सोमबार, भाद्र २९ २०८३
कतार,भोटेकोशीको बाढीले मातृभूमिका नागरिकलाई पीडामा छाडेका बेला हजारौँ किलोमिटर टाढा कतारमा रहेका नेपालीको मन भने नेपालमै थियो । विपद्ले घर–परिवार र जीविकोपार्जन गुमाएका नागरिकको पीडामा मलहम लगाउन कतारस्थित नेपाली समुदायले हात बढायो । परिणामत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको पहलमा ५८ लाख १४ हजार ४३२ रुपैयाँ संकलन भएको छ । यो रकम एउटा संस्थाको सहयोग मात्र होइन, परदेशमा रहेका नेपालीको मातृभूमिप्रतिको दायित्व र संकटमा एकजुट हुने सामूहिक भावनाको बलियो अभिव्यक्ति हो ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए एनसिसी कतारले अध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी अभियान सञ्चालन गरेको थियो । समितिमा कतारमा स्थापित विभिन्न प्रदेशका अध्यक्ष तथा विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष र प्रतिनिधिलाई सदस्यका रूपमा समेटिएको थियो ।
अभियान सुरु भएपछि कतारस्थित नेपाली समुदायबाट उल्लेख्य सहभागिता जुट्यो । कतारमा रहेका विभिन्न समन्वय परिषद्, जिल्ला संस्था, सामुदायिक तथा सांस्कृतिक संस्था, सामाजिक संघसंस्था तथा व्यक्तिगत रूपमा नेपालीहरूले स्वेच्छिक आर्थिक सहयोग गरे । कसैले संस्थागत रूपमा, कसैले व्यक्तिगत रूपमा र कसैले आफ्नो क्षमताअनुसार योगदान गरे । तर सबै सहयोगको केन्द्रमा एउटै भावना थियो-विपद्मा परेका नेपालीलाई एक्लो नछाड्ने ।
छोटो अवधिमै संकलित ५८ लाखभन्दा बढी रकमले कतारस्थित नेपाली समुदायको एकता र सामाजिक उत्तरदायित्वलाई मात्र उजागर गरेको छैन, विपद्को समयमा प्रवासी नेपालीको आर्थिक तथा मानवीय योगदानको महत्वसमेत देखाएको छ । विदेशमा रहेर आफ्नो दैनिक जीवन र रोजगारीका चुनौतीबीच पनि मातृभूमिमा संकट पर्दा सहयोगका लागि अघि सर्नु प्रवासी नेपालीको निरन्तरको परम्परा बन्दै आएको छ ।
संकलित ५८ लाख १४ हजार ४३२ रुपैयाँ शनिवार आयोजित रकम हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का पूर्वअध्यक्ष आरके शर्मा, वर्तमान कार्यसमितिका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान, सचिव पदम गिरीलगायतका पदाधिकारीलाई हस्तान्तरण गरिएको हो ।
एनआरएनए एनसिसी कतारका अनुसार उक्त रकम एनआरएनए आइसिसीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । कतारमा संकलित रकमलाई संस्थागत माध्यमबाट नेपाल सरकारको सम्बन्धित राहत कोषमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको परिषद्ले जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरूले विपद्को समयमा कतारमा रहेका नेपालीहरू सदैव सहयोगका लागि अग्रपङ्क्तिमा रहने गरेको उल्लेख गर्दै एनआरएनए एनसिसी कतारले समयमै गरेको राहत संकलनको पहलको प्रशंसा गरेका थिए । उनीहरूले प्राकृतिक विपद्को कठिन घडीमा नेपाली समुदायबीचको एकता, सहकार्य र मानवीय सहयोग अझ महत्वपूर्ण हुने बताएका थिए ।
अध्यक्ष कृष्ण पन्थीले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था, दाता तथा अभियानलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमिका खेल्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले कतारस्थित नेपाली समुदायले विपद्को समयमा देखाएको सहयोगी भावना र एकतालाई प्रशंसनीय भन्दै आगामी दिनमा पनि यस्ता मानवीय अभियानमा निरन्तर सहकार्य आवश्यक रहेको बताए ।
अध्यक्ष पन्थीले नेपालमा परेको विपद्लाई केवल नेपालभित्रको समस्या भनेर नहेरी संसारभर रहेका नेपालीको साझा पीडाका रूपमा लिनुपर्ने बताएका छन् । उनले देश रोएको यो विपद्मा विश्वभर रहेका नेपालीलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै पीडितको घाउमा मलहम लगाउन आग्रह गरेका छन् ।
पन्थीका अनुसार विपद्को समयमा सहयोग रकमको आकारभन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुन्छ । अहिले भोटेकोशीका प्रभावित परिवारलाई तत्काल राहत आवश्यक छ भने भोलिका दिनमा उनीहरूको घर, जीविकोपार्जन र सामाजिक संरचना पुनःस्थापित गर्न थप स्रोत र सहकार्य आवश्यक पर्नेछ । त्यसैले राहत अभियानलाई तत्कालीन सहयोगमा मात्र सीमित नराखी दीर्घकालीन पुनःस्थापनासँग जोड्नुपर्ने उनको धारणा छ ।
उनले नेपाली समुदायलाई राजनीतिक, भौगोलिक, जातीय, क्षेत्रीय वा संस्थागत सीमाभन्दा माथि उठेर मानवीय भावनाका आधारमा एकजुट हुनसमेत आग्रह गरेका छन् । मातृभूमि संकटमा परेको बेला नेपाली जहाँ भए पनि पीडितको साथमा उभिनुपर्ने उनको भनाइ छ ।
यसैबीच एनआरएनए एनसिसी कतारले कतारबाट नेपालका बाढी तथा अन्य विपद् प्रभावितका लागि भएको समग्र सहयोगको अभिलेख तयार गर्ने भएको छ । परिषद्ले थप एक साताको समय राखेर कतारमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाले व्यक्तिगत वा संस्थागत रूपमा विभिन्न माध्यमबाट नेपाल पठाएको सहयोगको विवरण संकलन गर्ने जनाएको छ ।
कतारबाट हालसम्म बाढी तथा अन्य प्राकृतिक विपद्का लागि कति रकम सहयोग भएको छ भन्ने समग्र तथ्यांक तयार गरी व्यवस्थित अभिलेख राख्ने उद्देश्यले विवरण संकलन गर्न लागिएको परिषद्ले जनाएको छ । व्यक्तिगत तथा संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलगायत विभिन्न माध्यमबाट नेपाल पठाइएको सहयोगको विवरण एकीकृत गरिनेछ ।
यसले कतारस्थित नेपाली समुदायले विपद्का समयमा मातृभूमिका लागि गरेको वास्तविक योगदानको तथ्यांक तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अहिलेसम्म विभिन्न व्यक्ति, समूह र संस्थाले आ–आफ्नै पहलमा सहयोग गर्दै आए पनि ती सबै रकमको एकीकृत अभिलेख नहुँदा कतारबाट नेपालमा पुगेको कुल सहयोगको वास्तविक आकार स्पष्ट हुन सकेको छैन । त्यसैले परिषद्को यो पहललाई केवल अभिलेख राख्ने कामका रूपमा नभई प्रवासी नेपालीको योगदानलाई व्यवस्थित र पारदर्शी बनाउने प्रयासका रूपमा समेत हेरिएको छ ।
तर रकम संकलन गर्नु अभियानको अन्तिम लक्ष्य भने होइन । संकलित रकम पारदर्शी रूपमा सही ठाउँमा पुग्नु र वास्तविक पीडितको जीवनमा त्यसको प्रत्यक्ष प्रभाव देखिनु नै राहत अभियानको वास्तविक सफलता हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा भएपछि त्यसको प्रभावकारी परिचालन, प्राथमिकता निर्धारण र पीडितसम्म पहुँच सुनिश्चित गर्ने जिम्मेवारी सम्बन्धित निकायको हुनेछ ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि तत्काल खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनसँग सम्बन्धित आवश्यकता पूरा गर्नुपर्ने अवस्था छ । त्यसपछि क्षतिग्रस्त घर, सडक, पुल, विद्यालय, कृषि क्षेत्र तथा अन्य पूर्वाधारको पुनर्निर्माण गर्नुपर्ने चुनौती छ । यस्तो अवस्थामा सरकार, स्थानीय तह, सामाजिक संघसंस्था र प्रवासी नेपाली समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिन्छ ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले विपद्को कठिन घडीमा नेपाली समुदायले देखाएको एकता र सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
५८ लाख १४ हजार ४३२ रुपैयाँको यो सहयोगको अर्थ केवल एउटा राहत कोषमा थपिएको रकम होइन । यसले परदेशमा रहेका नेपालीको मन मातृभूमिसँगै रहेको प्रमाण दिएको एनआरएनए पुर्व अध्यक्ष आरके शर्माले बताए । भोटेकोशीमा बाढीको भेलले घर,आँगन बगाए पनि पीडित नेपालीका लागि कतार लगाएत बिश्वका नेपाली बाट उठेको सहयोगको भेलले आशा जगाएको शर्माले बताए । अब यो आशालाई परिणाममा बदल्ने जिम्मेवारी सम्बन्धित निकायको हो शर्माले बताए । मनका धनी पुर्व अध्यक्ष शर्माले यो भन्दा पहिले छुट्टै आफ्नो तर्फबाट प्रधानमन्त्री राहत कोषमा २५ लाख हस्तान्तरण गरिसकेका छन । योसङ्गै उनले विभिन्न संस्थामार्फत लाखौ राहत दिईसकेका छन ।
देश रोएको बेला नेपालीहरु संसारको जुनसुकै कुनामा भए पनि चुप लागेर नबसौँ, हातेमालो गरौँ र पीडितको घाउमा मलहम लगाऔँ शर्माले आग्रह गरे ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij