निश्चल दाहाल
‘नाइ मलाई त्यही केटी चाहिन्छ’ भनेर रुदै चर्चामा आएका गायक डा. प्रकाश पौडेलको अब ‘बुढा बुढी कति मिलेका छन्’ भनेर बुझ्ने अर्को रमाइलो गीत आउँदैछ। डा. पौडेलले यस साता ‘बुढा बुढी’ शीर्षकको नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरेका हुन्।
आधुनिक जमातका ट्रेन्डी टिकटकका प्रयोगकर्तालाई लक्षित गर्दै तयार पारिएको यो गीत पूर्ण रूपमा मनोरञ्जनात्मक र हास्यप्रधान जनराको रहेको गायक डा. पौडेल बताउँछन्। पछिल्लो समय उनले आफुलाइ लोकप्रिय ज्योतिषको परिचय समेत बनाएका छन भने लामो समयपछि संगीत क्षेत्रमा पुनरागमन गर्न लागेको हुन।
‘युएइमा रहेर वित्तीय क्षेत्रमा जागिर र त्यसपछि ज्योतिष विद्याको अध्ययन र अभ्यासका कारण संगीतलाई समय दिन पाएको थिइनँ,’ डा. पौडेल भन्छन्, ‘अब भने फेरि संगीतलाई साथमा लिदै बढ्ने सोचेको छु, र यो गीतपछि निरन्तरता दिने योजना बनाएको छु।’
‘थ्रि मच’ एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका डा. पौडेलले हालसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। उनका चर्चित गीतहरूमा ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’, ‘कसैलाई नभन्नु ल’, ‘कानेखुसी’, ‘डक्टर साब भिटामिन लेख्दिनु’, ‘घाँस काट्ने खुर्केर’, ‘सलाम वालेकुम’, ‘भुडेंभुडी’, ‘भोली छुट्टी’ लगायतका गीत समावेश छन्।
‘गत शुक्रबार मेरो संगीत यात्राको २५ वर्ष पूरा भयो,’ उनले भने, ‘त्यसको अवसरमा मैले श्रोतामाझ एउटा विशेष सांगीतिक कोसेली ल्याउने निर्णय गरेको हुँ।’
‘बुढा बुढी मिलेको कमिलाले चिलेको’ बोलको म्युजिक भिडियोलाई वरिष्ठ सञ्चारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन्। भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथै स्वयं गायक डा. प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल र सुधिर सापकोटाले पनि अभिनय गरेका छन्।
गीतको शब्द र स्वर गायक डा. पौडेलकै रहेको छ भने संगीत दीपराज नेयोङहाङले तयार पारेका हुन्। एरेन्जर सुरज श्रेष्ठ र छायाकार उत्सव दाहालले भिडियोमा प्राविधिक साथ दिएका छन्, जबकि सम्पादन विकास दाहालले गरेका छन्।
यो म्युजिक भिडियो आगामी शुक्रबार ओएसआर म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिने बताइएको छ।