सक्तिको उन्मादले उन्मत्त तथा मैमत्त मानिस,सामरिक सक्ति समूह वा साम्राज्यबादी देशको नेतृत्व बर्ग जति जति कमजोर हुँदै जान्छ,उसको बेचैनी त्यहि अनुपातमा बढ्दै जान्छ। ऊ भित्र उत्रेको अविवेकी युद्ध उन्माद,छट्पटाहत र पुन सक्ति प्राप्तिको लालाचाले अरु प्रति असिमित घृणा ओकल्न थाल्दछ। उसको असिमित महत्वाकांक्षा कुनै एक कुनाबाट युद्ध अराजकताको रुपमा प्रवेश गर्छ र संसारलाई बिना कुनै अपराध युद्धको विभीषिकामा लपेट्न थाल्दछ। यो नै हालैका बर्षहरुमा अमेरिकाले संसारबाट आफ्नो सक्ति गुमाउदै जाँदा देखाएको अपराधिक तथा विकृत चरित्र हो, जुन दक्षिण अमेरिका,युरोप,अफ्रिका तथा एसियामा सामरिक पागलपनको रुपमा प्रकट भैरहेको छ। यसलाई रोक्न संसारभरिका युद्ध बिरोधि,मानवताबादीहरुले प्रतिरोध गर्नुको कुनै बिकल्प छैन।
सक्ति सन्तुलनको बदलिँदो परिस्थितीको दवावले राष्ट्रिय तथा अन्तराष्ट्रिय रणनीतिमा नयाँ घटनाक्रमहरुको आँफै सृजना वा बिकास गर्छ र त्यसले सिंगो संसार प्रतिको पूर्ववत बुझाइलाई करेक्सन गर्न बाध्य पार्छ।विश्व ईतिहाँसले संसारलाई अहिलेसम्म सिकाएको महत्वपुर्ण पाठ यहि हो।
सक्तिको भोक र सामर्थ्यको घमण्डले कुनै पनि बलिया देशलाई युद्धको दिशामा पुर्याउँछ। अहिले पुँजीबादको चरम विकासले अमेरिकी साम्राज्यबादलाई पुन अर्को महायुद्धको सन्मुख ल्याई पुर्याएको छ।
विश्व बहुध्रुबिय हुँदै :
हिजोसम्म अमेरिकाको साथमा रहेका पश्चिमी युरोपका देशलाई अमेरिकासंगको अन्तर संघर्षले अलग सक्ति केन्द्र निर्माण गरेर अगाडी बढ्ने अबस्था सन्मुख ल्याई पुर्याएको तथ्यलाई विश्व राजनीतिमा घटित बर्तमान घटनाक्रमहरुले पुष्टि गर्दै लागेको छ। बेलायतसंग युरोपियन युनियनको सम्बन्ध बिच्छेद पछि युरोपियन युनियन आफ्नो छुट्टै रणनीतिका साथ अगाडी बढ्ने तयारीमा जुटिरहेको देखिन्छ। यी सबै विश्व सक्ति केन्द्रका अन्तर्विरोधले संसार एक ध्रुबियबाट बहुध्रुबियमा संक्रमण भै रहेको संदेश दिन्छ।
अहिले युरोपियन युनियन,चीन,रुस र आणविक सक्ति सम्पन्न अन्य देश समेत बहुध्रुबिय विश्व ब्याबस्थाको प्रारम्भिक अभ्यासरत चरणसम्म आइपुगेका छन्, र त्यहि अनुशार आफ्ना सक्ति केन्द्र निर्माणमा जुटेका छन्। त्यसैकारण अहिले युरोपियन युनियनले विश्व आर्थिक र सामरिक सक्तिमा अमेरिकी बर्चस्वलाई निसर्त स्वीकार गर्ने अबस्थामा छैन । युरोपका शक्ति राष्ट्र खासगरी अब जर्मन र फ्रान्सले अमेरिकी नीतिको अन्धानुकरण गर्ने पक्षमा छैनन् भन्ने कुरा युक्रेनमा भर्खरै घटेका राजनैतिक तथा सामरिक घटनाक्रमले छर्लंग पारेको छ । युरोपियन