शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनएभित्र राजनीतिक दलको हावीले संगठन नै संकटमा

शनिबार, साउन १८ २०७६

राजेन्द्र भट्ट
गैरआवासीय नेपाली संघ (एनआरएनए)को हरेक दुई वर्षमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने गरिन्छ । आउँदो अक्टोबरमा एनआरएनएको ९औं महाधिवेशन हुँदैछ र नयाँ नेतृत्व चयन गरिँदैछ । तर, एनआरएनएको महाधिवेशनमा राजनीतिक दलहरुको प्रत्यक्ष वा परोक्ष चलखेल हुने गरेको छ । नेपालमा रहँदा विभिन्न राजनीतिक संगठनमा रहेर राजनीतिक गरेकाहरु पनि एनआरएनएमा हावी छन् । उनीहरु राष्ट्रिय परिषददेखि अन्तर्र्रािष्ट्रय परिषद्सम्म सक्रिय छन् । संस्थाको हितभन्दा पनि आफ्नो पार्टीको पकड बनाउन लागिपरेकाहरुले इमान्दार र सक्षम नेतृत्य चयनमा अवरोध सृजना गर्नेमात्रै होइन । यदि आफ्नो पकडमा नआए संस्थालाई नै भताभुङ्ग पार्न पछि नपर्ने एनआरएनएहरु नै बताउँछन् ।
आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनको एक महिना अगाडि नै राष्ट्रिय परिषदहरुको अधिवेशन सम्पन्न गर्नुपर्ने विधानमा उल्लेख छ । अहिले ७९ मुलुकमा फैलिएको राष्ट्रिय परिषद्हरुमा धमाधम अधिवेशन भइरहेका छन् । यसमध्ये अमेरिका, अष्ट्रेलिया, हङकङ, ब्रुनाइ, अष्ट्रियालगायत केही मुलुकमा अधिवेशन सम्पन्न भइसकेको छ । तर, यसमा पनि राजनीतिक पार्टीका भातृ संगठनहरुको हस्तक्षेपबाट मुक्त हुन सकेन । हरेकपटक अन्तिममा अधिवेशन गर्ने बेलायतले यही सेप्टेम्बर १४ मा गर्दैछ । अधिवेशन नजिकिँदै गर्दा राजनीतिक दलका भातृ संगठनहरुको चलखेल चरम उत्कर्षमा उक्लिँदैछ । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति, नेकपाको ओएनएफ अहिले आफ्नो कार्यकर्तालाई जिताउने रणनीति सफल पार्न साम, दाम, भेद सबै प्रयोग गरिरहेका छन् । उनीहरु सकेसम्म संगठनमा कब्जा गर्ने, नसके महत्वपूर्ण पद हात पार्ने र कुनै पनि भूमिकाको जिम्मेवारी नपाए संस्थालाई डामाडोल नै पार्न उद्दत हुन्छन् ।
आगामी अधिवेशनमा अध्यक्ष पदका लागि मात्रै पाँच जनाको उम्मेदवारी घोषणा भएको छ तामझामका साथ । कम्तिमा पनि प्रति उम्मेदवारहरुले ५० हजार पाउन्ड खर्चिने छन् । यो रकम केवल चुनाव प्रचार प्रसारका लागिमात्रै होइन, न भोज भतेरका लागिमात्रै पनि हो, साधारण सदस्यले तिर्न १० पाउण्ड रकम उम्मेदवारले नै तिरिदिनु पर्छ । उम्मेदवारका कार्यकर्ताहरु कार्यालय खोलेरमात्रै बसेका छैन।न, घर–घर पुगेर साधारण सदस्य बनाउँछन, सदस्यता शुल्क पनि आफैं तिर्छन, फोटो आफैं खिच्नेदेखि यावत कार्य आफैं गर्छन् । र अन्त्यमा कसले कति सदस्य फारम बोकेको छ, सोको आधारमा पदको बाँडफाँट हुने गर्छ । जति साधारण सदस्यको फारम भरिन्छ, ति सबै दर्ता हुँदैनन् । कोे दर्ता भए, कोे भएनन् स्वयम फारम भर्नेलाई नै थाहा हुँदैन ।
यस्तो प्रवत्तिलाई रोक्न केन्द्रीय समितिले यस वर्ष चासो नै देखाएन । सायद यस्तै प्रवृत्तिलाई देखेर होला सोमबार राति आफ्नो तितो अनुभव पोख्दै बेलायतमा रहेकी प्रसुना कँडेलले फेसबुकमा लेखेकी छन्, ‘बिषय ः एनआरएनए । टाढाबाट महशूस गर्नु र वास्तविकतामा पर्नु तरकारी चाखे जस्तै रहेछ । राजनीति, जातीयता, समाज सेवा, पद सेवा, व्यक्ति सेवा, पवित्र मन, मेहनत, छलकपट असल, खराब सबै स्वाद । हैट ।’ बेलायतमा देखिएको समस्या उदाहरणमात्रै हो । यस्तो समस्या प्रायः सबै मुलुकमा देखिएको छ । स्वतन्त्र र निष्पक्ष रहने एनआरएनहरु संस्थाभित्र हुने राजनीतिक चलखेल अन्त्यको अपेक्षा राख्छन् । अन्यथा नेपालमा नेताहरुप्रति नागरिकमा देखिएको वितृष्णा एनआरएनएप्रति प्रवासीको नदेखिएला भन्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार