भक्तपुर / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेको बताउनुभएको छ । भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगार कार्यक्रमले गरिबी, अभाव र बेरोजगारीबाट पिल्सिएका युवालाई राहत दिने बताउनुभयो ।
चालू आर्थिक वर्षमा आंशिक रुपमा रोजगार कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको स्पष्ट पार्नुभयो ।
सरकारले चालु आवका लागि एक महिनाका लागि लागि रोजगारी उपलब्ध गराएको भए पनि आगामी वर्षदेखि दीर्घकालीन बनाइने बताउनुभयो । आगामी वर्ष पाँच लाख युवालाई रोजगारीको सुनिश्चितता गर्खै नेपाललाई क्रमशः रोजगारी भएको देशका रुपमा परिचित गराउने बताउनुभयो ।
बेरोजगार युवालाई कामसँग जोड्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै मन्त्री विष्टले नेपालमै बसेर आफ्नो पौरखले आत्मनिर्भर गराउने गरी सरकारले काम अघि बढाएको बताउनुभयो ।
कामप्रति सम्मान जगाउने भावनाको विकास गर्न रोजगार कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कामबाट नै देश परिवर्तन सम्भव छ भन्ने प्रमाणीत गर्ने बताउँदै मन्त्री विष्टले आगामी वर्ष अझ बढी रोजगारीको व्यवस्था गर्ने, युवाको योग्यता क्षमता अनुसार रोजगारीको व्यवस्था गर्ने बताउनुभयो ।
रोजगार कार्यक्रमअन्तर्गत भक्तपुरका चारै नगरपालिकाका करीब ७५० बेरोजगार युवाले रोजगारी पाएका छन् । भक्तपुरमा करीब एक हजार ५०० युवाले बेरोजगारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्ट, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त युवाले आजै सडक खनेर कामको शुरुआत गरेका छन् ।