आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पानि डाक्टर : डिल्ली अम्माईको मनोवृत्त

आइतबार, चैत्र १३ २०७८

dilli

हाम्रा सन्तान मद्धे कुनै कुनै,या त उनिहरु मूर्ख भएर हो या धूर्त वा सोझा खुलेर कुरै नगर्ने । दिक्क त सबैलाई लाग्छ नै। आमा बाबुले त्यस्ता अन्तर्मुखी सन्तानहरूलाई क्षमा दिन बाध्य छौँ,किनकि कुनै कुनै बच्चाहरुले बाबु आमाको हृदयमा उद्वेलित उच्च अपेक्षा, भावना, आवेग तथा तिनको गहिराइलाई नै अनुभूत गर्न सक्दैनन्। उनीहरूको हृदय मासुको एक टुक्राझैं हमेसा मृत जस्तै देखिन्छ। हाम्रा अपेक्षा र जिज्ञासालाई महत्व नदिने तिनका आँखाहरू अरु धेरै मनोबैज्ञानिक कारणले कमजोर भएका हुन सक्छन भनेर हामीले चित्त बुझाउनुको अर्को बिकल्प हुँदैन। उनीहरुको निजि तथा आफैँमा भरपर्ने गुणलाई हामीले सदैव अहङ्कारको संज्ञा दिनु दुःखपूर्ण र कष्टप्रद कुरा हो। त्यो उनीहरुको प्राकृतिक गुण हुन पनि सक्छ तर हामीले त्यो बुझ्दैनौं र सन्तानको अहङ्कार भनेर चित्त दुखाउछौँ।

अब मेरा सन्तान,पारिवारिक अन्तर-सम्बन्धबारे कुरा गर्छु म। बेफुर्सदिको कारणले पनि हुनसक्छ,मेरो आफ्ना छोराछोरीहरुसंग धेरै ठट्यौलीमा रम्ने र अनाबश्यक रुपले सोधपुछ गर्ने कहिल्यै गरिन। तर सामान्य अविभावकले झैँ उनीहरुको पढाई प्रति भने मैले सदैव चासो दिइ रहेँ। ठुली छोरी प्रतिमा,उनि सानै देखि पढाइमा अब्बल थिइन। यसएलसी उतिर्ण गरेपछि बेल्जियम आईन र उसैगरी लगातार आफ्नो नर्सिङ्गको पढाइलाई सकिन। तर उनलाई पनि मैले उनको बिषयगत रुचिलाई जान्नु बाहेक कहिल्यै ‘यो पढ त्यो पढ’ भनेर दवाव दिइन।

छोरीको बिषयगत चाहनाबारे संयोगबस प्रश्न गर्दा उनले’योग्य नर्स’बन्ने हो’भन्थिन। अहिले उनले आफ्नो पढाई सकेर नर्सिङ्ग जस्तो मानवीय सेवामा आँफुलाई समर्पित गरिरहेकी छन्। त्यो सफलताको लागि हाम्री छोरीलाई संधैभरी हाम्रो परिवारले सम्झिरहने छ। हामी उनको समर्पित सेवाबाट असाध्यै खुशी छौं।

मेरो सासु आमा र मेरो आमाले सानी छोरी पुजा,हाम्रो गरकी लक्ष्मी हुन् भन्नु हुन्थ्यो। उनि आज्ञाकारी र सान्त स्वभावकी भएर सबैकी प्रिय छन्। तर दुखको कुरा उनलाई अति माया गर्ने मेरो आमा त यस संसारमा हुनुहुन्न।

आमाहरुले भनेझैं ,कान्छी छोरी मिजासिलो र सान्त स्वभावकी छन् कान्छी।उनको स्वभाव अरुलाई असर गर्ने बाणी लुकाएर मात्र बताउँछिन। उनी पारिवारिक संस्कार र सभ्यताको फिल्टर मेसिन जस्तै हुन्। दुखका लुकाएर सुकिला उज्याला मोतिहरु मात्र देखाउने। भित्रि ज्ञान र आक्रोशलाई दवाएर हाँस्ने, सँधै चन्द्रमा जस्तै सान्त देखिने कोहि छ भने हाम्रो घरमा सानी छोरी पुजा हुन्।

तर मेरो छोरा प्रकाश,अन्तरमुखी स्वभावका छन्। उनले कहिल्यै पनि ‘मैले यहि बिषय पढ्छु’ भनेर मलाई बताएको थाह छैन। उनका मामाहरु जोसँग उनले खुलेर कुरा गर्छन ,शेखर दाजु,परमानन्द भाई,श्याम सापकोटा। उनीहरुलाई प्रकाशले यो बिषयमा पढ्छु भनेको भए मलाई थाह छैन। तर भन्ने पर्छ,मेरो जीवन संगिनी र मलाई उनको पढाइबारे केहि थाह थिएन। नसोधेको पनि हैन,कहिलेकाँही सोधिन्थ्यो,’बाबु, के पढ्दै छौ’भनेर ! उनले ‘खै’अहिले त बिज्ञान हो’ मात्र भन्थे। उच्च माध्यामिक तहमा पनि राम्रो अंक सहित उतिर्ण गरेको हुनाले मैले प्रकाशको पढाईबारे त्यति सोधिन र प्रकाशको आमा तारासँग पनि टिका टिप्पणी गरिन। किनकि उनको कुनै बिषयगत रुचि त पक्कै होला भन्नेमा म निश्चिन्त थिएँ।

आमा बाबु वा कसैसँग गुनासो गर्ने स्वभावको नभएर होला,उनको भावना बुझ्न अलिक कठिन हुन्छ। हाम्रो त छोराछोरीहरु अलिक आमाबाबुसंग घुलमिल हुन् र राम्रा नराम्रा सबै अनुभवहरु हामीलाई बताउन् भन्ने चाहना हुने नै भयो। तर कतिपय बच्चाहरुमा त्यो बानि कमजोर हुँदो रहेछ। हरेक मानिसलाई प्रकृतिले दिएको ब्याक्तिगत गुण बदल्न कठिन पर्ने रहेछ।

केहि बर्ष अघि बेल्जियम स्थित हाम्रो घरमा स्विजरल्याण्डबाट प्रकाशका मामा श्याम सापकोटा आए। उनले आफ्नो भान्जाको पढाईबारे चासो नराख्ने कुरा त हुँदै भएन। ‘भान्जा के बिषय पढ्दै छौँ ? भन्ने उनको जिज्ञासामा प्रकाशको जवाफले म चकित भएको थिएँ। ‘मामा,संसारमा अति आबश्यक तर अति कम मानिसले सिकेको ज्ञान मैले सिक्दै छु। त्यसमा बिद्युत,वातावरण,आइटी र स्वास्थ्य समेत पर्दछ।’ हाम्रो बाबुले त्यसरी खुलेर बोलेको मैले पहिलो पटक सुनेको ! त्यस्तो बिषयगत ज्ञान जुन संसारमा दुर्लभ छ,जसले मानव सभ्यताको मात्र नभएर जीव बिकासको लागि अधिकतम क्षेत्र समेट्छ। त्यस्तो बिषय के होला ? त्यो बेला म मामा भान्जाको कुराले आँफै अलमलिएँ र गफको त्यो प्रशंगले उनीहरु बीचको कुराकानीमा कतिखेर पूर्णबिराम लाग्यो। अहिले मैले उनीहरु बीच भएका धेरै कुरा सम्झन सक्दिन।

सन् २०२० को अक्टोबर होला सायद,बाबुको पढाईको अन्तिम उत्सवमा तारा र म कलेज गयौँ। उनका गुरु मद्धे एक सायद नाम मार्क हो क्यार,उनको परामर्श सुन्यौँ। ‘अरे मान्छे,तिम्रो छोरो त ‘पानि डाक्टर’ भयो नि !’ हाम्ले के बुझ्नु यो ‘पानी डाक्टर’ भनेको ? छक्क पर्यौं र सुनी रह्यौँ,’केटोले धेरै मेहनत गरेर पढेको छ,अब बेल्जियमको ढल निकासबाट बगेको पानी पिउन योग्य बनाउनको लागि सरकारी काम पनि छिट्टै शुरु गर्छ। ‘

‘सर मार्क ,’छक्क पर्दै मैले सोधे,’यो ‘पानी डाक्टर’ भनेको मैले बुझिन।’

‘यो संसारकै भविष्यको अति आबश्यकिय ज्ञान र सिप हो। यो सिप संसारकै दुर्लभ सिप हो र केटोले संसारको कुनै पनि कुनामा काम लाग्ने प्रबृद्धि सिकेको छ। किनकि अहिले संसारमा ९७ प्रतिशत पानि पिउन योग्य छैन। केवल ३ प्रतिशत पानि मात्र पिउन योग्य छ। अब तिम्रो छोराले संसारको जुनसुकै कुनामा त्यो प्रदुषित पानीलाई जीवन बाँच्न र पिउन योग्य बनाउन सक्छ। पानीलाई अप्रेशन गरेर त्यसबाट हानिकारक तत्व,फोहर र जीवाणु निकाल्ने सक्ने योग्यता हाँसिल गरेको तिम्रो छोरा आज देखि’पानीको डाक्टर’ हो। ‘

नजिकै बसेकी मेरो छोराकी बिज्ञान प्रोफेसर सोफियाले मार्ककै कुरालाई पुष्टि गर्दै भनिन,’तिम्रो नेपालमा त झन् पानी डाक्टर कम छन् होला। किनकि यो सिप अत्याधिक खर्चिलो भएकोले अल्पविकसित देशले पढाउनै सकेका छैनन्। यो बिषय संसारकै दुर्लभ बिषय भएकोले तिम्रो छोरा अबदेखि आधुनिक टेक्नोलोजीको दुर्लभ प्रशिक्षक भएका छन् । संसारका सिमित देशमा मात्र यो बिषय पढाई हुने भएकोले तिम्रो छोरा प्रति तिमीले गर्व गर। ‘

‘हैन,यो बिषयमा नेपालमा जागिर पाइञ्छ र ?’ प्रोफेसर सोफीयाले उत्तर दिइन,’तिम्रो छोरा संसार भरि जति डाक्टर र नर्स छन्,उनीहरुका पनि डाक्टर भए । यो प्रकृतिमा फैलिएको जल प्रदुषण पृथ्वीको रोग हो। जल प्रदुषणको कारणले जलचर,थलचर र उभयचर सबै जीवहरु मृत्युको संघारमा छन्। अब मानवको जिम्मेवारी हावा र जलको उपचारमा केन्द्रित हुनु पर्छ। हाम्रो सृष्टि बचाउन जल आवास्यक हुन्छ। जल नै बिष भयो भने कुनै पनि डाक्टरले जीवलाई बचाउन सक्दैन। अबको पुस्ता सृष्टि बचाउने अप्रेशनमा लाग्नु पर्छ। तिम्रो छोरा प्रकाश अब देखि डाक्टरको पनि डाक्टर हो ! ऊ पानि डाक्टर हो किनकि उसले अब पानीको पनि अप्रेशन गर्न सक्छ।’

संसारकै योग्य छोरा जन्माएकोमा हामी बुढाबुढी मख्ख पर्दै,गफ गर्दै घर फर्कियौँ। तर प्रकाशले त्यति महत्वपुर्ण बिषयको अध्ययन गरि रहँदा हामीलाई आफ्नो पढाईबारे किन बताएन ? त्यहि प्रश्नले मलाई अहिलेसम्म टोकिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार