काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्समाथि १६ रनको शानदार जित हात पारेको छ ।
खेलमा पहिले टस जितेर सेलिब्रिटी क्रिकेट उत्सवका क्याप्टेन विवेक खतिवडाले ब्याटिङ गर्ने निर्णय गरेका थिए । १० ओभरको यो म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले निर्धारित १० ओभरमा ९३ रन बनाएर इन्डोर सुपर लिगका टिम ओनरलाई ९४ रनको लक्ष्य दिएको थियो ।
सेलिब्रिटी टोलीको इनिङ्गमा र्यापर भ्यौमा र दिलीप ओखेडाबीचको ५३ रनको साझेदारी निर्णायक बन्यो । यसका साथै सौगात विष्टले २२ रनको योगदान दिँदै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए ।
९४ रनको लक्ष्य पछ्याउँदै इन्डोर सुपर लिगका टिम ओनर्सले सेलिब्रिटी टोलीको कसिलो बलिङ सामना गर्न सकेनन् । कलाकार भरत कार्कीले १ विकेट लिँदा मोडल पुरुषोत्तम मलिकले २ विकेट हात पारे ।
सौगात विष्ट र दिलीप ओखेडाको अनुशासित बलिङका कारण टिम ओनर्सको पारी ७७ रनमै समेटियो र सेलिब्रिटी क्रिकेट उत्सवले १६ रनको सहज जित निकाल्यो ।
यो मैत्रीपूर्ण म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवका सल्लाहकार विक्की कार्की, कलाकार कुमार कट्टेल, कलाकार टंक तिमिल्सिना, कलाकार रवि ओड, डाइरेक्टर सुरेश न्यौपानेलगायतका कलाकार तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । टोलीको संयोजन सेलिब्रिटी क्रिकेट उत्सवका को–फाउन्डर सञ्जीव उपाध्यायले गरेका थिए ।
इन्डोर सुपर लिग नेपालको पहिलो फ्रेन्चाइज–आधारित इन्डोर क्रिकेट प्रतियोगिता हो, जसको दोस्रो संस्करण भदौ २२ देखि २८ गतेसम्म काठमाडौंको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आयोजना हुने भएको छ ।
यस संस्करणमा १० फ्रेन्चाइज टोली ‘काठमाडौं कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, पोखरा वारियर्स, माया हेटौंडा रोयल्स, मिक्सम्यान्डु, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्स, लुम्बिनी योर्कर्स, जनकपुर किंग्स र विराटनगर बटालियन’ले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुर टेलिभिजनले यस प्रतियोगिताको आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ ।