काठमाडौँ (जस)– राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय उपाध्यक्ष रमेश दुलाल कागेको “रमेश दुलाल मनोरञ्जन साझ २०७६” कार्यक्रम जेष्ठ ६ गते राष्ट्रिय नाचघर जमलमा सफलतापूर्वक सम्पन्न भएको छ । स्मृति म्युजिक प्रालिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गीत, सङ्गीत र संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्ने खनालले बताए । ‘नेपालको गीत सङ्गीत क्षेत्रमा भएका वभिन्न विसङ्गतिहरूलाई समेत हटाउनुपर्ने जिम्मेवारी हाम्रै काँधमा भएकोले यस्ता साङ्गीतिक कार्यक्रमहरूको आयोजना भई रहनु पर्दछ’, खनालले भने ।

साथै, उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । विभिन्न कलाकार, व्यावसायी तथा समाजसेवीहरुलाई सम्मान गरिएको कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । राज्यको चौथो अङ्ग पत्रकारितामार्फत नेपाली समाजमा मौलिक गीतसङ्गीतको प्रचारप्रसार तथा नेपालका सम्पूर्ण कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउनको निमित्त अतुलनीय योगदान पु¥याएको भन्दै सम्पादक बगालेलाई विशेष सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा सम्मानित हुनेहरुमा– समाजसेवी नारायण सापकोटा, समाजसेवी केपी खनाल, चर्चित निर्देशक शंकर वि.सि, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समिति अध्यक्ष पिएन सापकोटा, गायिका निरु पराजुली, नृत्याङ्गना प्रियंका नेपाली, डि डि सेक्युरिटि सर्भिसका सागर कुमार कार्की, गायक रंजित परियार, गायिका पुजा पुरी, गायिका कालिका रोका, व्यावसायी सेखर बस्नेत, गायक सरोज लामिछाने रहेका थिए ।

कार्यक्रमका आयोजक रमेश दुलाल कागेले कलाकारहरुको हक हितको लागि आफु सधै समर्पित भएको बताउदै कार्यक्रममा सम्मानित हुने लगायत अन्य सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले भने–‘मेरो सारा जीवन नै गीत सङ्गीतको लागि हो । मेरो जीवनभर म नेपाली लोक गीत सङ्गीत र संस्कृतिको जगेर्नामै समर्पित रहनेछु ।’ कार्यक्रममा स्वागत भाषण गर्दै नारायण सापकोटाले कलाकारको हक हितका लागि नेपाल पुलिस प्रशासनले गरेको अभियानको सराहना गर्दै कलाकार देशको एउटा सास्कृतिक अंग भएको बताए ।

कार्यक्रमका सभापति प्रकाश कटुवालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको प्रायोजक हिमालयन रेष्टुरेन्ट प्रा.लि. थियो भने, सह प्रायोजक डि.डि सेक्युरिटी सर्भिस प्रा.लि र लिटिल बुद्ध रेष्टुरेन्ट थिए । उक्त कार्यक्रमको मिडिया पार्टनर जनसवाल राष्ट्रिय दैनिक रहेको थियो । कार्यक्रममा कलाकारहरु तथा गायिका आशा लामा, गायक सरोज लामिछाने, गायिका पुजा पुरी, गायिका कालिका रोका, गायक प्रकाश कटवाल, डान्सर प्रिती तामाङ,कलाकार रमेस दुलाल कागेलगायतले विशेष प्रस्तुति दिए । यस्तै कार्यक्रममा पञ्चेबाजा, माझी नृत्य, नेवारको लाखे नृत्यलगायत रमेश दुलाल कागेले पनि आफ्नो विशेष प्रस्तुति देखाएका थिए । कार्यक्रम उदघोषिका शोभा त्रिपाठीले अत्यन्त रोमाञ्चक पाराले कार्यक्रम संचालन गरेकी थिईन, कार्यक्रममा शोभा त्रिपाठीलाई पनि सम्मान गरिएको थियो ।





















