आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३

साउनमा एक खर्ब ८७ अर्बको आयात

शनिबार, भाद्र ६ २०८३

काठमाडौँ(जस)–चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो ।
गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्र्ने वस्तु तथा सामान भित्रिएको थियो । साउनमा रु ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ । गत आवको साउनमा भने रु २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको तथ्याङ्कले चालु आर्थिक वर्षको साउनमा निर्यातको वृद्धिदर आयातको भन्दा दोब्बर देखाएको छ । निर्यात बढेपनि कुल व्यापारको आकार हेर्दा नेपाल अझै पनि आयातमा निर्भर छ । साउनको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारको आकार फराकिलो हुँदै गएको देखाए पनि व्यापार घाटा र आयात निर्भरता नेपालको प्रमुख चुनौती हो । आयात बढ्नु मात्र नभई स्वदेशी उत्पादन बढाएर निर्यातको हिस्सा अझ विस्तार गर्नु पनि अर्को चुनौती हो । त्यसैले निर्यातको वृद्धिदरलाई निरन्तरता दिन सके मात्रै नेपालको व्यापार घाटा क्रमशः कम गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार