काठमाडौं(जस)–अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको छ । असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन छन् । यस अवधिमा भएका ५१३ वटा मनसुनका घटनाबाट १,०६५ परिवार प्रभावित भएका छन् । यसैगरी, २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ भने २७ गोठ र ११४ पशुचौपायामा क्षति पुगेको छ ।
यस्तै, दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणाली लगायतका पूर्वाधारहरूमा पनि क्षति पुगेको छ । बाढी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो । तीमध्ये १२५ स्थानमा सरकारले अहोरात्र आफ्ना संयन्त्रहरू परिचालन गरी मर्मतपश्चात् सञ्चालनमा ल्याइसकेको छ । पृथ्वी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा गएको पहिरो पन्छाइएको छ भने एकतर्फी सडक सञ्चालनमा आइसकेको छ । यसैगरी नारायणी–मुग्लिन खण्डको सिमलताल नजिक भासिएको स्थानमा मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याइएको छ । बिपी राजमार्गको मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे, चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सन बगेका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । थप क्षति नभएमा मंगलबार साँझसम्म सञ्चालनमा आइसक्नेछ ।
कालिगण्डकी कोरिडोरमा पनि यातायात अवरुद्ध छ । बेनी–जोमसोम, पाल्पा, बागलुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिएको तथा पुलको एप्रोच बगेको छ । पहिरो पन्छाउने कार्य जारी छ भने सम्पूर्ण सडक सुचारु हुन ३ दिनभन्दा बढी समय लाग्ने प्रारम्भिक आकलन गरिएको छ । यस्तै, अवरुद्ध भालुवाङ–चकचके–लिवाङ सडकमा पनि पहिरो पन्छाएर यातायात सञ्चालन भइसकेका छन् । बेसिसहर–चामे सडकअन्तर्गत मनाङको नासों गाउँपालिका, खोत्रोलगायतका स्थानमा पहिरो हटाइ पूरै सडक सुचारु हुन ३ दिन लाग्ने देखिन्छ ।
त्रिभुवन राजपथमा पहिरो पन्छाएर सुरक्षा सतर्कता अपनाइ यातायात सञ्चालनमा ल्याइएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो खसेको भए पनि सडक खुलाउने काम तीव्र ढंगले भइरहेकाले मंगलबारसम्म यातायात सञ्चालन हुनेछ । त्यसैगरी, बाढीका कारण कालीगण्डकी कोरिडोर, मस्र्याङ्दी र सेती–मादी कोरिडोर लगायत गरी राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो । तीमध्ये सेती÷मादी कोरिडोरमा रहेका कुल २६२ मेगावाट र मस्र्याङ्गदी कोरिडोरमा १९० मेगावाटका जलविद्युत् केन्द्रहरु सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध १४४ मेगावाटको कालिगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । यसैगरी क्षतिग्रस्त राहुघाटको जलविद्युत् आयोजना पनि सञ्चालनमा ल्याउन करिब १० दिन लाग्नेछ । कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् प्रसारण हुन नसकेका ७ वटा जलविद्युत् केन्द्रहरूको १९० मेगावाट क्षमता रहेको छ ।
राहुघाट सवस्टेशनमा जोडिएका र बाढीका कारण अवरुद्ध भएका राहुघाट जलविद्युत केन्द्र (४० मेगावाट) बाहेक १२७ मेगावाटको उत्पादन सञ्चालनमा आउनसक्ने अवस्था छ । यसैगरी कालिगण्डकी कोरिडोरको २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डको टावर नं २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । यसैगरी क्षति पुगेको दूरसञ्चार सेवा पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । नेपाल टेलिकमका १,१३२ टावरको नेटवर्क विच्छेद भएकामा अहिले ७८२ वटालाई सञ्चालनमा ल्याइएको छ । यस्तै, एनसेलको १६२ वटा नेटवर्क विच्छेद भएकोमा १०५ वटालाई मर्मत गरिएको छ ।
नारायणी नदीमा आएको बाढीका कारण डुबानमा परेको सुस्ताबासीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका स्थानीयलाई स्थानान्तरण गरिएको छ । यसैगरी, सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि तिलाठी कोईलाडी गाउँपालिकामा डुबानमा परेका ५०० घरपरिवारलाई सुरक्षित स्थानमा प्रतिस्थापन गरिएको छ । सर्लाहीको लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती डुबानमा पारेको छ । यस्तै, रौतहटमा लालबकैया र बागमती नदीको तटीय क्षेत्रहरू प्रभावित भएका छन् । तिनाउ नदीको किनारमा रहेका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगर लगायतका डुबानमा परेका तटीय क्षेत्रका बस्तीहरुबाट सुरक्षाकर्मीले करिब २०० घरपरिवारका एक हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारेका थिए । बाढी र पहिरोका कारण मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ, म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लाहरू पनि प्रभावित भएका छन् । यहाँका प्रभावित नागरिकलाई सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले अझै मौसमजन्य खतरा नटरेको र जोखिम कायमै रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।