्रदान गरिएको थियो । त्यसैगरी स्थानीय आवश्यकताका लागि दुई थान ह्यान्ड माइकसमेत उपलब्ध गराइएको एनआरएनएले जनाएको छ ।

राहत वितरण कार्यक्रममा एनआरएनए प्रवक्ता सोम नाथ सापकोटा, एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष सबिन योञ्जन, विपद् व्यवस्थापन समितिका सदस्य निरञ्जन केसी, प्रदीप खनाल, शिर तामाङलगायत राहत टोलीको सहभागिता तथा समन्वय रहेको थियो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज गोर्खालीले विपद्को कठिन समयमा प्रभावित नेपालीको साथमा उभिनु एनआरएनएको निरन्तर मानवीय प्रतिबद्धता भएको बताएका छन् ।

उनले आगामी दिनमा पनि स्थानीय आवश्यकता र मागका आधारमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई निरन्तरता दिने बताए । विपद्का कारण प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै पुनर्स्थापनाका काममा समेत सहयोग गर्ने एनआरएनएको प्रतिबद्धता रहेको उनको भनाइ छ ।


गैरआवासीय नेपाली संघ (NRNA) ले आज मनाङ जिल्लामा बाढी तथा पहिरो प्रभावित परिवार हरूलाई राहत तथा मानवीय सहयोग प्रदान गरेको छ।
गत असोज ८ गतेदेखि १२ गतेसम्म परेको भीषण वर्षा पछि आएको बाढी तथा पहिरोबाट प्रभावित चामेका १४ परिवार र ताल गाउँका ५० परिवार गरी जम्मा ६४ परिवारलाई स्थानीय आवश्यकता र मागका आधारमा राहत सामग्री वितरण गरिएको हो।
एनआरएनए एनसीसी जापानका पूर्व अध्यक्ष ताशी लामा ज्यू तथा समाजसेवी शुक गुरुङ ज्यूको अनुरोधमा स्थानीय जन प्रतिनिधिहरूको समन्वय तथा चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घले ज्यू र नासो गाउँपालिका–१ का वडाध्यक्ष मिन राशी गुरुङ ज्यूको सहकार्यमा प्रभावित परिवारहरूको पहिचान गरी राहत वितरण गरियो ।
प्रत्येक घरधुरीलाई वितरण गरिएको राहत सामग्री:
१. त्रिपाल – ६४ थान
२. सोलार लाइट – ६४ थान
३. खाद्यान्न सामग्री प्याकेज (४० केजी बराबर) – ६४ प्याकेट
४. किचन सामग्री सेट – ६४ सेट
५. प्रेसर कुकर – ६४ थान
६. ह्यान्ड माइक – २ थान
यस मानवीय कार्यमा प्रत्यक्ष रूपमा सहभागी भई सहयोग तथा समन्वय गर्नुहुने एनआरएनए प्रवक्ता सोम नाथ सापकोटा ज्यू, एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष सबिन योञ्जन ज्यू, विपद् व्यवस्थापन समितिका सदस्य निरञ्जन केसी ज्यू,प्रदीप खनाल ज्यू, शिर तामाङ ज्यू लगायत सम्पूर्ण राहत टोलीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
विपद्को कठिन समयमा प्रभावित नेपालीहरूको साथमा उभिनु गैरआवासीय नेपाली संघको निरन्तर मानवीय प्रतिबद्धता हो। आगामी दिनमा पनि आवश्यकता र स्थानीय मागका आधारमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई निरन्तरता दिनेछौं।🙏🌺

…………………………
भवदीय,
मनोज गोर्खाली
उपाध्यक्ष
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC)
तथा
संयोजक,विपद् व्यवस्थापन समिति

प्रतिक्रिया
सम्बन्धित समाचार