आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने, विश्वासको मत दिन माओवादी केन्द्रको अपिल

शुक्रबार, बैशाख ३ २०७८

mahendra_shahi_

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्‍वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

कर्णाली प्रदेशसभामा ठूलो दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो । एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

माओवादी केन्द्रका नेता शाही संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सो समयसीमा आजै सकिँदैछ ।

माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएपछि प्रदेशसभाको कूल सङ्ख्या ३९ मा झरेको छ । हाल प्रदेशसभामा एमालेका सभामुखसहित २०, माओवादीका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक सदस्य छन् । प्रदेशसभामा आफ्नो एकल बहुमत रहेको दाबी गर्दै एमालेले सरकार गठनको गृहकार्य थालेको छ ।

कर्णाली सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको अपिल
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिन अपिल गरेको छ।

माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले प्रदेश संसदको सातौं अधिवेशन सञ्चालन अघि बिहीबार सार्वजनिक अपिल गर्दै विश्वासको मत दिन आग्रह गरेको हो ।

माओवादी केन्द्रले भनेको छ, ‘समग्र राजनीतिक परिवर्तन र यसबाट जनताले गरेको अपेक्षा अनुसार विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा हाम्रो दल पुगेको छ । तसर्थ कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यहरूमा अपिल गर्दछु ।’

गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाहीले भने संसदबाट विश्वासको मत लिनेगरी बुधबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । एमालेले समर्थन फिर्ता लिएको शुक्रबार ३० दिन पुग्न लागेकाले अन्तिम दिन मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रले एक सासंदलाई कारवाही गरेकाले रिक्त हुदा हाल ३९ सांसद रहेका छन् । सरकारले बहुमत साबित गर्न २० सांसदको बहुमत आवश्यक पर्छ । नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना सांसद छन् । त्यस्तै कर्णालीमा काँग्रेसका ६ र राप्रपाका एकजना सांसद रहेका छन् । काँग्रेस र राप्रपाले शाहीलाई समर्थन गरेपनि सरकारसँग बहुमत पुग्ने देखिदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार