आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रदेशमा सत्ता समीकरण फेरबदल तीब्र

प्रदेश नं १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा, राईद्वारा प्रदेश १ को मुख्यमन्त्रीको दाबी पेश, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा राजीनामा, सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एस) को दाबी

मंगलबार, कार्तिक १६ २०७८

काठमाडौं । केन्द्रीय सरकारमा सत्ता समीकरण फेरबदलसँगै प्रदेशको राजनीतिमा पनि उथलपुथल आएको छ । सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकपा एमालेमा आएको फुटसँगै प्रदेशको सत्ता समीकरणमा तीब्र फेरबद आएको छ । पछिल्लो समय सत्ताबाट प्रमुख प्रतिपक्ष बनेको नेकपा एमालले आफ्नो नेतृत्वका गण्डकी, लुम्बिनी प्रदेश, वागमती प्रदेश हुँदै सोमबारबाट प्रदेश नम्बर १ पनि गुमाएको छ ।
मुख्यमन्त्री आचार्यद्वारा राजीनामा
प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् । प्रदेश नं १ को प्रदेशसभाको सोमबारको बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिएका थिए । प्रदेशसभाको हिउँदे तथा आठौँ अधिवेशनको सोमबार बसेको बैठकमा प्रदेशसभामा नेकपा एमालेतर्फका सांसदको बहुमत नरहेका कारण राजीनामाको घोषणा गरेका थिए । मुख्यमन्त्री आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।
मुख्यमन्त्री आचार्यले सोमबारको बैठकमा विश्वासको मत लिन यसअघि नै प्रस्ताव पेश गरेका थिए । उनको पक्षमा बहुमत नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुगेका थिए । सोमबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुको विकल्प नभएको बताए । हालै लोकतन्त्र र संविधानका लागि सङ्घर्ष गरेर आएका दलहरूले यसको रक्षाका निम्ति पनि एकजुट हुनुको विकल्प नरहेको भन्दै आफ्नो नेतृत्वको सरकारले छोटो समयमा पनि रचनात्मक कार्य गरेको बताए । त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक कात्तिक २३ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।
राईद्वारा प्रदेश १ को मुख्यमन्त्रीको दाबी पेश
प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी नेता राईले सोमबार आफ्नो दाबि पेश गरेका हुन् । यसअघि सोमबारै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । यसअघि मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
उनले सोमबार नै प्रदेश प्रमुख प्यासीसमक्ष लिखित राजीनामा बुझाएका थिए । ९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठनबन्धनमा ५० सांसद रहेका छन् । जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कुनै पक्षमा देखिएका छैनन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा राजीनामा
गत बैशाखमा माओवादी र कांग्रेसबीच ६ महिनामा सत्ता हस्तान्तरण गर्ने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् । मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलन गरेर राजीनामा गरेको घोषणा गरेका छन् । शाहीले गठबन्धनमा रहेको काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन आफुहरुको सहयोग हुने स्पष्ट गरेका छन् ।
शाहीलाई राजीनामा दिन नेपाली काँग्रेसले निरन्तर दबाब दिएको थियो । मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिए पछि काँग्रेसले सहजरुपमा सत्ता हस्तान्तरण नगरे सर्मथन फिर्ता लिने चेतावनी दिएपछि उनले राजीनामा दिएका हुन् । केन्द्रमा रहेको गठबन्धनका आधारमा मुख्यमन्त्री माओवादीले नै पाउने भनेर माग गरे पनि केन्द्रभन्दा यहाँको सहमति ठूलो भएको भन्दै काँग्रेस नेता जीवनबहादुर शाहीले तत्काल राजीनामा दिन माग गर्दै आएका थिए ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एस) को दाबी
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेको छ । सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम इञ्चार्ज गरिमा शाहले प्रदेशसभाको सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व पाउनुपर्ने बताइन् । नेकपा एकीकृत समाजवादीको कात्ति १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै उनले ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने आफूहरूले पाउनु पर्ने बताइन् ।
नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो । यता कात्तिक १० गते वागमती प्रदेशमा नेकपा एमालेको सरकारलाई विस्थापित गर्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनेको छ ।
यस्तै सोमबार प्रदेश–१ मा नेतृत्व गरिरहेको नेकपा एमालेको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । गठबन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि नेकपा एकीकृत समाजवादी पार्टी दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार