आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३

संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो

आइतबार, असोज १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे।

‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए।

‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने।

थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।

‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।

सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताए। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो।

थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताए। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उनको धारणा थियो।

पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।

उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए। लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राखे।

‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।

१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उनको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उनले बताए।

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए।

‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको बताए। फेसबुकदेखि ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

‘अति राजनीति पनि छ। फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उनले भने।

राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थापाले बताए। त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई नै प्रभावित गरेको उनको भनाइ थियो।

‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।

थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए। राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो।

‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ थापाले भने।

भदौ २३ र २४ को घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत प्रभावित भएको उनले बताए। त्यसबाट पाठ सिक्दै कांग्रेसले आफूलाई सम्हाल्न विशेष महाधिवेशनमा गएको उनले स्मरण गरे।

‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ उनले भने।

विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको उनले बताए। कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जित व्यहोर्दै आएको उल्लेख गर्दै थापाले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए।

‘त्यसपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौँ,’ उनले भने।

थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए। जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार