काठमाडौं ,नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि पेशागत विषयगत क्षेत्रबाट उम्मेदवारी दिएका चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको पक्षमा माहोल उत्साहजनक बन्दै गएको छ । कलाकारिता, सामाजिक गतिविधि र कांग्रेसको संगठनात्मक अभियानमा सक्रिय रहँदै आएका कटुवालको उम्मेदवारीलाई पेशागत क्षेत्रसँगै युवा पुस्ताले पनि चासोका साथ हेरेका छन्।
कटुवालले केन्द्रीय सदस्यको पेशागत विषयगत क्षेत्र खुलातर्फ क्रमसंख्या १४ मा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीमा समेत उनको नाम क्रमसंख्या १४ मै कायम छ। पेशागत खुलातर्फ पाँच पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
रामेछापबाट खुलातर्फ लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कटुवालले केन्द्रीय सदस्यको यात्रा अघि बढाएका हुन्। उनी रामेछाप क्षेत्र नम्बर १ बाट ४८० मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। यसअघि उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा समेत कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका कटुवालको पछिल्लो राजनीतिक सक्रियताले उनको उम्मेदवारीलाई थप बल दिएको देखिन्छ।
कटुवाल सुरुमा खुलातर्फबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए। तर कलाकारिता तथा पेशागत क्षेत्रको प्रतिनिधित्वलाई कांग्रेसको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित उनले अन्तिम समयमा पेशागततर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीलाई कलाकारिता क्षेत्रको प्रतिनिधित्वसँगै नयाँ पुस्तालाई पार्टीको नेतृत्वमा जोड्ने प्रयासका रूपमा समेत हेरिएको छ।
कटुवालको अभियान केवल पद प्राप्त गर्ने उद्देश्यमा सीमित नरहेको उनको भनाइ छ। महाधिवेशन प्रतिनिधि भनेको केन्द्रमा पुगेर मतदान गर्ने मात्र नभई आफ्नो क्षेत्र, समुदाय र कार्यकर्ताको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउने जिम्मेवारी भएको उनी बताउँछन्। यही सोचलाई केन्द्रीय सदस्यको भूमिकासँग जोडेर आफू अघि बढेको उनको धारणा छ।
कलाकारिताबाट देशभर बनाएको जनसम्पर्क र सामाजिक पहिचानलाई अब पार्टी संगठन तथा जनसेवामा जोड्ने उनको लक्ष्य छ। कांग्रेसलाई समयअनुकूल, गतिशील र जनतासँग अझ नजिकको संगठनका रूपमा अघि बढाउन युवाको सहभागिता बढाउनुपर्नेमा कटुवालले जोड दिँदै आएका छन्। विशेषगरी नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता र क्षमता पार्टीको नीति तथा नेतृत्व निर्माणमा उपयोग गर्नुपर्ने उनको धारणा छ।
राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्षका रूपमा कलाकार तथा संगीत क्षेत्रका समस्या र हकहितका विषय उठाउँदै आएका कटुवालको पेशागत अनुभव पनि उनको उम्मेदवारीको महत्वपूर्ण आधार बनेको छ। कलाकारिता, सामाजिक सरोकार र राजनीतिक सक्रियतालाई एउटै यात्रामा जोडेर अघि बढेका कारण उनको उम्मेदवारीप्रति कांग्रेसभित्र र बाहिर पनि चासो देखिएको छ।
रामेछापका महाधिवेशन प्रतिनिधिले आफूलाई दिएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताउँदै कटुवालले अब केन्द्रीय तहमा पुगेर संगठन सुदृढीकरण, युवाको सहभागिता विस्तार र जनताको आवाज प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्। कांग्रेसको नेतृत्व र संगठनलाई नयाँ पुस्तासँग जोड्न आफ्नो भूमिका अर्थपूर्ण हुने उनको विश्वास छ।
पेशागत क्षेत्रबाट प्रतिस्पर्धामा रहेका ३६ उम्मेदवारमध्ये क्रमसंख्या १४ मा रहेका कटुवालको अभियान पछिल्ला दिनमा थप सक्रिय र उत्साहजनक देखिएको छ। कलाकारिता क्षेत्रबाट स्थापित जनपहिचान, रामेछापबाट प्राप्त महाधिवेशन प्रतिनिधिको बलियो जनादेश र कांग्रेस संगठनभित्रको सक्रियतालाई आधार बनाउँदै उनले केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
कटुवालले कांग्रेसका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई पेशागत विषयगत क्षेत्र खुलातर्फ क्रमसंख्या १४ मा मतदान गरी आफ्नो पक्षमा विश्वास प्रकट गर्न आग्रह गरेका छन्। उनको उम्मेदवारीले कांग्रेसको केन्द्रीय नेतृत्वमा कलाकारिता, पेशागत क्षेत्र र नयाँ पुस्ताको प्रतिनिधित्वलाई थप बहसमा ल्याएको छ।