काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच नेपाली श्रमिकको रोजगारी, श्रमसम्बन्धी सहकार्य तथा द्विपक्षीय समझदारीको कार्यान्वयनलगायतका विषयमा छलफल भएको छ।
मन्त्री यादव र राजदूत अल शामसीबीच आज भएको द्विपक्षीय शिष्टाचार भेटवार्तामा विशेषगरी युएई जाने नेपाली श्रमिकले भोग्दै आएको प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी प्रक्रियालाई सहज र श्रमिकमैत्री बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिक युएई रोजगारीमा जाने क्रममा प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले श्रमिकलाई अनावश्यक झन्झट, समय र आर्थिक भार थपिएको भन्दै त्यसलाई सरल बनाउन आग्रह गर्नुभयो। श्रमिकले नेपालमै आवश्यक प्रक्रिया पूरा गरिसकेपछि पुनः अतिरिक्त प्रक्रिया पूरा गर्नुपर्ने अवस्था भए त्यसले वैदेशिक रोजगारीको लागत बढाउने र श्रमिकलाई अनावश्यक प्रशासनिक जटिलतामा पार्ने मन्त्री यादवको भनाइ थियो।
मन्त्री यादवले नेपाली श्रमिकलाई सहज, पारदर्शी र कम खर्चिलो ढंगबाट वैदेशिक रोजगारीमा जान सक्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै युएई सरकारसँग आवश्यक समन्वय गरी प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी प्रक्रियालाई व्यावहारिक र सरल बनाउन पहल गर्न आग्रह गर्नुभयो।
नेपालबाट ठूलो संख्यामा नेपाली श्रमिक युएईमा रोजगारीका लागि जाने गरेका छन्। युएई नेपाली श्रमिकका लागि महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा रहँदै आएको छ। त्यसैले त्यहाँ जाने श्रमिकले भोग्ने प्रशासनिक प्रक्रिया, कागजात प्रमाणीकरण, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति तथा अन्य प्रक्रियालाई सकेसम्म सहज बनाउनु आवश्यक रहेको श्रम मन्त्रालयको जोड छ।
मन्त्री यादवको आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिँदै राजदूत अल शामसीले प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी विषयमा युएई सरकारसँग निरन्तर छलफल तथा समन्वय भइरहेको जानकारी गराउनुभयो। उहाँले नेपाली श्रमिकको हितलाई ध्यानमा राख्दै समस्या समाधानका लागि आवश्यक पहल र समन्वयलाई निरन्तरता दिने आश्वासन दिनुभयो।
भेटवार्तामा नेपाल र युएईबीच विगतमा भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको थियो। श्रमसम्बन्धी सहमति र समझदारी कागजमा सीमित नरही त्यसको प्रत्यक्ष लाभ नेपाली श्रमिकले प्राप्त गर्ने गरी कार्यान्वयनमा लैजानुपर्नेमा दुवै पक्षबीच जोड दिइएको छ।
यसै क्रममा नेपाल र युएईबीच भएका श्रमसम्बन्धी समझदारी तथा सहमतिहरूको समीक्षा, समस्या पहिचान तथा समाधानका लागि संयुक्त कार्य समूह (Joint Working Group) को बैठक शीघ्र आयोजना गर्ने विषयमा समेत सहमति भएको छ।
संयुक्त कार्य समूहको बैठकमार्फत नेपाली श्रमिकको भर्ती प्रक्रिया, रोजगारीका क्रममा देखिएका समस्या, श्रमिकको अधिकार तथा सामाजिक सुरक्षा, कागजातसम्बन्धी जटिलता र द्विपक्षीय श्रमसम्बन्धी समझदारीको कार्यान्वयन अवस्थालगायतका विषयमा ठोस छलफल गर्ने अपेक्षा गरिएको छ।
श्रमिकको लागत घटाउने, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने तथा श्रमिकका अधिकार संरक्षण गर्ने विषयलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ। युएईसँगको श्रमसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाउँदै नेपाली श्रमिकले रोजगारीका क्रममा कमभन्दा कम प्रशासनिक तथा आर्थिक झन्झट व्यहोर्नुपर्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित मुलुकबीचको निरन्तर संवाद महत्वपूर्ण हुने देखिएको छ।
मन्त्री यादव र राजदूत अल शामसीबीचको भेटवार्तालाई नेपाल–युएई श्रम सम्बन्धलाई थप मजबुत बनाउने तथा नेपाली श्रमिकका व्यवहारिक समस्या समाधानतर्फ केन्द्रित महत्वपूर्ण पहलका रूपमा लिइएको छ। प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रियालाई सरल बनाउन युएई सरकारसँग भइरहेको समन्वयले आगामी दिनमा ठोस परिणाम दिने अपेक्षा गरिएको छ।