बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

रौतहटमा हतियारधारी समुहको आक्रमणले एक जनाको मृत्यु,एकको अवस्था गम्भीर

शनिबार, असोज १० २०७७

आरएन पटेल
रौतहट । रौतहटमा बिगतका दिनहरुमा भईरहेका हिंसात्मक घटनाहरु अझै रोकिएको छैन । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियामा एक दम्पतिमाथी गएराती आक्रमण भएको छ । टिकुलिया निवासी महेश तिवारी र उनको श्रीमतीमाथी चार जनाका समुहमा आएका हतियारधारी समुहले खुकुरी र खुडाले आक्रमण गर्दा महेश तिवारीका पत्नी जगरामी देवि तिवारीको मृत्यु भएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका महेश तिवारीको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको र अवस्था नाजुक भएपछि काठमाडौं पठाउने तयारी भईरहेको पारिवारिक श्रोतले जनाएको हो । तिवारीको अवस्था अहिले गम्भीर रहेको बताइएको छ । हिजो शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलि मुखिया सहित ४ जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।

प्रजित र सोनालाल दाजुभाई हुन । घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको र बाँकी लाई खोजि कार्य भईरहेको देवाहीगोनाहीका ईन्सपेक्टर मेदनी साहले जानकारी गराउनु भयो । पक्राउ पर्नेहरूमा बलि मुखिया , अच्छेलाल मुखिया , मकिन्दर मुखिया रहेको प्रहरीले जनाएको हो । साँझ ९ बजेको समयमा गाउँमा गफ गरेर बसिरहेको अबस्थामा खुकुरी साथमा आएका समूहले महेशलाई मार्ने धम्की दिएको स्रोतले जनाएको छ । ज्यान मार्ने धम्की दिएका आक्रमणकारी समूह गाउँको दक्षिणतिर गएका थिए ।

सो जानकारी महेशले ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा फोन गरेर दिनु भएको थियो तर घटना स्थलमा प्रहरी पुगेको थिएन। आक्रमणकारीले धम्की दिएर गएको आधा घण्टापछि सो समूह फर्केर महेश दम्पतीमाथि आक्रमणमा गरेका थिए । श्रीमान महेशलाई बचाउन खोज्दा जगरामी देवीको हत्या भएको हो । उहाँको टाउको र घाँटीमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि आक्रमणकारी भागेका थिए ।

स्मरणीय होस् गत असाढ महिनामा मुखिया परिवार र दुबे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुबेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । सोही कारणले हत्या भएको हुन सक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहले बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार