शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

गायिका शान्ति भण्डारीको नेतृत्वमा इनास मेरिल्यान्डको ऐतिहासिक सफलता

‘दोस्रो किड्स ट्यालेन्ट शो–२०२६’ भव्य रुपमा सम्पन्न, नेपाली भाषा र संस्कृतिको संरक्षणमा ‘इनास कला केन्द्र’ स्थापना गर्ने घोषणा

शनिबार, जेष्ठ २३ २०८३

उर्मिला खत्री-बाल्टिमोर, अमेरिका -प्रवासमा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित ‘दोस्रो किड्स ट्यालेन्ट शो–२०२६’ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण अभियानलाई थप सशक्त बनाएको छ।
कार्यक्रमको सफलतामा इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीको नेतृत्वदायी भूमिका विशेष रूपमा प्रशंसित भएको छ। कार्यक्रमको समग्र व्यवस्थापन, समन्वय, अतिथि सत्कार तथा आयोजकीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै उहाँले कार्यक्रमलाई सफलताको नयाँ उचाइमा पुर्‍याउनुभएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आर्यन प्रमुख अतिथिका रूपमा सपरिवार सहभागी हुनुभएको थियो भने मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी तथा अमेरिकी सेनाका ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा इनास मेरिल्यान्डले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शान्ति भण्डारीले प्रवासमा जन्मिएका र हुर्किएका नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्नु आजको सबैभन्दा ठूलो आवश्यकता भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी जहाँ बसे पनि हाम्रो पहिचान नेपाली नै हो। नयाँ पुस्ताले नेपाली भाषा बोल्न, नेपाली संस्कृतिलाई बुझ्न र आफ्नो मौलिकताप्रति गर्व गर्न सकून् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं। बालबालिकाहरूको उत्साह, अभिभावकहरूको साथ र समुदायको माया देखेर हामी थप उत्साहित भएका छौं। अब यो अभियानलाई अझ व्यवस्थित र दीर्घकालीन बनाउन इनास कला केन्द्र स्थापना गर्ने निर्णय गरेका छौं।”
उहाँले नेपाली भाषा र संस्कृतिको संरक्षण केवल एउटा संस्थाको जिम्मेवारी नभई सम्पूर्ण नेपाली समुदायको साझा दायित्व भएको उल्लेख गर्दै भावी पुस्ताका लागि नेपालीपनको विरासत जोगाइराख्न सबैलाई एकजुट हुन आग्रह गर्नुभयो।
कार्यक्रम संयोजक सुशील पंगेनी तथा सह–सञ्चालक अमृता नेपालको आकर्षक प्रस्तुति, बालबालिकासँग नेपाली भाषामा गरिएको आत्मीय संवाद तथा उत्कृष्ट व्यवस्थापनले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
प्रतियोगितामा गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान तथा भगवान भण्डारी, नृत्यतर्फ वरिष्ठ कलाकार उषा पौडेल, पूजा चन्द र सारंगा श्रेष्ठ, तथा नेपाली भाषा वक्तृत्वकलातर्फ डा. रानी साक्य, कवि सुनिता बस्नेत र कवि नीर थापा निर्णायक मण्डलमा रहनुभएको थियो।
प्रतिस्पर्धामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल च्याम्पियन बन्न सफल भए। त्यसैगरी निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्स्ली मगर, समृद्धि पाथदेउती, संगीत पहारी तथा मिरन लिम्बु टप–१० फाइनलिस्टका रूपमा छनोट भएका थिए।
कार्यक्रमका प्रमुख प्रायोजक तथा संस्थापक सल्लाहकार अमर छन्त्याल र सह–प्रायोजक इन्द्र थापाको विशेष सहयोग रहेको थियो भने संस्थाका निवर्तमान अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल कार्यक्रम व्यवस्थापनमा सक्रिय रूपमा खटिनुभएको थियो।
यसै अवसरमा मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारीद्वारा अध्यक्ष शान्ति भण्डारी तथा कार्यक्रम संयोजक सुशील पंगेनीलाई नेपाली भाषा, कला, संस्कृति तथा समुदायप्रति पुर्‍याएको योगदानको कदरस्वरूप Maryland General Assembly को सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकालाई नेपाली झण्डासहितको खादा, मायाको चिनो, प्रमाणपत्र तथा जनही ५० अमेरिकी डलर प्रदान गरिएको थियो। टप–१० फाइनलिस्टलाई १०० अमेरिकी डलर तथा प्रत्येक विधाका विजेतालाई ५०० अमेरिकी डलर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमकै विशेष अवसरमा अध्यक्ष शान्ति भण्डारी, कार्यक्रम संयोजक सुशील पंगेनी तथा निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले संयुक्त रूपमा ‘इनास कला केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन्। उक्त केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा कक्षा तथा जुम्बा कक्षा सञ्चालन गरिनेछ।
अध्यक्ष भण्डारीका अनुसार कला केन्द्रले प्रवासमा रहेका नेपाली मूलका बालबालिकाको प्रतिभा विकाससँगै नेपाली भाषा र संस्कृतिको संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउनेछ।
कार्यक्रममा इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, सह–संयोजक दिनेश कार्की, इनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, कोषाध्यक्ष मनीष शर्मा, इनास भर्जिनिया अध्यक्ष विश्व पौडेल, सल्लाहकार राजु केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा नेपालीपनको भावना जागृत गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम नेपाली समुदायका लागि प्रेरणादायी र ऐतिहासिक बनेको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया
सम्बन्धित समाचार