काठमाडौं(जस)–‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९(सिजन–४)’ प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । सिद्धि मिडिया आयोजक रहेको प्रतियोगिताको आइतबार युनिभर्सल लन्च एण्ड बार तीनकुनेमा आयोजित ट्यालेन्ट राउण्डमा दुबै प्रतियोगिताका प्रतियोगीले आफुमा भएको प्रतिभा देखाएका हुन् । कार्यक्रममा अधिकांश प्रतियोगीले नृत्य र गायन प्रतिभा देखाएका थिए भने केहीले अभिनय र ड्रामा समेत प्रस्तुत गर्न भ्याए । असार १८ गते बुधबार राजधानीमा अन्तिम स्पर्धा हुने दुबै प्रतियोगितामा मध्य ‘नेपाल्स स्टार मोडल’ तर्फ १६ जना र ‘नेपाल्स् प्लस साइज मोडल’ तर्फ ८ प्रतियोगी भिड्दै छन् । सचु गुरुङ, बालकृष्ण पोखरेल, रीता केसी, अमिता शाह, आयुस ठकुरी, आकाश गिरी लगायत ट्यालेन्ट राउण्डको निर्णायकमा रहेका थिए ।
शीर्षसहित विभिन्न आधा दर्जन विधामा बिजेता छानिने प्रतियोगिताको शीर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगदसहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । दुबै कार्यक्रममा युवायुवतीको ब्यक्तित्व विकाश, क्षमता अभिबृद्धि र उपयुक्त प्लेटफर्म श्रृजना गर्ने उदेश्यले आयोजना गरिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । सिद्धिले मिडियाले मोटाहरुको लागि नेपालमै पहिलोपटक यो प्लससाइज मोडल आयोजना गरेको हो । यसअगाडि सिद्धि मिडियाले मोटीहरुको लागि ‘नेपाल्स् चम्बी मोडल’ समेत आयोजना गरेको थियो ।