शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

शनिबार, भाद्र ६ २०८३

काठमाडौँ(जस)–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनलाई लक्षित आवश्यक तयारी थालेको छ । सोहीअनुसार रास्वपाले उम्मेदवार छनोट प्रक्रिया, संगठन विस्तार तथा कार्यकर्ता अभिमुखीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्नेदेखि देशभर संगठनात्मक गतिविधि अघि बढाउनेसम्मका निर्णय गरेको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।
उनकै संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय समेत भएको छ । साथै, केन्द्रीय उम्मेदवार छनोट समितिका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको तयारीकै क्रममा पार्टीले केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गर्ने भएको छ । उनीहरूले स्थानीय निर्वाचनका उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् । यसको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन् ।
रास्वपाले निर्वाचनसँगै संगठनलाई थप व्यवस्थित बनाउने निर्णय पनि गरेको छ । मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि पार्टी संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहनेछन् । बैठकले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न उक्त समिति गठन गरिएको हो ।
यसैगरी रास्वपाले पार्टीको सांगठनिक संरचनामा विभिन्न जिम्मेवारीसमेत तोकेको छ । सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोतम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ । पुरुषोतम सुप्रभात यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै, जगदीश खरेललाई प्रवक्ता तथा डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ ।
पार्टीले संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन, जनस्वास्थ्य, पूर्वाधार, अर्थ तथा प्रशिक्षण विभागमा समेत जिम्मेवारी तोकेको छ । संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ । रास्वपाले असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । पार्टीले संगठनात्मक गतिविधि विस्तारसँगै नीति, विचार र गतिविधिलाई डिजिटल माध्यमबाट अघि बढाउने तयारी गरेको हो ।
रास्वपाको ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ । ‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए । शनिबार ‘नेपालको चित्र, हामी कहाँ छौँ ?’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिएका छन् ।
महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिएका छन् । कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सङ्गठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा सङ्गठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडियाः कसरी प्रयोग गर्ने?’ मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार