क्यान्सर संस्थानदेखि १०० फार्मेसी शाखासम्म
काठमाडौं(जस)–नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले व्यवसाय विस्तार र स्वास्थ्य सेवा विविधीकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि विभिन्न महत्वाकांक्षी योजना अघि सारेको छ । नर्भिकको छैटौं वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३र८४ का लागि अस्पतालको व्यवसाय विस्तार तथा सेवा विविधीकरणसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए ।
सभाले आगामी वर्ष अस्पतालको पूर्वाधार विस्तारसँगै नयाँ स्वास्थ्य सेवा तथा व्यावसायिक गतिविधिलाई प्राथमिकतामा राख्ने योजना अघि सारेको हो । साधारणसभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्तावसमेत पारित भएको छ । यसका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्ने लगायतका आवश्यक काम कारबाहीको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय भएको छ । सभाले २२ ।१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
नयाँ भवनबाट सेवा विस्तार
नर्भिकले निर्माणाधीन अस्पताल भवनको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । अस्पताल पूर्वाधार विस्तारसँगै स्वास्थ्य सेवाको क्षमता र दायरा बढाउने योजना अघि सारिएको हो ।
दुई वर्षमा १०० फार्मेसी शाखा
औषधि व्यवसाय विस्तारलाई समेत नर्भिकले प्राथमिकतामा राखेको छ । हाल काठमाडौं उपत्यकामा १५ वटा शाखा सञ्चालनमा रहेको नर्भिक फार्मेसीले चालु आर्थिक वर्षमा उपत्यकाभित्र थप १८ तथा उपत्यकाबाहिर १५ शाखा विस्तार गर्ने योजना बनाएको छ । त्यस्तै, फ्रान्चाइज मोडलमार्फत थप ६ शाखा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यससँगै फार्मेसीका कुल शाखा संख्या ५४ पु¥याउने योजना नर्भिकको छ । नर्भिकले आगामी दुई वर्षभित्र फार्मेसीका शाखा संख्या १०० पु¥याउने दीर्घकालीन लक्ष्यसमेत लिएको छ ।
३ अर्ब लगानीमा क्यान्सर संस्थान
नर्भिकले एकीकृत तथा अत्याधुनिक क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले छुट्टै क्यान्सर संस्थान स्थापना गर्ने योजना अघि सारेको छ । यसका लागि कम्पनी स्थापना भइसकेको जनाइएको छ । चालु आर्थिक वर्षमा परियोजनालाई कार्यान्वयनतर्फ अघि बढाउने तयारी गरिएको छ । परियोजनाको नेतृत्व सल्लाहकारका रूपमा नर्भिकका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले गर्ने जनाइएको छ । नर्भिकका अनुसार क्यान्सर संस्थान स्थापनाको अनुमानित लागत करिब ३ अर्ब रुपैयाँ हुनेछ । संस्थानमार्फत दीर्घकालीन रूपमा उच्चस्तरीय क्यान्सर उपचारका लागि नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य राखिएको छ ।
घरदैलोमै स्वास्थ्य सेवा
स्वास्थ्य सेवा सेवाग्राहीको घरदैलोसम्म विस्तार गर्ने उद्देश्यले नर्भिकले ‘नर्भिक एट होम’ सेवा सञ्चालनमा ल्याउने योजना पनि अघि सारेको छ । प्रारम्भिक चरणमा होम हेल्थ केयर र ज्येष्ठ नागरिकका लागि जेरियाट्रिक सेवाबाट कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ । अस्पतालसम्म पुग्न कठिन हुने तथा घरमै स्वास्थ्य सेवा आवश्यक पर्ने सेवाग्राहीलाई लक्षित गरी सेवा विस्तार गर्ने नर्भिकको योजना छ । अस्पताल पूर्वाधार, फार्मेसी, सिटी हस्पिटल, क्यान्सर उपचार तथा घरमै स्वास्थ्य सेवाजस्ता क्षेत्रमा एकैसाथ विस्तारको योजना अघि सार्दै नर्भिकले आगामी वर्षलाई व्यवसाय विस्तार र सेवा विविधीकरणको वर्षका रूपमा अघि बढाउने संकेत गरेको छ ।