काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरू गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान १० बजेदेखि सुरू हुनेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।
प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे।
‘बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले पेश गरेका छौँ। यो पनि ऐतिहासिक हो,’ उनले भने।
उनले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए। ‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ। यस्तो कांग्रेस बनाउन खोजेको हो,’ उनले भने।
शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। ‘उत्तर भएको कांग्रेस, भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो। अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो,’ उनले भने।
महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताए।
‘कसले के पद जित्छ, लान्छ भनेर नलाग्नुस्,’ उनले भने, ‘लोकतान्त्रिक संस्कृतिको क्षयलाई हामीले उठाउने छौँ।’
उनले कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रबाट कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।
बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफलपछि बन्द सत्रले पारित गरेको हो।
प्रतिवेदन पारित भएसँगै कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन पारित हुने क्रम अघि बढेको छ।
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको छ।
घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ। बन्द सत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ।
प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ।