आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

जापानमा २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन

आइतबार, असोज ४ २०८३

काठमाडौँ । जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद (एसियन गेम्स)को औपचारिक उद्घाटन भएको छ । नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे उद्घाटन समारोह आयोजना गरिएको हो ।

औपचारिक उद्घाटनअघि नै केही खेलका प्रतिस्पर्धा भने सुरु भइसकेका थिए । जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गरेको हो । यसअघि जापानको टोकियोले सन् १९५८ र हिरोसिमाले सन् १९९४ मा एसियाली खेलकुद आयोजना गरेका थिए ।

यसपटकको एसियन गेम्स जापानका एइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकासहितका क्षेत्रमा आयोजना भइरहेको छ । प्रतियोगिताका खेलहरू ५४ वटा विभिन्न खेलस्थलमा सञ्चालन भइरहेका छन् ।

२०औँ एसियन गेम्समा नेपालका तर्फबाट २१ खेलमा १३५ जना खेलाडीले सहभागिता जनाएका छन् । नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन् । खेलाडीसँगै २९ जना प्रशिक्षक, १७ जना व्यवस्थापक र दुई जना खेल प्राविधिक पनि टोलीमा सहभागी छन् ।

नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, र्‍याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसुमा प्रतिस्पर्धा गर्दैछ ।

यसैबीच एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार नेपाली टोलीलाई बिदाइ गरेको हो । टोलीलाई राखेपका सदस्यसचिव रामचरित्र मेहता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायतले बिदाइ गरे ।

बिदाइ कार्यक्रममा सदस्यसचिव मेहताले नेपाली टोलीलाई शुभकामना दिँदै प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै पदक जित्ने अपेक्षा व्यक्त गरे ।

नेपाली पुरुष क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो । नेपालले क्रिकेटतर्फ यसअघि एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ ।

यसपटक नेपाली टोलीले स्वर्ण पदक जित्ने लक्ष्य राखेको कप्तान दीपेन्द्रसिंह ऐरीले बताएका छन् । प्रतियोगिताको समूह चरणमा नेपालले जापान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

एसियाली खेलकुदमा सहभागी नेपाली खेलाडीले विभिन्न २१ खेलमा प्रतिस्पर्धा गर्ने भएकाले यसपटक नेपालले पदक संख्या बढाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाएको छ । जापानमा सुरु भएको प्रतियोगितामा एसियाका विभिन्न मुलुकका खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार