काठमाडौं(जस)–शिवम् सिमेन्ट्स लिमिटेडले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७९ करोड ८१ लाख रूपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७८ करोड ४४ लाख रूपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १.७२ प्रतिशतको गिरावट हो ।
समीक्षा अवधिमा सिमेन्टको बजार मागमा आएको उतारचढावका कारण कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशत र कुल नाफा ७.८४ प्रतिशतले घटेको छ । कम्पनीको वित्तीय खर्च १९.४४ प्रतिशतले बढेको भए पनि कुल खर्च १३.२५ प्रतिशतले घटाउन सफल भएको छ । नाफामा आएको संकुचनसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ६० पैसाले घटेर १४ रूपैयाँ ३ पैसामा झरेको छ ।
हाल ५ अर्ब ५९ करोड ३२ लाख रूपैयाँ चुक्तापुँजी रहेको शिवम् सिमेन्ट्सको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रूपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रूपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ४४.२७ गुणा कायम भएको छ ।