आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग

आइतबार, भाद्र २८ २०८३

काठमाडौं(जस)–रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ सहयोग गरेको छ । शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो । बाढीपहिरो प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै शाओमी नेपालले मानवीय सहयोगस्वरूप उक्त रकम प्रदान गरेको जनाएको छ । सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणका क्रममा विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी प्रयासमा आफ्नोतर्फबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
शाओमी नेपालले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै यस सहयोगबाट राहत तथा उद्धारका कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । ‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित नेपाली समुदायको सुख–दुःखमा साथ दिँदै आएको शाओमी नेपालले आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार