शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३

प्रकाशकीय : जनसवालका दुई दशक, संघर्ष विश्वास र प्रतिबद्धताको यात्रा

शुक्रबार, भाद्र ५ २०८३

जनसवाल राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राको गौरवपूर्ण दुई दशक पूरा गरेको छ । भदौ ५ गते हाम्रा लागि केवल एउटा संस्थाले दुई दशक पूरा गरेको उत्सव मात्र होइन, यो दुई दशक लामो संघर्ष, साधना, निरन्तरता, पाठकको विश्वास र पत्रकारिताप्रतिको अटल प्रतिबद्धतालाई स्मरण गर्ने ऐतिहासिक अवसर हो । दुई दशकअघि सीमित साधन र स्रोतका बीच एउटा सानो सपनाबाट सुरु भएको यात्रा आज हजारौँ–लाखौँ पाठकको विश्वाससँग जोडिएको छ । अनेकौँ चुनौती र अनिश्चितताबीच सुरु भएको त्यो प्रयासले समयका अनेक परीक्षा पार गर्दै संस्थागत पहिचान बनाउन सफल भएको क्षण हाम्रा लागि भावुक र गौरवपूर्ण छ ।
‘जनसवाल’को यो यात्रा कुनै एक व्यक्ति वा संस्थाको मात्र यात्रा होइन । यो पाठक, पत्रकार तथा सञ्चारकर्मी, लेखक तथा स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी तथा उद्योगी, गैरआवासीय नेपाली र सम्पूर्ण शुभेच्छुकको साझा यात्रा हो । त्यसैले दुई दशक पूरा भएको यस ऐतिहासिक अवसरको सम्पूर्ण श्रेय हाम्रा सबै सहयात्रीलाई दिन चाहन्छौँ । यी दुई दशकमा नेपालले अनेकौँ राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनको सामना गरेको छ । राजनीतिक संक्रमणदेखि संविधान निर्माणसम्म, व्यवस्था परिवर्तनदेखि सामाजिक रूपान्तरणसम्म, आर्थिक संकटदेखि समृद्धिको आकांक्षासम्म, प्राकृतिक विपत्तिदेखि प्रविधिको तीव्र विस्तारसम्मका उतार–चढाव हामीले देखेका छौँ । देशका सुख–दुःख, आशा–निराशा, उपलब्धि–चुनौती र सम्भावना–संकटका हरेक मोडसँगै ‘जनसवाल’को यात्रा पनि अघि बढेको छ ।
हामी ती परिवर्तनका केवल साक्षी बनेनौँ । देश–विदेशमा भइरहेका महत्वपूर्ण घटनाक्रमले आमनागरिकको जीवनमा पारेको प्रभावलाई प्राथमिकताका साथ उठाउने प्रयास ग¥यौँ । जनताको आवाज सम्बन्धित निकायसम्म पु¥याउने, आवाजविहीनहरूको आवाज बन्ने, गलत प्रवृत्तिमाथि प्रश्न उठाउने र जनसरोकारका विषयलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने हाम्रो प्रयत्न निरन्तर रह्यो । आज हाम्रो जिम्मेवारी अझ फराकिलो भएको छ । विश्वका विभिन्न मुलुकमा करिब ८० लाख नेपाली आफ्नो श्रम, सीप, ज्ञान, क्षमता र उद्यममार्फत जीवन निर्माण गरिरहेका छन् । उनीहरूको पसिना र श्रमबाट प्राप्त विप्रेषणले परिवारसँगै मुलुकको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । उनीहरूको सीप, ज्ञान, अनुभव, लगानी र सम्भावना नेपालको भविष्यसँग जोडिएको छ । त्यसैले प्रवासमा रहेका नेपालीको आवाज बन्नु ‘जनसवाल’को महत्वपूर्ण उद्देश्य हो । विदेशमा रहेका नेपालीका समस्या, संघर्ष, उपलब्धि, अधिकार, श्रम, सामाजिक सुरक्षा, व्यवसाय, लगानी, सीप, अवसर र मातृभूमिप्रतिको योगदानलाई राष्ट्रिय बहससँग जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ । नेपालमा रहेका नेपाली र प्रवासमा रहेका नेपालीबीचको दूरी केवल भूगोलको रहोस्, भावना र सरोकारको होइन । यही उद्देश्यका साथ ‘जनसवाल’ नेपाल र विश्वभर छरिएका नेपालीबीचको विश्वसनीय सञ्चार सेतु बन्ने दिशामा अघि बढिरहेको छ ।
समय, प्रविधि, सञ्चारका माध्यम र पाठकका रुचि परिवर्तन भएका छन् । छापा पत्रकारितासँगै डिजिटल पत्रकारिताले सञ्चारको स्वरूप तीव्र गतिमा बदलिरहेको छ । तर यी परिवर्तनका बीच ‘जनसवाल’को मूल मूल्य र उद्देश्य परिवर्तन भएको छैन । सत्य, तथ्य, निष्पक्षता, उत्तरदायित्व र जनहित हाम्रो पत्रकारिताका आधारस्तम्भ हुन् । पत्रकारिता केवल समाचार प्रकाशन गर्ने माध्यम होइन; यो समाजप्रतिको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व, लोकतन्त्रप्रतिको पहरेदारी र सत्यको पक्षमा उभिने साहस हो भन्ने हाम्रो विश्वास छ । हाम्रो यात्रामा आर्थिक तथा व्यावसायिक कठिनाइ, प्रविधिको तीव्र परिवर्तन, बढ्दो प्रतिस्पर्धा, विज्ञापन बजारका उतार–चढाव र बदलिँदो पाठकीय व्यवहारजस्ता चुनौती कम थिएनन् । तर प्रत्येक चुनौतीले हामीलाई अझ जिम्मेवार, परिपक्व र दृढ बनाउँदै लग्यो । यस यात्राको सबैभन्दा ठूलो शक्ति पाठक र विज्ञापनदाताको विश्वास रह्यो । पाठकका सुझाव, आलोचना, प्रश्न र अपेक्षाले हामीलाई निरन्तर सिकाएका छन् र सुधारका लागि प्रेरित गरेका छन् ।
दुई दशक पूरा हुनु यात्राको अन्त्य होइन, जिम्मेवारी अझ बढेको संकेत हो । आगामी दिनमा ‘जनसवाल’ले खोजमूलक पत्रकारितालाई सशक्त बनाउँदै तथ्यमा आधारित समाचार र विश्लेषणलाई प्राथमिकता दिनेछ । आवाजविहीनहरूको आवाज बन्नेछ र विश्वभर छरिएका नेपालीका समस्या, सम्भावना तथा उपलब्धिलाई नेपालको राष्ट्रिय विमर्शसँग जोड्नेछ । छापा माध्यमसँगै डिजिटल उपस्थितिलाई अझ बलियो बनाउँदै समयको मागअनुसार पाठकमैत्री, विश्वसनीय, तथ्यपरक र प्रभावकारी सामग्री प्रस्तुत गर्नेछौँ । माध्यम र प्रविधि बदलिन सक्छन्, तर सत्य र जनहितप्रतिको हाम्रो प्रतिबद्धता बदलिने छैन । लोकतन्त्र, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, राष्ट्रिय एकता र राष्ट्रिय हितका सवालमा हाम्रो कलम अझ निर्भीक, जिम्मेवार र प्रभावकारी बनाउने संकल्प गर्दछौँ । सत्ता र शक्तिको प्रशंसा गर्नु पत्रकारिताको धर्म होइन; आवश्यक पर्दा प्रश्न गर्नु, खबरदारी गर्नु र जनताको पक्षमा सत्य बोल्नु नै पत्रकारिताको मूल दायित्व हो भन्ने मान्यताबाट हामी विचलित हुने छैनौँ ।
विगतका उपलब्धिलाई सम्मानपूर्वक स्मरण गर्दै कमजोरीबाट सिक्नेछौँ र आलोचनालाई सुधारको अवसरका रूपमा ग्रहण गर्नेछौँ । पाठकको विश्वासलाई आफ्नो मार्गदर्शन मान्दै समयसँगै आफूलाई निरन्तर परिष्कृत गर्नेछौँ । यस ऐतिहासिक अवसरमा ‘जनसवाल’को यात्रामा प्रत्यक्ष वा परोक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, पत्रकार, सञ्चारकर्मी, लेखक, स्तम्भकार, कर्मचारी, व्यवसायी, उद्योगी, गैरआवासीय नेपाली, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ । तपाईंहरूले दिनुभएको विश्वास हाम्रो सबैभन्दा ठूलो पूँजी हो । त्यसको सम्मान गर्ने हाम्रो एउटै बाटो छ–अझ राम्रो, अझ जिम्मेवार र अझ निर्भीक पत्रकारिता । आगामी दिनमा पनि हामी नेपालको पक्षमा, जनताको पक्षमा, सत्यको पक्षमा र विश्वभर छरिएका नेपालीको आवाजको पक्षमा निरन्तर उभिइरहनेछौँ । दुई दशकको गौरवपूर्ण यात्रामा साथ, सहयोग, विश्वास र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण सहयात्रीप्रति हार्दिक नमन । धन्यवाद ।

रामजी बगाले
अध्यक्ष/सम्पादक
जनसवाल राष्ट्रिय दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार