आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३

कांग्रेसमा नयाँ गति र नेतृत्व आवश्यक : विकास भुजेल,कतार

आइतबार, असोज १८ २०८३

काठमाडौं,नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक पुनर्संरचना र नेतृत्वको भूमिकाबारे बहस तीव्र बन्दै गएको छ । यही सन्दर्भमा जनसम्पर्क समिति कतारका महाधिवेशन प्रतिनिधि विकास भुजेलले नेपाली कांग्रेसले आफ्नो गौरवपूर्ण इतिहास र वैचारिक विरासतलाई जोगाउँदै समयको मागअनुसार पार्टीभित्र नयाँ विचार, नीति र नेतृत्वको गति आवश्यक रहेको बताएका छन् ।

‘परम्पराको सम्मान, परिवर्तनको संकल्प र समुन्नत नेपालको प्रतिबद्धता’लाई आफ्नो राजनीतिक मूलमन्त्र बनाएका भुजेलले कांग्रेसको १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र नभई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने निर्णायक अवसरका रूपमा लिएका छन् । उनले कांग्रेसले विगतको योगदानबाट गौरव गर्ने मात्रै होइन, वर्तमानका चुनौती पहिचान गर्दै भविष्यका लागि स्पष्ट राजनीतिक मार्गचित्र निर्माण गर्नुपर्ने धारणा अघि सारेका छन् ।

‘गौरव, गति, गन्तव्य’को नारासहित अघि बढेका भुजेलले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसको मूल वैचारिक आधारका रूपमा स्थापित गर्दै ती आदर्शलाई व्यवहारमै रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार कांग्रेसको राजनीतिक शक्ति इतिहासको विरासतमा मात्र निर्भर हुन सक्दैन । बदलिँदो सामाजिक, आर्थिक र राजनीतिक परिवेशअनुसार आफूलाई निरन्तर रूपान्तरण गर्न सक्ने क्षमता नै पार्टीको भविष्य निर्धारण गर्ने मुख्य आधार बन्नेछ ।

भुजेलले परम्परा र परिवर्तनलाई एकअर्काका विरोधी पक्षका रूपमा नभई कांग्रेसको राजनीतिक यात्राका परिपूरक आधारका रूपमा हेर्नुपर्ने बताएका छन् । पार्टीको लोकतान्त्रिक संस्कार, संघर्ष र ऐतिहासिक योगदानको सम्मान गर्दै नयाँ पुस्ताको अपेक्षा, बदलिँदो राजनीतिक चेतना र जनताको जीवनसँग जोडिएका समसामयिक मुद्दालाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ ।

उनका अनुसार कांग्रेसले संगठनलाई थप चलायमान, अनुशासित र जनमुखी बनाउन आवश्यक छ । नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पार्टीभित्र विचारको बहस, नीतिको स्पष्टता र कार्यान्वयनको प्रभावकारिता बढाउनुपर्ने आवश्यकता उनले औँल्याएका छन् । महाधिवेशनलाई आन्तरिक प्रतिस्पर्धाको सीमामा मात्र नराखी पार्टीलाई नयाँ ऊर्जा दिने वैचारिक मञ्चका रूपमा विकास गर्नुपर्ने उनको जोड छ ।

राष्ट्रियतालाई भुजेलले भूगोल र माटोसँग मात्र सीमित विषयका रूपमा हेरेका छैनन् । उनका अनुसार राष्ट्रियता नागरिकको सामूहिक भावना, स्वाभिमान, अधिकार, जिम्मेवारी र राष्ट्रप्रतिको प्रतिबद्धतासँग जोडिएको व्यापक राजनीतिक अवधारणा हो । त्यसैले राष्ट्रियताको विषयलाई लोकतन्त्र, सामाजिक न्याय, आर्थिक समृद्धि र नागरिकको सम्मानसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, लोकतन्त्रलाई केवल निर्वाचन र सरकार निर्माणको प्रक्रियामा सीमित नगरी नागरिकको अधिकार, सहभागिता, जवाफदेहिता र राजनीतिक स्वतन्त्रताको सुनिश्चिततासँग जोड्नुपर्ने भुजेलको धारणा छ । कांग्रेसले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा अझ सुदृढ गर्दै जनताको विश्वासलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने उनले बताएका छन् ।

समाजवादको सवालमा पनि कांग्रेसले आफ्नो वैचारिक प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्ने भुजेलको भनाइ छ । आर्थिक असमानता घटाउने, अवसरमा समान पहुँच सुनिश्चित गर्ने, श्रमको सम्मान बढाउने तथा मुलुकको विकासमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्ने नीतिलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन् ।

कतारमा लामो समयदेखि नेपाली समुदायसँग सामाजिक तथा राजनीतिक रूपमा जोडिँदै आएका भुजेल प्रवासमा नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा सक्रिय रहँदै आएका छन् । उनी गण्डकी प्रदेश समन्वय परिषद् कतारका सल्लाहकार, प्रवासी भुजेल समाज कतारका प्रमुख सल्लाहकार, तनहुँ सेवा समाज कतारका सल्लाहकार, जनजाति महासंघ कतारका सचिवालय सदस्य तथा जनसम्पर्क समिति कतार गण्डकी प्रदेशका संयोजक हुन् । प्रवासमा रहेका नेपालीलाई पार्टीको राजनीतिक तथा संगठनात्मक गतिविधिसँग थप प्रभावकारी रूपमा जोड्नुपर्ने भुजेलको धारणा छ । विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्न सके मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनले बताएका छन् । प्रवासी नेपालीका समस्या, अधिकार र योगदानलाई राज्यको नीति निर्माणमा उचित स्थान दिनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

कांग्रेसको आगामी नेतृत्वले युवाको सहभागिता बढाउने, संगठनलाई समयअनुकूल बनाउने र कार्यकर्ताको योगदानलाई उचित सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने भुजेलको भनाइ छ । पार्टीभित्र अवसरको न्यायोचित वितरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र नेतृत्वप्रति जवाफदेहितालाई संस्थागत गर्न सके कांग्रेस थप बलियो बन्ने उनको विश्वास छ ।

‘गौरव’ले कांग्रेसको इतिहास र योगदानलाई, ‘गति’ले परिवर्तन र रूपान्तरणको आवश्यकतालाई तथा ‘गन्तव्य’ले समुन्नत नेपालको लक्ष्यलाई प्रतिनिधित्व गर्ने भुजेलको राजनीतिक सन्देश छ । यही आधारमा कांग्रेसले विगतको गौरवबाट ऊर्जा लिँदै वर्तमानको चुनौती सामना गरेर भविष्यको नेपाल निर्माणतर्फ अघि बढ्नुपर्ने उनको जोड छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको वैचारिक दिशा, संगठनात्मक चरित्र र जनतासँगको सम्बन्धलाई समेत नयाँ ढंगले परिभाषित गर्नुपर्ने भुजेलले बताएका छन् । परम्पराको सम्मान गर्दै परिवर्तनलाई आत्मसात् गर्ने, विचारमा स्पष्टता, संगठनमा गति र नेतृत्वमा जवाफदेहिता कायम गर्ने हो भने कांग्रेसले लोकतान्त्रिक राजनीतिमा आफ्नो नेतृत्वदायी भूमिका अझ बलियो बनाउन सक्ने उनको दाबी छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई व्यवहारमै स्थापित गर्दै कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ गति र स्पष्ट गन्तव्यसहित अघि बढाउने तथा समुन्नत नेपाल निर्माणलाई राजनीतिक यात्राको मूल उद्देश्य बनाउने प्रतिबद्धता भुजेलले व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार