काठमाडौं,मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली काङ्ग्रेसको महाधिवेशनमा महासमिति सदस्य राजु रेग्मी राजलाई केन्द्रीय सदस्य पदमा अघि बढ्न आग्रह गरिरहेका छन्।
रेग्मीले एउटै क्षेत्र र सामाजिक पृष्ठभूमिका कांग्रेसका साथीहरूबीच चुनावी प्रतिस्पर्धा गराउनुभन्दा सहमतिका आधारमा एक जना उम्मेदवार अघि सार्नु उपयुक्त हुने धारणा राखेका छन । मध्यपूर्वमा कांग्रेसको संगठनात्मक एकता कायम राख्दै सर्वसम्मत रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
“आफ्नै साथीभाइ र एउटै समाजका साथीहरूबीच निर्वाचनमा जानु हुँदैन । सबैको सहमतिमा निर्विरोध रूपमा अघि बढ्न सकियो भने त्यसले मध्यपूर्वको एकता बलियो बनाउँछ,” रेग्मीले भने ।
कतारका महासमिति सदस्य रेग्मी विद्यार्थी जीवनदेखि प्रवाससम्म कांग्रेसको विभिन्न संगठनात्मक गतिविधिमा निरन्तर जोडिँदै आएका छन ।
कतारमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय रेग्मी गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा पनि लामो समयदेखि सक्रिय छन्। उनले एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् उनी आईसीसीका निवर्तमान उपाध्यक्षसमेत हुन भने हालका सल्लाहकार हुन ।
कांग्रेसको १५औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन पाउने व्यवस्था भएपछि प्रवासबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको विषयले महत्व पाएको छ। यही क्रममा मध्यपूर्वबाट कसलाई साझा उम्मेदवारका रूपमा अघि बढाउने भन्ने विषयमा कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताबीच छलफल चलिरहेको छ।
मध्यपूर्वमा कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, ओमानलगायत मुलुकमा नेपाली कांग्रेससँग आबद्ध जनसम्पर्क समितिहरू सक्रिय छन्। यी संगठनबीच समन्वय गरी साझा उम्मेदवार तय गर्ने प्रयास सफल भएमात्रै रेग्मी अगाडि बढ्ने संकेत देखिएको छ ।
रेग्मीको राजनीतिक पृष्ठभूमि विद्यार्थी राजनीतिदेखि कांग्रेस संगठनसम्म जोडिएको छ। प्रवासमा व्यवसाय र सामाजिक गतिविधिसँगै पार्टी राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनी महासमिति सदस्यका रूपमा कांग्रेसको सांगठनिक संरचनासँग समेत जोडिएका छन्। एनआरएनए अभियानमा नेतृत्वदायी जिम्मेवारी सम्हालेको अनुभवले उनको प्रवासी नेपाली समुदायसँगको सम्बन्धलाई थप फराकिलो बनाएको छ।
यद्यपि रेग्मीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत निर्णयका रूपमा अघि बढाएका छैनन्। मध्यपूर्वका कांग्रेसजनबीच सहमति बनेर साझा रूपमा जिम्मेवारी दिइए मात्र केन्द्रीय सदस्य पदमा जाने उनको स्पष्ट अडान छ। आफ्नै साथीभाइबीच चुनावी प्रतिस्पर्धा गराएर संगठनभित्र विभाजन ल्याउने पक्षमा आफू नरहेको उनले बताएका छन्।