आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

विपद्का कारण देशभर ५९ को ज्यान गयो, अझै तीन दिन वर्षा हुने

मंगलबार, असार २९ २०७८

काठमाडौं(जस)–अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । उनीहरु सिन्धुपाल्चोक र तनहुँका पाँच÷पाँच, डोटी, पाल्पा र गोरखाका चार÷चार, रोल्पा, दाङ, दार्चुलाका तीन÷तीन, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानका दुई÷दुई र ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एक÷एकजना छन् ।
पछिल्लो २४ घण्टामा खोटाङ र सिन्धुलीमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । अन्य २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, तीन बालक र एकजना बालिका रहेका छन् ।
बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । बाढीका कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन् । कूल ५८३ घर, १०७ गोठ, ४३ पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा ६०० विपद्का घटनाबाट एक हजार १७६ परिवारका पाँच हजार ४९५ मानिस विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ मानिएपनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार