शुक्रबार, भाद्र ५ २०८३
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा ज्ञान, सीप एवं प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा आयोजना हुन लागेको ‘चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७’ को तयारी तीव्र गतिमा अघि बढेको छ।
नेपाल सरकारको सहकार्यमा आयोजना हुन लागेको सम्मेलनले विश्वभर छरिएर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न पेशामा आबद्ध नेपालीहरूको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको विकाससँग जोड्ने महत्वाकांक्षी लक्ष्य लिएको छ।
सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई नेपालको विकास यात्रामा विश्वव्यापी नेपाली बौद्धिक शक्तिलाई जोड्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको डा. रेग्मीले बताएका छन्। उनका अनुसार यसपटकको सम्मेलन विगतका संस्करणभन्दा फरक, परिणाममुखी र कार्यान्वयनमा केन्द्रित हुनेछ।
सम्मेलनको तयारीका क्रममा डा. रेग्मी नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले, विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुन तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग छुट्टाछुट्टै भेट गरी सम्मेलनको अवधारणा र उद्देश्यबारे जानकारी गराएको छ।
भेटका क्रममा डा. रेग्मीले विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको राष्ट्रिय विकासमा प्रयोग गर्ने वातावरण निर्माण गर्न सम्मेलन महत्वपूर्ण माध्यम बन्ने बताएका थिए। उनले सम्बन्धित निकायका प्रमुख तथा मन्त्रीहरूलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिँदै नेपालको विकासका लागि विश्वभर रहेका नेपाली विज्ञको विशेषज्ञता उपयोग गर्न आग्रह गरेका थिए।
डा. रेग्मीले विदेशमा रहेका नेपाली विज्ञहरूको अवस्था, उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान, सीप तथा प्रविधिलाई नेपालमा प्रयोग गर्न सकिने सम्भावनाबारे समेत सम्बन्धित पक्षसँग छलफल गरेका थिए। उनले सम्मेलनमा विज्ञहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै उनीहरूको ज्ञान र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्न आग्रह गरेका थिए।
भेटवार्ताका क्रममा सम्बन्धित निकायहरूले सम्मेलनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारका प्राथमिकता, राष्ट्रिय योजना आयोगका योजना तथा विभिन्न मन्त्रालयका आवश्यकता पहिचान गरी विश्वभर रहेका नेपाली विज्ञहरूको विशेषज्ञता उपयोग गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।
डा. रेग्मीले सम्मेलनको उद्देश्यबारे स्पष्ट पार्दै विदेशमा आर्जित ज्ञान, अनुसन्धान, नवप्रवर्तन र उत्कृष्ट अभ्यासलाई नेपालको नीति, योजना र विकाससँग प्रत्यक्ष जोड्नु नै सम्मेलनको मुख्य लक्ष्य रहेको बताए । उनका अनुसार सम्मेलनमा हुने छलफल र प्रस्तुतिहरू कागजमा सीमित हुने छैनन्, बरु त्यसबाट प्राप्त निष्कर्षलाई कार्यान्वयनमा लैजाने स्पष्ट खाका तयार गरिनेछ।
“सरकारका प्राथमिकता, राष्ट्रिय योजना आयोगका योजना र मन्त्रालयहरूको आवश्यकतालाई केन्द्रमा राखेर विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान र अनुभवलाई नेपालको विकासमा प्रयोग गर्ने कार्ययोजना तयार गरिनेछ। सम्मेलनको सफलता भाषण र छलफलले होइन, त्यसबाट प्राप्त हुने परिणामले मापन गरिनेछ,” डा. रेग्मीले भने ।
उनका अनुसार विश्वका विभिन्न मुलुकमा उच्च जिम्मेवारीमा कार्यरत नेपाली विज्ञहरू नेपालको अमूल्य सम्पत्ति हुन्। उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान, प्रविधि र व्यवस्थापकीय अनुभवलाई संगठित रूपमा नेपालसँग जोड्न सकिए विकासको गति उल्लेखनीय रूपमा अघि बढ्न सक्छ।
डा. रेग्मीले लामो समयदेखि नेपालले भोग्दै आएको ‘ब्रेन ड्रेन’लाई अब ‘ब्रेन गेन’मा रूपान्तरण गर्ने उपयुक्त समय आएको बताए। विदेशमा रहेका नेपाली प्रतिभालाई केवल भावनात्मक रूपमा सम्झिने होइन, उनीहरूको ज्ञान र अनुभवलाई संस्थागत रूपमा राष्ट्रिय विकासमा उपयोग गर्ने संरचना निर्माण गर्नुपर्ने उनको धारणा छ।
उनले विगतमा सम्पन्न तीनवटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त सुझाव, अनुभव र निष्कर्षलाई यसपटक राष्ट्रिय योजना आयोग तथा सरकारका विकास योजनासँग एकीकृत गर्दै कार्यान्वयनमुखी कार्यक्रमका रूपमा अघि बढाइने बताए।
उनका अनुसार सम्मेलनमा सरकारका प्राथमिकतासँग प्रत्यक्ष सम्बन्धित विषयगत सत्र सञ्चालन गरिनेछ। ती सत्रमा विश्वभरका नेपाली विज्ञहरूले आफ्ना अनुसन्धान, अनुभव, प्रविधि तथा विभिन्न क्षेत्रमा देखिएका समस्याका व्यावहारिक समाधान प्रस्तुत गर्नेछन्। सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रसँग जोडेर अघि बढाउने तयारी गरिएको छ।
“विश्वभर छरिएर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञहरूको ज्ञान नेपालको विकासका लागि सबैभन्दा ठूलो सम्पत्ति हो। उनीहरूको अनुभवलाई देशको आवश्यकता अनुसार उपयोग गर्न सकियो भने विकासले नयाँ गति लिनेछ,” डा. रेग्मी भने।
उनका अनुसार सम्मेलनले सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र र विश्वभरका नेपाली विज्ञबीच दीर्घकालीन सहकार्यको बलियो आधार तयार गर्नेछ। यसले अनुसन्धान, प्रविधि हस्तान्तरण, नवप्रवर्तन, लगानी तथा सार्वजनिक नीतिमा अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रलाई पनि सम्मेलनले विशेष प्राथमिकतामा राखेको छ। आधुनिक कृषि, जलवायुमैत्री खेती, कृषि अनुसन्धान, ज्ञान तथा प्रविधि हस्तान्तरण, निजी लगानी प्रवर्द्धन र कृषि नवप्रवर्तनका विषयमा विश्वभर रहेका नेपाली कृषि विज्ञहरूलाई एउटै मञ्चमा ल्याइने तयारी गरिएको छ। यसबाट नेपालको कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी विज्ञान तथा प्रविधि, स्वास्थ्य, शिक्षा, ऊर्जा, सूचना प्रविधि, पूर्वाधार, उद्योग, उद्यमशीलता, वातावरण, पर्यटन तथा सार्वजनिक नीतिलगायतका क्षेत्रमा विश्वभर रहेका नेपाली विज्ञहरूको विशेषज्ञता उपयोग गर्ने विषयमा पनि सम्मेलनले जोड दिनेछ। नेपालका विद्यमान चुनौती पहिचान गरी विदेशमा रहेका नेपाली विज्ञबाट त्यसको व्यावहारिक समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको आयोजक पक्षले जनाएको छ।
एनआरएनएले सन् २०१८, २०२० र २०२३ मा सफलतापूर्वक विश्व नेपाली ज्ञान सम्मेलन आयोजना गरिसकेको छ। चौथो संस्करणलाई भने केवल सम्मेलनमा सीमित नराखी ‘नेटवर्किङ फर डेभलपमेन्ट’ बाट ‘सोलुसन्स फर डेभलपमेन्ट’ को अवधारणामा अघि बढाउँदै प्रत्यक्ष परिणाम दिने अभियानका रूपमा विकास गर्न खोजिएको छ।
यसपटक सम्मेलनअघि नै सरकार तथा सम्बन्धित निकायका प्राथमिकता र आवश्यकताहरू पहिचान गरी त्यसअनुसार विषयगत छलफल सञ्चालन गर्ने तयारी गरिएको छ। यसले सम्मेलनमा सहभागी विज्ञलाई नेपालका वास्तविक आवश्यकता र समस्याबारे केन्द्रित भएर आफ्नो ज्ञान, सीप तथा अनुभव प्रस्तुत गर्न सहज हुने अपेक्षा गरिएको छ।
डा. रेग्मीका अनुसार सम्मेलनको सबैभन्दा ठूलो उपलब्धि विश्वभरका नेपाली विज्ञहरूको ज्ञानलाई नेपालका नीति निर्माता, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग एउटै साझा मञ्चमा जोड्नु हुनेछ। यसबाट ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनलाई संस्थागत रूपमा नेपालको विकासमा उपयोग गर्ने नयाँ ढोका खुल्नेछ।
उनले विदेशमा रहेका नेपाली विज्ञलाई नेपाल फर्केर काम गर्न मात्र आग्रह गर्नेभन्दा उनीहरू जहाँ रहे पनि नेपालको विकासमा योगदान गर्न सक्ने संरचना निर्माण गर्न आवश्यक रहेको बताए । डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यको माध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका नेपाली विज्ञलाई नेपालका संस्थासँग जोड्न सकिने उनको भनाइ छ।
यस अर्थमा विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ केवल एनआरएनएको कार्यक्रम मात्र नभई विश्वभर फैलिएको नेपाली बौद्धिक शक्तिलाई नेपालको समृद्धिसँग जोड्ने विकासको सेतु बन्ने विश्वास गरिएको छ। सम्मेलनबाट प्राप्त सुझाव, अनुसन्धान र कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए नेपालको विकास, सुशासन, नवप्रवर्तन, अनुसन्धान र ज्ञानमा आधारित अर्थतन्त्र निर्माणतर्फ यो महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासको मूलधारमा जोड्ने उद्देश्यसहित अघि बढाइएको सम्मेलनले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई भावनात्मक सम्बन्धबाट व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको तयारी तीव्र हुँदै जाँदा सरकार, निजी क्षेत्र, विश्वविद्यालय, अनुसन्धान संस्था र विश्वभरका नेपाली विज्ञहरूको सहभागिता तथा सहकार्यलाई थप व्यापक बनाउने प्रयास भइरहेको छ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij