शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बाढीपीडितको पिडामा अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनद्वारा सहयोग

शुक्रबार, भाद्र २६ २०८३

‘विपद्मा पीडितलाई साथ दिनु हाम्रो मानवीय दायित्व हो’– अध्यक्ष रामु काफ्ले

काठमाडौँ । बहराइन,देशमा आएको विनाशकारी बाढीले सयौँ परिवारलाई पीडा, विस्थापन र अनिश्चितताको अवस्थामा पुर्‍याइरहेका बेला विदेशमा रहेका नेपालीको मानवीय भावना फेरि एकपटक देखिएको छ। बाढीबाट प्रभावित तथा पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली मञ्च, बहराइनले एक लाख रुपैयाँभन्दा बढी राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रक्रिया अघि बढाएको छ।

मञ्चले विभिन्न सहयोगी मनहरूबाट संकलन गरेको रु. १,००,५१२ रुपैयाँ ८६ पैसा बाढीपीडितको राहतका लागि हस्तान्तरण गरेको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा दाखिला गरिएको मञ्चले जनाएको छ। उक्त रकम नेपाली कम्युनिस्ट पार्टीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि जम्मा गरिने व्यवस्था गरिएको छ।

बाढी तथा प्राकृतिक विपद्को समयमा राज्यका विभिन्न निकायसँगै देश–विदेशमा रहेका नेपाली समुदायबाट सहयोग जुट्ने क्रम चलिरहेका बेला बहराइनस्थित नेपाली समुदायको तर्फबाट गरिएको यो सहयोगले विदेशमा रहेका नेपालीको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको अपनत्वलाई समेत प्रतिबिम्बित गरेको छ।

मञ्चका अध्यक्ष रामु काफ्लेले राहत अभियानमा जोडिएर आफ्नो मनदेखि सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले विपद्का बेला सहयोगको मूल्य रकमको परिमाणमा मात्र नभई पीडितको दुःखमा साथ दिने भावनामा रहेको बताए।

काफ्लेले बाढीपीडित नागरिक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै मानवीय संवेदना देखाउँदै सकेसम्म सहयोग गर्न सबैलाई अपिल गरेका छन्। विपद्ले घरबार, परिवार र दैनिक जीवनमा ठूलो क्षति पुर्‍याएका नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको प्रयाससँगै नागरिकस्तरको सहयोग पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

“विपद्को यो विषम परिस्थितिमा पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो। आफ्नो मनदेखि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी साथीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। अझै पनि सहयोगको आवश्यकता रहेकाले सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न म अपिल गर्दछु,” अध्यक्ष काफ्लेले भने।

उनका अनुसार विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा नेपाली समुदायले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्दै आएको छ। व्यक्तिगत रूपमा ठूलो रकम सहयोग गर्न नसक्नेहरूका लागि समेत सानो सहयोगले पीडित परिवारका लागि ठूलो अर्थ राख्ने भएकाले सहयोगको भावना निरन्तर कायम राख्नुपर्ने उनले बताए।

मञ्चले राहत रकमको आर्थिक कारोबार तथा बैंक दाखिला विवरण पारदर्शिताका लागि सुरक्षित राखिएको जनाएको छ। संकलित रकम कहाँ र कसरी जम्मा गरिएको हो भन्ने विषयमा स्पष्टता कायम राख्दै आर्थिक विवरणसमेत सुरक्षित राखिएको मञ्चले जनाएको हो।

त्यसैगरी, राहत अभियान तथा संकलित रकम जम्मा गरिएको विषयमा नेपाली राजदूतावास, मनामा, बहराइनलाई समेत औपचारिक रूपमा जानकारी गराइसकिएको मञ्चले जनाएको छ। यसले राहत संकलनदेखि रकम हस्तान्तरणसम्मको प्रक्रियालाई संस्थागत तथा पारदर्शी बनाउने प्रयास गरिएको देखाउँछ।

मञ्चले प्राकृतिक विपद् केवल प्रभावित क्षेत्रका नागरिकको समस्या नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताउँदै आएको छ। बाढीले निम्त्याएको मानवीय संकटका बेला देशभित्र र बाहिर रहेका नेपालीबीचको सहकार्य, एकता र सहयोगले पीडितलाई राहत दिन महत्वपूर्ण भूमिका खेल्ने मञ्चको विश्वास छ।

अन्तर्राष्ट्रिय नेपाली मञ्च, बहराइनले राहत अभियानमा सहभागी भई आर्थिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै बाढीपीडितको दुःखमा मलम लगाउन आगामी दिनमा समेत सहयोग र सहकार्य जारी राख्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार