शुक्रबार, साउन २२ २०८३

शुक्रबार, साउन २२ २०८३

टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा, ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात

शनिबार, चैत्र १७ २०८०

काठमाडौं(जस)–गैरआवासीय नेपाली (एनआरएनए)ले खरीद गरेको टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा आएको छ । रूपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा लामोसमय बन्द रहेको क्यासिनो शुक्रबारदेखि सञ्चालनमा आएपछि होटल पूर्ण सञ्चालनमा आएको हो । अमेरिकामा रहेका एनआरएनएले खरिद गरेको यो रिसोर्टमा शुक्रबार साँझ पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरिएको छ ।
यसअघि दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्ने गरी नयाँ व्यवस्थापनले क्यासिनोसँगै रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएको लगानीकर्ताले जानकारी दिएका छन् । क्यासिनोको सुरुवातमा एक दजर्नभन्दा बढी भारतीय कलाकारले प्रस्तुति दिएका थिए । रिसोर्टमा आयोजित क्यासिनोको ‘सफ्ट ओपेनिङ’ कार्यक्रममा स्वदेशी र विदेशी गरेर ५ सयभन्दा बढीको सहभागिता थियो ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टमा गैरआवासीय नेपालीको लगानी

एनआराएनएका महासचिवसमेत रहेका टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले डुब्न लागेको रिसोर्ट किनेर चलाउन थालेको बताए । ‘यति लगानी हामीले उतै गरेको भए तत्काल मुनाफा हुनेथियो तर देशमै केही लगानीको वातावरण बनाउन रिक्स लिएका हौ, यसमा देखिएका चुनौती स्वीकार गर्ने कोही भएन, खरिदको प्रयास गरेर छाड्ने धेरै भए । तुरुन्त रेस्क्यु नगरे सम्पत्ति खेर जाने अवस्थामा थियो’ उनले भने । आफ्नो कम्पनीले खरिद गरेपछि रिसोर्टका ९० प्रतिशत समस्या समाधान भइसकेको उनले बताए । विकसित देशमा हस्पिटालिटीमा सफल प्रयोगलाई यहाँ प्रयोग गर्ने लगानीकर्ताको भनाइ रहेको छ ।

जिल्लामा पहिलोपटक वैदेशिक लगानीमा सात वर्षअघि पाँचतारे रिसोर्ट सञ्चालनमा आउँदा यहाँका लगानीकर्ता र पर्यटन व्यवसायी उत्साहित भएपनि विभिन्न विवादका कारणले रोकिएको थियो । अस्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज ग्रुपले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको थियो । व्यापारिक सफलतासँगै लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले पूर्वको झापा र सुदूरपश्चिममा नयाँ रिसोर्ट सञ्चालनको तयारी गरेको थियो ।
‘त्यहिबेला रिसोर्टको जग्गा र आन्तरिक विवाद बढ्यो,मुलुकको राजनीतिक अस्थिरता, मजदुर संघर्ष र लगानीकर्ताबीच बेमेलले समस्या सिर्जना भयो ।’ एक व्यवसायीले भने । आन्तरिक मतभेद बढिरहेका बेला मुलुकमा कोरोना महामारी र लगानीकर्ताबीचको विवादपछि होटल र क्यासिनो बन्द भएको थियो । समस्याग्रस्त भएर थेग्न नसक्ने अवस्थापछि लगानीकर्ता कम्पनीले रिसोर्ट बिक्री गर्न खोजेपनि रोकिएको थियो । एक वर्षसम्म धेरै व्यक्ति र कम्पनीले प्रयास गरे पनि रिसोर्टको जग्गा विवाद र मजदुर समस्याका कारण खरिदबिक्री सम्झौता हुन सकेको थिएन ।

खिचातानीको बीचमा अमेरिकाको डेलावेयरमा दर्ता रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सिल्भर हेरिटेज कम्पनी खरिद गर्ने निर्णय ग¥यो । खरिदबिक्री सम्झौतासँगै सिल्भर हेरिटेजका नाममा रूपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्ट र क्यासिनो, झापास्थित १२ बिघा जमिन, काठमाडौंको सांग्रिला होटलमा सञ्चालनमा रहेको मिलेनियर क्लब क्यासिनो हिमालय टाइगर इन्भेस्टमेन्ट इंकको स्वामित्वमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार