काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आयोजक इङल्याण्डले न्युजील्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले न्युजील्याण्डलाई ११९ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
इङल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछाएको न्युजील्याण्ड ४५ ओभरमा अल आउट हुदै १८६ रन मात्र बनाएपछि खेल ११९ रनले हारेको थियो ।
न्युजील्याण्डका लागि टम लाथमले सर्वाधिक ५७ रन बनाए भने रोज टेलरले २८, केन विलियम्सनले २७, जिम्मी निशामले १९ र मिचेल सान्टनरले १२ रन बनाएका थिए ।
इङल्याण्डका बलर मार्क वुडले सर्वाधिक ३ विकेट लिए भने कृष् वोक्स, जोफ्रा आर्चर, लियाम प्लङकेट, आदील राशिद र बेन स्टोकले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३०५ रन बनाएको थियो ।
इङल्याण्डका लागि ओपनर जोनी बैरस्टोवले शतकीय पारी खेल्दै १०६ रन बनाएर आउट भए । बैरस्टोवले विश्वकपमा लगातार दोस्रो शतक प्रहार गर्नेक्रममा पहिलो विकेटका लागि जासन रोयसँग १२३ रनको साझेदारी गरेका थिए ।
रोय ६० रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान इयों मोर्गन ४२ रन बनाएर आउट भए भने जोय रुटले २४ रन बनाएका थिए । त्यस्तै बेन स्टोक र जस बटलरले ११-११ रन बनाएर आउट भए । त्यस्तै क्रिस वोक्स ४ रन बनाएर आउट भए भने आदील राशिदले १६ र लियाम प्लङकेटले अविजित १५ रन बनाए ।
न्युजील्याण्डका बलर ट्रेन्ट बोल्ट, जिम्मी निशाम र माट हेनरीले २-२ विकेट लिए । त्यस्तै मिचेल सान्टनर र टिम साउथीले एक एक विकेट लिए ।
प्रतियोगितामा यो जितसहित ९ खेलमा १२ अंक हासिल गर्दै इङल्याण्ड सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि अस्ट्रेलिया र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।