काठमाडौं(जस)– भुवन बुढा मगर, नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनका सहायक मुख्य प्रशिक्षक तथा दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष । नेपालमा पछिल्लो केही वर्ष यताको छोटो समयमा हाप्किडोले ठूलो फड्को मारेको छ । हाप्किडोलाई यो उचाँइ दिलाउने क्रममा केही प्राविधिकको भुमिका महत्वपूर्ण रहेको छ । यसै मध्यका एक भुवन पनि हुन् । एक वर्ष अगाडी नै हाप्किडो नेतृत्वले उनको यसै मेहेनत र परिश्रमलाई मनन गर्दै ब्ल्याकबेल्ट कमिटीको अध्यक्षको जिम्मेवारी समेत दिएको छ । तीनै भुवनको खेल जिवन र हाप्किडो यात्रामा बारे यो चर्चा ।
रुकुम पूर्व भुमे, झुम्लाबाङका २५ वर्षिय भुवनको नेपाली हाप्किडोको आजको ब्यवस्थित स्वरुप सम्म आइपुग्दा महत्वपूर्ण भुमिका रहेको छ । पाँच वर्ष अघि नेपालमा हाप्किडो खेल सक्रिय रुपमा अघि बढ्न सुरु गर्न थालेको हो । यसै अवधिमा संघका संस्थापक÷केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगर भुवनको ब्यक्तित्वबाट प्रभावित भए । कर्ण बहादुर बुढा र पूर्ण कुमारी बुढाका कान्छा छोरा भुवन सानैमा क्रियाशील र सक्रिय । अध्ययनकै शिलशिलामा दाङमा बस्न थालेको ८ वर्ष भयो । दुइ दिदी र दुई दाजुका भाइ भुवनका लागि पारिवारिक बोझ त त्यत्ति थिएन । परन्तु समाजमा केही गर्न चाहनाले उनी सोचमग्न भइ रहन्थे । यसै सोच र सृजनशीलताका कारण काली बहादुर छोटो समयमा प्रभावित भए । भुवनले पनि महेनेत गर्दै गए । यस वापत सस्थाले पाएको हरेक जिम्मेवारी पुरा गर्दै गए ।

दाङ जिल्ला केन्द्र भएका उनी आवद्ध डोजाङ मार्फत ५००० खेलाडी रहेका छन् । उनको प्रभाव नेपालगञ्ज, रुपन्देही, प्युठान, गुल्मी, रोल्पा, पुर्वी रुकुम र सल्यान सम्म फैलीएको छ समग्र लुम्बिनी प्रदेश भरी २० हजार हाप्किडो खेलाडी उनको अन्डरमा रहेको छ । हाल उनी सुवास परियारको नेतृत्वमा रहेको लुम्बीनी प्रदेश हाप्किडो संघमा सचिव छन् । अबको एकाध वर्षमा नेपाली हाप्किडोले माथिल्लो उचाइ छुने उनको अनुमान छ । बि.स २०७५ मा दाङ जिल्ला अध्यक्ष भएका उनी त्यसको एक वर्ष पछि लुम्बिनी प्रदेश सचिव भए । यसै वर्ष उनी सहायक प्रमुख प्रशिक्षक र ब्लयाकबेल्ट कमिटी अध्यक्ष पनि भएका छन् । सवै टोली उत्तिकै सक्रिय र सहयोगी भएका कारण जिम्मेवारी पुरा गर्न सहज भएको उनको मत छ ।
स्नातक तहमा अध्ययनरत यी युवा लुम्बिनी प्रदेशमा हाप्किडो निशुल्क प्रशिक्षण हुने गरेको वताउछन् । धेरै स्थानीय तहले यस सवालमा साथ दिएका छन् । शिक्षा र खेललाई संगै लैजाने निति अनुसार हाप्किडोले स्कुल तहमा आफ्नो खेललाई विस्तार गरेको छ । साथै आर्थिक अभावका कारण अध्धयन गर्न कठिन भए र खेल्न कठिन भए सहयोग गर्ने निति राखेको हाप्किडो संघको अनिवार्य शिक्षाको सोचलाई मूर्त रुप दिन उनी सक्रिय छन् । युवालाई सामाजिक चेतना सहित जागरण, ब्यबसाय, रोजगारी र उत्पादनमा सक्रिय गराउने तथा विकास समृद्धिको एजेन्डाको संघको पनि रहेको कारण भुवन यसलाई सफल बनाउन सक्रिय छन् ।
‘ खेल खेलौ, स्वस्थ्य, अनुशासित, सुन्दर समुन्नत राष्ट्रको निर्माण गरौ,’भन्ने सिद्धान्तलाई अवलम्वन गर्दै हाप्किडो खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकता सुदृढ गर्ने, पर्यटन क्षेत्रलाई टेवा दिने, अन्तर्राष्ट्रिय भाईचारा कायम गर्दै राष्ट्रिय पहिचान र राष्ट्रिय गौरव बढाउने खेलको रुपमा यो खेल रहने उनको ठहर छ ।
खेलाडी, प्रशिक्षक र निर्णायक तीनै विधामा उनले एक से एक सफलता पाएका छन् । खेलाडीको रोल्पामा ४ वर्ष अगाडी भएको पहिलो राष्ट्रिय हाप्किडो च्याम्पियनसीपमा भुवनले ६५ किलो तौल समूहमा स्वर्ण पदक जितेका । यसैगरी, काठमाडौंमा भएको चौथो राष्ट्रि हाप्किडो च्याम्पियनसीपमा पनि उनले स्वर्ण पदक जितेका थिए ।
प्युठानमा भएको पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसीपमा पनि उनले स्वणर््ा पदक जितेका थिए । उनको यो सफलता राष्ट्रिय स्तरमा मात्र सिमित रहेन । अन्तराष्ट्रिय प्रतियोगितामा फड्को मार्ने क्रममा उनले भारतको नयाँ दिल्लीमा भएको दोस्रो दक्षिण एसियाली हाप्किडो च्याम्पियनसीपमा स्वर्ण पदक जितेका थिए ।
एक पछि अर्को सफलता पाएको उनले नुवाकोटमा भएको छैठौ राष्ट्रिय हाप्किडो च्याम्पियनसीपमा पनि उनले स्वर्ण पदक जिते । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड पनि उनले यस विचमा पाएका थिए । निर्णायकको रुपमा उनी जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा भुमिका निर्वाह गरि सकेका छन् । खेल, सामाजीक सेवा र शान्ती स्थापनाका लागि विविध कार्यमा संलग्न भुवन खेलकुदको विकास र संसारभरी भाइचाराको विकास होस् भन्ने चाहन्छन् ।

जनसवाल राष्ट्रिय दैनिकको २०७९ साउन ११ गते बुधबारको इपेपर
जनसवाल राष्ट्रिय दैनिकको २०७९ साउन ११ गते बुधबारको इपेपर