बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

१० खेलाडीमा सिमित मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

बुधबार, माघ १२ २०७८

पोखरा -पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।पोखरा रंगशालामा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे ।मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए ।खेलको २५ औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । उनले मणि लामाको फ्रि-किकमा हेडरमार्फत गोल गरेका हुन् ।तर, खेलको ४० औं मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई १-१ को बराबरीमा ल्याएका थिए । उनले कप्तान रंजित धिमालको फ्रि-किकमा हेडरमार्फत गोल गरेका हुन् ।खेलको ६९ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले उत्कृष्ट गोल गरे ।यस्तै खेलको ७१ औं मिनेटमा करिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए । आवाश लामिछानेले प्रहार गरेको बल मछिन्द्रका गोलकिपर सुर्य अधिकारीले बचाएपछि प्राप्त रिबाउन्डमा उनले सहजै गोल गरेका हुन् ।एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो । यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो ।अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार