काठमाडौं(जस)–पछिल्लो समय फिल्म प्रचारका लागि विभिन्न ‘भिडियो कन्टेस्ट’ घोषणा हुन थालेका छन् । यस्तैमा भदौ २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लभ यु हमेशा’ ले पनि भिडियो कन्टेस्ट’ घोषणा गरेको छ । निर्माण युनिटले विवाहित वा अविवाहित, दुवै जोडीले भाग लिन सक्ने ‘प्रेम प्रस्ताव’ को भिडियो कन्टेस्ट ल्याएको हो । प्रतियोगिता अन्तर्गत प्रेमी वा प्रेमिकाले प्रेम प्रस्ताव राखेको भिडियो बनाएर लभ यु हमेशा लेखि ‘लभ यु हमेशा’ को फेसबुक पेजमा पठाउनुपर्नेछ । दर्शकबाट प्राप्त हुने भिडियोहरुमध्ये जुनमा धेरै लाइक र कमेन्ट आउछ, त्यसलाई उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिने छ ।
‘लभ यु हमेशा’ को निर्माण ब्यानर धर्मा क्रियशनले विजेता भिडियो निर्माणकर्तालाई फिल्मका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेजलगायत बिभिन्न उपहार प्रदान गरिने जनाएको छ । भिडियो प्रतियोगिताको विजेता घोषणा भदौ २१ मा गरिने छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको फिल्मको हाल फिलिपिन्सको विभिन्न स्थानमा दुईटा गीत छायाँकन भइरहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायाँकन रहेको ती गीतमा फिल्मका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योन्जन फिचर छन् ।
भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलगुडी, काठमाडौंपछि हाल फिलिपिन्समा खिचिरहेएको फिल्ममा भासुको संगीत र एनवी महर्जनको द्धन्द्ध निर्देशन छ ।