काठमाडौँ । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको अभियानमा ५ करोड ७५ लाख ५१ रुपैयाँ २८ पैसा संकलन भएको छ। अभियानको २६औँ दिनसम्म कुल ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा सहयोगको प्रतिबद्धता प्राप्त भएको एनआरएनएले जनाएको छ।
प
यसअघि नै एनआरएनएले १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पनि जम्मा गरिसकेको छ ।
यसैगरी एनआरएनएले भोटेकोशी बाढी प्रभावितका लागि राहत तथा मानवीय सहयोग अभियानलाई निरन्तरता दिँदै विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा सरकारसँग सहकार्यका लागि छलफलसमेत अघि बढाएको छ।
एनआरएनए पदाधिकारीको टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती, सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग छुट्टाछुट्टै भेट गरी विपद् प्रभावित परिवार तथा समुदायको दीर्घकालीन पुनर्स्थापना र सुरक्षित पुनर्निर्माणबारे छलफल गरेको हो।
छलफलमा प्रभावित समुदायको जीविकोपार्जन, महिला तथा बालबालिकाका लागि लक्षित कार्यक्रम र प्रभावकारी सूचना प्रवाहका विषयमा समेत छलफल भएको एनआरएनएले जनाएको छ। विश्वभर रहेका नेपालीको ज्ञान, सीप, प्रविधि तथा स्रोतलाई सरकारसँगको समन्वयमा पुनर्स्थापना र पुनर्निर्माणमा परिचालन गर्ने प्रतिबद्धता एनआरएनएले जनाएको छ।
प्रभावित क्षेत्रमा वास्तविक आवश्यकता पहिचान गरी दोहोरोपन नहुने गरी समन्वित र पारदर्शी रूपमा सहयोग परिचालन गर्ने विषयमा पनि जोड दिइएको छ। सरकार र एनआरएनएबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गरी आगामी दिनमा ठोस कार्ययोजनासहित अघि बढ्ने तथा आवश्यकताअनुसार समझदारीपत्र (एमओयू) मार्फत सहकार्यलाई संस्थागत गर्ने विषयमा समेत छलफल भएको छ।
यसैबीच एनआरएनएले रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग पनि भेट गरी बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा छलफल गरेको छ।
एनआरएनए सचिवालयमा भएको भेटमा अध्यक्ष अर्यालले प्रभावित क्षेत्रको आवश्यकता र पुनर्स्थापनाका प्राथमिकताबारे जानकारी गराउँदै तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग तथा समन्वय आवश्यक रहेको बताए।
छलफलमा प्रभावित क्षेत्रमा विभिन्न क्षेत्रका विशेषज्ञ जनशक्तिको आवश्यकता रहेको विषयमा पनि जोड दिइएको थियो। एनआरएनएले डायस्पोरामा रहेका इन्जिनियर, चिकित्सक, प्राविधिक तथा अन्य विषयका विज्ञको ज्ञान, सीप र अनुभव आवश्यकताअनुसार परिचालन गर्न सकिने जनाएको छ।
एनआरएनएले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार हालसम्म सबैभन्दा बढी सहयोग बेलायतबाट प्राप्त भएको छ। बेलायतबाट पहिलो चरणमा ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा प्राप्त भएको छ। अस्ट्रेलियाबाट ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा, बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ र न्युजिल्यान्डबाट २१ लाख ५२ हजार ८९९ रुपैयाँ ७३ पैसा प्राप्त भएको छ।
त्यस्तै, स्विडेनबाट १८ लाख ३१ हजार ५३५ रुपैयाँ, नर्वेबाट १७ लाख ८९ हजार ८४२ रुपैयाँ ९६ पैसा, ओमानबाट १३ लाख १५ हजार रुपैयाँ र दक्षिण कोरियाबाट ११ लाख १० हजार ८१२ रुपैयाँ सहयोग प्राप्त भएको छ।
स्टिचिङ नेपाल फन्ड नेदरल्यान्ड्सबाट १० लाख ५५ हजार १९३ रुपैयाँ ६० पैसा, लग्जम्बर्गबाट १० लाख ४६ हजार ५४८ रुपैयाँ ८६ पैसा, साउदी अरेबियाबाट १० लाख रुपैयाँ, टर्कीबाट ७ लाख ५० हजार ३३७ रुपैयाँ, म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ, इजरायलबाट ५ लाख ४ हजार ३८५ रुपैयाँ र नेदरल्यान्ड्सबाट ५ लाख रुपैयाँ प्राप्त भएको एनआरएनएले जनाएको छ।
एनआरएनएले राहत अभियानलाई तत्कालीन उद्धार तथा राहतमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित पुनर्निर्माण र जीविकोपार्जनसँग जोडेर अघि बढाउने जनाएको छ।