युनियनले चीन,रुस,मध्यपुर्व लगायत विश्वको अन्तरविरोधलाई हेर्ने दृष्टिकोण अमेरिकाको भन्दा फरक हुँदै गएको छ। त्यसै कारण युरोपियन युनियनलाई अबको विश्व मन्चमा नेतृत्वदायी एक ध्रुबको रुपमा स्विकार्नु पर्ने कुरा बिभिन्न घटनाक्रमहरुले पुष्टि गर्दै लागेको छ। अहिले रुस-युक्रेन क्राइसिसमा युरोप र रुसलाई युद्ध गराउने अमेरिकी इन्ट्रेष्टको बिरुद्ध फ्रान्स र जर्मनले महत्वपुर्ण भूमिका खेलिरहेका छन् ।यसले युरोपियन युनियन समग्र युरोपको क्षेत्रीय सान्तिको पक्षमा चिन्तित छ भन्ने कुरालाई नै पुष्टि गर्दछ।
युरोपियन युनियनका यी शक्तिहरुले अमेरिकाको आँफुहरुलाई रुस सित लडाएर आफ्ना हतियार बेच्ने र आफ्नो बर्चस्वलाई युरोपमा पुन स्वीकार गर्न लगाउने रणनीति बुझिसकेका छन्।
अमेरिकाको घेरा साँघुरिदै,युरोपले आफ्नै सैनिक संरचना बनाउँदै :
पहिलो र दोश्रो विश्वयुद्धमा अमेरिकाले युरोपमा युद्ध गराएर युरोपियन सभ्यता समाप्त पारि आफ्नो कठपुतली बनाउन बाध्य बनाएको घटनाले जर्मन र फ्रान्सलाई युरोप र रसियाको युद्ध रोक्न बाध्य बनाएको कुरा छर्लंग भएको छ। युरोपले युरोपियन संघको छुट्टै सेना बनाउने र नाटोलाई बिस्तारै निष्क्रिय पार्दै लाग्ने रणनीतिले संयुक्त राज्य अमेरिका झस्केको मात्र छैन,उसले बेलायत र अष्ट्रेलियासंग अर्को रणनैतिक गठबन्धन बनाइसकेको छ । जसलाई औकुस(AUKUS)भनेर बुझिन्छ। अब अमेरिका नाटोसंग पूर्ण बिश्वस्त छैन र आफ्नो बर्चस्वको लागि उसले अब फ्रान्स तथा जर्मनलाई बिस्वास गर्न सक्दैन भन्ने कुरा जर्मनी-फान्सेली नेता बिरुद्ध उसले गरेको जासुसी प्रकरणबाट पनि सजिलै बुझ्न सकिन्छ।
औकुस (AUKUS)सम्झौताले अष्ट्रेलियालाई लामो दूरीको सामरिक मिसनहरूको लागि सक्षम आठ अत्याधुनिक, आणविक पनडुब्बीहरू प्रदान गर्नेछ। त्यसपछि उक्त सम्झौताले साइबर, कृत्रिम बुद्धिमत्ता, क्वान्टम टेक्नोलोजी र गोप्य रुपमा समुद्रमुनि गरिने क्षमताहरूको साझेदारीको लागि अनुमति दिने बताइएको छ ।केहि महिना अघि अमेरिकाको निर्देशनमा अष्ट्रेलियाले फ्रान्ससंग गरेको आणविक पनडुब्बी सम्झौतालाई रद्ध गरि पुरानो मित्रसँग दुश्मनी मोलेको छ। यी यावत घटनाहरु अमेरिकनहरुको युरोपियन युनियनका देश र नाटो सम्बद्ध राष्ट्रसंग अन्तरबिरोध चर्कदै गएको परिणाम हुन् भनेर बुझ्नु पर्छ।
अहिले युक्रेन क्राइसिसको कारणलाई हेर्दा अमेरिकाको दवावमा युक्रेनलाई दिन लागिएको नाटोको सदस्यता नै मुख्य देखिन्छ। मस्कोले पश्चिमाहरुसंग पुर्व सोभियत संघमा आबद्ध तात्कालिक संघीय देशहरु बिशेष गरि युक्रेनलाई नाटोको सदस्य बन्न प्रतिबन्ध लगाउने र पूर्वी युरोपमा नाटोका सेना घटाउन माग गर्दै आएको छ।तर विश्व राजनीतिमा बर्तमान समस्याका कारणहरु त्यति मात्र हुन् भनेर बुझ्नु हुँदैन।
अमेरिकी तथा बेलायति साम्राज्यबादले रुसका राष्ट्रपति पुटिनलाई प्रतिबन्धको धम्की दिएका छन्। अमेरिका र बेलायतले दिएको नाकाबन्दीको धम्कीले पुटिनलाई युक्रेन आक्रमणबाट रोक्न सक्ने भनिए पनि यो पुटिनलाई उक्साउने अमेरिकी चाल भन्दा बढी केहि हैन । अझै अमेरिकी राष्ट्रपति जो बाइडेनले “रुसले युक्रेनमा आक्रमण गरे रसियाको £8 बिलियनको नर्ड स्ट्रिम दोश्रो ऊर्जा परियोजनाको अन्त गर्ने” चेतावनी दिएका छन्।
तर अमेरिकाको उक्त धम्किको लगत्तै रुसले आणविक हतियारको प्रयोगद्वारा अमेरिका तथा उसका सहयोगीको युद्ध उन्मादलाई चकनाचुर पारिदिने चुनौती दिएको कुरा बाहिर आएको छ । क्राइसिसको पछिल्लो चरणमा रुसले आँफु आफ्ना मुद्धाहरुबाट पछि हट्ने संकेत नदिए पछि अमेरिकी समर्थित नाटो सैनिक युक्रेनबाट पछि हट्न बाध्य भएको छ। बेलायत र अमेरिकाले “सावधानीपुर्वक ” युक्रेनबाट दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाइ सकेका छन् भने आफ्ना नागरिकलाई युक्रेन नजान सार्वजनिक अपिल नै गरेको छ ।अफगानस्तानमा भएको अमेरिकी हार पछि युक्रेनबाट समेत अमेरिका रातारात भाग्नुले साम्राज्यबाद बास्तवमा कागजी बाघ हो भन्ने कुरालाई पुन राम्रोसंग प्रष्ट्याएको छ।
आसंका र मत भिन्नताहरु:
युक्रेनका छिमेकी देशहरु बीच यो संकटलाई लिएर मत भिन्नताहरु चुलिएको छ।पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्कीले रुसलाई संकटको पछाडि ” क्रेमलिनको ठुलो सामरिक योजना ” भएको आरोप लगाए। तर हंगेरीका प्रधानमन्त्रिले अहिलेको पुटिनको मागलाई रसियाको स्वाभाविक सुरक्षा चिन्ता भनेका छन्। पूर्वी युरोपको अर्को देश हंगेरीले रूससँग सदैव राम्रो सम्बन्ध चाहन्छ। हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भर्खरै मस्को भ्रमणका क्रममा रुसी मागलाई जायज भनेका छन् र प्रतिबन्धहरू अर्थहीन रहेको बताएका छन्। नाटोको सदस्य राष्ट्र टर्कीले पनि रुससँग स्वतन्त्र सम्बन्ध विकास गर्न इच्छुक देखिन्छ। टर्कीका प्रधानमन्त्रि एर्दोगान(Recep Tayyip Erdoğan)को सरकार अहिले अमेरिकासंग भन्दा पनि रसियासंग नजिक छ।
यो विश्वका महासक्ति राष्ट्रहरुको टकरावको अबस्थामा बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को पुटिनका प्रमुख सहयोगीको रुपमा देखिएका छन् र उनले आफ्नो भुमि रुसी सेनालाई सामारिक प्रयोजनको लागि दिइरहेको देखिन्छ ।यसरि युरोप समेत करिव करिव समान दुई खेमामा विभक्त भएजस्तो देखिनु र फ्रान्स जस्तो आणविक सक्ति सम्पन्न देश युरोपको क्षेत्रीय सान्तिको पक्षमा उभिनुले यहाँको सामरिक सक्ति सन्तुलनलाई हेराफेरी गरिदिने निश्चित छ।
जर्मन,फ्रान्स र रसियाले अबको दसक भित्र विश्व सक्तिलाई बहुकेन्द्रमा लैजाने लक्ष लिएको हुनसक्ने स्वतन्त्र विश्लेषकहरुको आँकलन देखिन्छ। त्यसैको परिणाम स्वरुप युरोपियन युनियनका प्रमुख नेताहरुसंग छुट्टाछुट्टै बार्ता भैरहेको छ। आफ्नो सामरिक हितको लागि मुख्यतया तीनवटा प्रधान लक्ष्य राखेका रुस र चीनले साम्राज्यबादी घेरा तोड्ने पहलकदमी आफ्नो हातमा लिन चाहेको धेरै घटनाहरुमा पुष्टि हुँदै गएको छ। त्यसमा अमेरिकी पपेट बनेर नाटो सैन्य क्याम्पमा जान हतारिएको “स्वतन्त्र युक्रेनी” राज्यलाई आफ्नो सामरिक नेटवर्क भित्र राख्ने,नाटोको बिस्तार र घेराबन्दीलाई चकनाचुर पार्ने र विश्व सामरिक महासक्तिको नेतृत्व आंफुले लिने रुसको योजना हुन सक्छ ।
अमेरिकाका आगामी चुनौतीहरु:
अमेरिकासँग विश्वव्यापी वर्चस्व कायम राख्ने दोश्रो विश्वयुद्ध लगत्तै पछिको जस्तो सैन्य र आर्थिक शक्ति अहिले छैन भन्ने रुस चीनको मोटामोटी विश्लेषण हो । तर, अमेरिकाले हरेक मूल्यमा संसारभर आफ्नो वर्चस्व कायम राख्न चाहन्छ, त्यहि अन्तरविरोधको कारणले युरोपको क्रिमियाबाट रुस बिरुद्ध अहिलेसम्मकै सबैभन्दा विनाशकारी विश्व युद्ध निम्त्याउन सक्ने भयले संसारभर चिन्ता छाएको हो। यदि युद्ध भैहाल्यो भने अमेरिकाले सोचेजस्तो पश्चिम युरोपसँग रुस लड्ने सम्भावना देखिदैन। उनीहरुसंग रुसको सम्बन्ध ग्याँस पाइप र क्षेत्रीय सान्तिको चाहनाले समेत जोडेको छ। त्यसैले फ्रान्स र जर्मन दुई विश्वयुद्धमा जस्तो आपसमा लड्ने अबस्था पनि अहिले देखिन्न। क्षेत्रीय सान्तिको लागि यी दुवै देश भविष्यसम्म मिलेर काम गर्ने सम्भावना छ।
अमेरिकाले यदि युरोपलाई एकआपसमा लडाउन खोज्यो भने ठूला चुनौतीहरूको एकैसाथ सामना गर्नु पर्ने छ। युरोपमा युक्रेन,पुर्वमा ताइवान र एसियामा दक्षिण चीन सागरका अमेरिकासंग एकैसाथ उभिएका प्रमुख चुनौतिहरु हुन्। यो सबैलाई थाह भएकै कुरा होकी अमेरिकी साम्राज्यबादको लागि एकातिर युरोपमा रुस चुनौती बनेर उभिएको छ भने एसियामा चीनबाट चुनौती छ । त्यसमा फ्रान्स र जर्मनले अमेरिकालाई सामरिक सहयोग नगर्ने सम्भावना अझै बढेर जाने देखिन्छ । यदि यी दुई देशले अमेरिकालाई सहयोग गरेनन भने उत्तरी एटलान्टिक सैनिक संगठनमा त्यसको गम्भीर असर पर्ने कुरालाई इन्कार गर्न सकिन्न।
तथ्यहरुले यो बताउँछन कि विश्वमा सैनिक सामर्थ्य र आर्थिक सामर्थ्यको हिसावले शक्ति केन्द्रका टेक्टोनिक प्लेटहरू चीन र रुसतर्फ सर्दैछन्। अमेरिकी थिङ्क ट्यांकहरुको त्यहि विश्लेषणबाट डराइ रहेको अमेरिकाले संसारभर अझै आफ्नो प्रभुत्व कायम राख्न विनाशकारी विश्वयुद्धको जोखिम उठाइरहेको हो। पहिलो र दोश्रो विश्व युद्ध, त्यसपछिको अबस्थालाई हेर्दा अमेरिकाले युरोपलाई सदैव शीर्ष प्राथमिकतामा राख्दै आएको छ। किनकि युरोप पुँजीवादको जन्म स्थल मात्रै नभएर आधुनिक साम्राज्यबादी सांस्कृतिक केन्द्र पनि हो। त्यसैकारण विश्वमा पश्चिमी प्रभुत्व कायम राख्न अमेरिका र युरोपको बलियो गठबन्धन हुनु पहिलो सर्त मानिदै आएको छ । यहि प्रभुत्वको लडाईमा दुई ठुला महायुद्ध बिशेष गरि युरोपबाट भएका थिए । हालका घटनाक्रमहरुलाई हेर्दा यदि तेस्रो विश्वयुद्ध भयो भने त्यो पनि युरोप बाट सुरु हुने सम्भावनालाई इन्कार गर्न सकिदैन। हालसालै युक्रेनमा देखिएको तनावले फायर खोल्यो भने त्यसले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्छ। तर जर्मन,फ्रान्स र युक्रेनसमेतको बिबेकसिल पहलकदमीले अमेरिकाको चाहनामा लाद्न खोजिएको यो युद्ध रोकिने सम्भावना पनि त्यतिकै छ। त्यसको संकेत स्वरुप रसियाले आफ्ना सेना स्थाई क्याम्पमा फर्काउन शुरु गरिसकेका समाचारहरु बाहिर आएका छन।
जर्मन तथा फ्रान्सका आर्थिक सामरिक गतिबिधि,रणनैतिक स्थिरताको लागि युरोपियन युनियनको आफ्नै सैनिक संरचना निर्माण र विश्व सान्तिको लागि भूमिकाले यसलाई विश्व सक्ति केन्द्रको रुपमा स्थापित गर्ने निश्चित छ। युरोपको एउटा शक्ति सक्ति केन्द्र रुसको पक्षमा सर्दै गएको र युरोपेली सहयोगीहरूसँग अमेरिकाको सम्बन्धमा दरार र ट्रान्स एट्लान्टिक खाडल फराकिलो हुँदै गएको अमेरिकाले समेत महसुस गरेको देखिन्छ। उसको एकल बर्चस्वको गुम्ने खतराले अमेरिका आँफै तर्सिरहेको कुरा अफगानको सामरिक घाटा,युएइ लगायत मध्यपुर्वसंगको खराव सम्बन्ध र युक्रेन क्राइसिसमा समेत देखियो।
विश्वमा अमेरिकाको गठबन्धन अब नाटोबाट खस्कँदै एङ्ग्लो-स्याक्सन तथा औकुश गठबन्धनमा संकुचित हुँदैछ। युरोपमा अमेरिकाको एउटा मात्र भरपर्दो सहयोगी छ र त्यो हो इङ्ल्यान्ड । फ्रान्सले अब युरोपमा कसैको बर्चस्वको अधिनस्त हुने कुरालाई अस्विकार गरिरहेको छ। त्यस्तै जर्मनीले रुस विरोधी अभियानमा अमेरिकालाई उत्साहपूर्वक समर्थन गरेको देखिँदैन। उसले रुसबाट ग्याँस ल्याउनु,अन्य व्यापारिक सम्झौता गर्नु आफ्नो अधिकार भएको कुरा बारम्बार बताइरहेको छ।
फ्रान्स र जर्मनको सक्रियतालाई कसरि बुझ्ने ?
रुस युक्रेन क्राइसिसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन मस्को र किभमा पुगेर आफ्ना कुराहरु निर्धक्क राखे। उनले रुसको अमेरिकी नीतिसँग आँफु पूर्णतया सहमत नभएको स्पष्ट पारे। उनले भनेका छन्,’सबै देशका आफ्ना सुरक्षा चासोहरू हुन्छन। रुसको पनि आफ्नो सुरक्षा चासो हुनु स्वाभाविक कुरा हो र रुसको चासोलाई सम्मान गर्नुपर्छ भन्ने पनि लाग्छ।’ इमानुएल म्याक्रोनको मस्को र किभ मिशनले कूटनीतिक समाधान निम्त्याउने हो कि भनेर हेर्न बाँकी छ।
त्यस्तै जर्मन चान्सलर ओलाफ स्कोल्ज केहि समय अघि अमेरिकामा पुगेर क्षेत्रीय सान्तिको आफ्नो चासोबारे अभिमत निर्धक्क राखे। अमेरिकाले बन्द गर्न चाहेको नर्ड स्ट्रिम २ पाइपलाइनबारे उनले खासै बोलेनन् । तर युक्रेन वा रुसलाई युद्धको लागि उक्साउन तथा हतियार पठाउन जर्मनले अस्वीकार गरिदियो।
अमेरिकाले नाटो र पश्चिमी गठबन्धनलाई आफ्नो अधिपत्यमा राख्नका लागि बिशेष दवाव सृजना गर्नु पर्ने बाध्यता हुन सक्छ । अमेरिकाले रुस विरोधी उन्माद फैलाउनुको एउटा कारण त्यहि बाध्यता हो ।
अमेरिकाले युक्रेनलाई आफ्नै एजेन्डामा प्रयोग गर्न खोजिरहेको छ। त्यो एजेण्डा भनेको युरोपमा युद्धको सुरुवात हो। युद्धमा होमिएपछि रुस संगै जर्मन र फ्रान्स पनि कमजोर हुन्छन र आफ्नो ससर्त अधिपत्यलाई स्विकार्न बाध्य हुन्छन भन्ने अमेरिकाको अनुमान छ। त्यहि कारण युरोपमा उसले युद्धको लागि आगो सल्काउन युक्रेनलाई उचाल्दै छ। युक्रेनले आफ्ना जनतालाई बेकारमा नतर्साउन आग्रह गर्दापनि युक्रेन भन्दा पनि ठूलो स्वरमा अमेरिकाले युद्धको प्रोपागाण्डा गरिरहेको छ। यदि युरोपमा युद्ध सुरु भयो भने नाटो र यसका पश्चिमी सहयोगीहरू युद्धमा होमिने अमेरिकाको आँकलन छ । यसो भयो भने इराक र लिबियालाई हराएजस्तै रुसलाई पनि हराउन सकिन्छ भन्ने अमेरिकालाई पनि लागेको छ ।तर उसले सोचे जस्तो हुने वाला छैन।
अमेरिकाले आँफुलाई औकात भन्दा बढी मूल्याङ्कन गरिरहेको र रुसलाई कम आँकलन गरिरहेको फ्रान्स र जर्मनको बुझाई छ। युद्ध विश्लेषकहरुको एक अनुमान अनुसार’यदि युक्रेनमा युद्ध सुरु भयो भने, रसिया विजयी हुने सम्भावना बढी छ। उसले जित्ने सम्भावनाका कारणहरु हार्ने कारण भन्दा बलिया छन् । भौगोलिक हिसाबले रुस युक्रेनको छेउमा छ भने अमेरिका धेरै टाढा छ । रुस मानव शक्तिका साथै आणविक शक्तिमा संसारमै अगाडी छ । रुसी सेना अमेरिकी र पश्चिमी सेनाको तुलनामा धेरै अनुशासित र संगठित छ। पहिलो र दोश्रो विश्वयुद्ध बिजेता रसियन सैनिक र जनताको मनोविज्ञान देशभक्तिले ओतप्रोत छ। पूर्वी युक्रेनका धेरैजसो रुसी भाषा बोल्छन् र युक्रेनमा बस्ने प्राय सबै रुसीहरुले रुसलाई सहयोग गर्ने देखिन्छ।रूसी सैनिकहरू आफ्नो देश र यसको सम्मानको रक्षार्थ उच्च मनोबलका साथ लड्ने छन् भने अफगानस्थानबाट मध्यरातमा भागेको अमेरिकाको मनोबल उच्च छैन । अमेरिकी र अन्य पश्चिमी सैनिकहरू लडाईको उद्धेश्य प्रति प्रष्ट छैनन् त्यसमा पनि फ्रान्स र जर्मनले यो युद्धमा भाग लिन आनाकानी गर्ने छन् । ‘
त्यस्तै अर्को तर्कले के भन्छ भने,रुस र युरोपियनहरुको युद्ध हुने सम्भावना तत्काल देखिदैन। यदि भैहाल्यो भने रुस र चीनबीच निकै घनिष्ट सम्बन्ध छ र चीनले रुसलाई हरसम्भव सहयोग गर्ने गर्नेछ। रुसलाई अमेरिकाको अलाइन्सले आक्रमण गरिहाल्यो भने त्यहि समयमा चीनले एसियामा युद्धको अर्को मोर्चा खोल्न सक्ने सम्भावना उत्तिकै छ । चीनले एकै पटक ताइवान, दक्षिण चीन सागर र उत्तर कोरियाले जापान तथा दक्षिण कोरियामा न्युक्लियर वार गर्न सक्छ। मध्येपुर्वमा इजरायलमाथि पनि आक्रमण हुन् सक्छ। अत अमेरिकाले एकै समयमा तीन वा त्यो भन्दा बढी मोर्चामा लड्नु पर्ने हुन सक्छ। इरानले मध्यपूर्वमा अमेरिकी सहयोगीहरूसँग युद्ध सुरु गर्न सक्छ। टर्कीको पनि आफ्नो हराएको साम्राज्य पुनर्जीवित गर्ने चाहना जाग्न सक्छ। त्यसपछि हुने क्षतिको परिणामबारे कसैले आंकलन गर्न सक्दैन।
अमेरिकाले एसियालाई समेत अस्थिर बनाउदै :
अमेरिकाले गिजोलिरहेको अर्को क्षेत्र इण्डोप्यासिफिक हो। त्यसमा मुख्य गरि महासक्तिको रुपमा उदाउदै गरेको चीन अमेरिकी रणनीतिको रुपमा बाधक देखिएको छ। चीन अहिले जबर्जस्त विश्व सक्तिको रुपमा आइरहेको बर्तमान अबस्थामा अमेरिकाले चीनसंग विभिन्न क्षेत्रमा निहुँ खोजि रहेको छ।
त्यहि शिलशिलामा भर्खरै मात्र बाइडेन प्रसासनले रुस र चीनसंग युद्धको तयारीको लागि अमेरिकाले नयाँ हिन्द प्रसान्त रणनीति २०२२ सार्वजनिक गरेको छ। अमेरिका र हिन्द प्रसान्त क्षेत्रका साझेदारहरु बीच सामुहिक क्षमता बिकास गर्ने र जुन सुकै हालतमा पनि चीनको व्यापारिक वा सामरिक बिकासलाई नियन्त्रण गर्ने बहानामा अमेरिकाले यो नीति ल्याएको हो। युरोपमा युद्ध भड्काएर अमेरिकी नियन्त्रण कायम राख्ने योजनामा रुस बाहेक फ्रान्स र जर्मन समेत बाधक हुने अबस्था आएपछि अमेरिकाको ध्यान इन्डोप्यासिफिकतिर मोडिएको हो। एसियामा मुख्य गरेर चीनको बिरुद्ध रक्षा साझेदार बनाएर भारत भिडाउने अमेरिकी योजना रहेको हिन्द प्रसान्त रणनीतिले छर्लंग पारेको छ।
चीनले आफ्ना छिमेकी वा साझेदारहरुसंग आर्थिक सहयोग र ब्याबसायिक साझेदारी गरिरहँदा अमेरिकाले इण्डोप्यासिफिक क्षेत्रमा चीनको त्रास देखाएर अमेरिकी सैनिक बिस्तार,पिसकोर मार्फत आफ्नो जासुसी संजालमा व्यापकता र हतियारको ब्यापार गर्ने नीति अगाडी बढाएको देखिन्छ। उसले हिन्द प्रसान्त क्षेत्रमा चीन घेर्ने नीतिलाई एक नम्मर प्रार्थमिकतामा राख्दै साझेदार देशमा रक्षा उद्योगको लागि समेत पहल गर्ने नीति लिएको छ। अहिलेको नयाँ रणनीति अन्तरगत सैन्य कारवाही र बिरोधि देशसंग मुठभेडको लागि सैन्य उपकरण उपलब्ध गराउने भनिएकोले अबका दिनमा अमेरिका एसियामा पूर्ण रुपले केन्द्रित हुने देखिएको छ। त्यसको लागि अमेरिकाले २०२० डिसेम्बरमा जापानलाई २३. १ अर्व डलर बराबरको लडाकु बिमान सहित हतियार बेचेको छ भने उसले ईण्डोनेसियालाई २ अर्व डलरमा ८ वटा लडाकु बिमान,इण्डोनेशियालाई १४ अर्व डलरका २६ वटा लडाकु बिमान,फिलिपिन्स र ताइवानलाई समेत अरबौँ डलरको भाईपर अट्याक्ट लडाकु हेलिकप्टर लगायत बिध्वन्सक हतियारहरु बेचिसकेको छ ।अन्य देशसंग समेत हतियार किन्न प्रस्ताव गरिरहेको छ।
यसले के देखाउछ भने अमेरिकाले पूर्वी एसियामा समेत भारत लगायतलाई उक्साएर चीन बिरुद्ध युद्धमा उचाल्दै छ।
अन्त्यमा,एसियामा अमेरिकाले चीन बिरुद्ध युद्धको लागि भारतलाई उक्साईरहेको छ। भारत अमेरिकाको स्वार्थको लागि प्रयोग हुनु दक्षिण एसियाकै लागि घातक हुन सक्छ। त्यसैले एसियामा सुरु हुने युद्धको सम्भावनाबारे भारतले गहिरो रूपमा सोच्नुपर्छ। यदि ताइवान वा दक्षिण चीन सागरमा युद्ध सुरु भयो भने अमेरिकाले सीधै चीनसँग भिड्नु पर्ने अबस्था आउन सक्छ । यसमा भारत जोगिनु नै श्रेयष्कर देखिन्छ। यदि भारत चीन बिरुद्ध गयो भने पाकिस्तान चुप लागेर बस्दैन। पाकिस्तान पनि युद्धमा सामेल हुने र भारतले दुई मोर्चामा चीन र पाकिस्तानसंग एकै पटक लड्नु पर्ने बाध्यता आइलाग्ने छ । यसले भारतलाई अकल्पनीय क्षति हुने छ। भारतले यो बुझ्नु जरुरि छकि अमेरिकाले भारत चीनसँग युद्ध गरेको हेर्न मात्र चाहन्छ,ऊ आँफै एङ्गेज हुन सक्ने सम्भावना ज्यादै कम देखिन्छ। भविष्यका दुवै महासक्तिलाई सम्भावनाको बाटोबाट हटाउन चीन भारत दुबैको बर्वादी चाहनु अमेरिकाको भित्रि रणनीति हुन सक्ने कुरामा भारत र चीनले हेक्का राख्नु जरुरि छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij