बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

देशभर सक्रिय संक्रमितको संख्या बढ्यो, सरकारको मात्रै स्रोत र साधनले नपुग्न सक्छ : स्वास्थ्य मन्त्रालय

मंगलबार, भाद्र १६ २०७७

काठमाडौँ(जस)–देशभरमा सोमबार कोभिड–१९ सक्रिय संक्रमितको संख्या आइतबारभन्दा तीन सय चार बढेको छ । सोमबार देशभरमा ८९९ जना संक्रमित थपिँदा ५८८ संक्रमणमुक्त भएकाले सक्रिय संक्रमितको संख्या केही बढेको हो । काठमाडौँ उपत्यकामा २९८ सहित देशभरमा ८९९ नयाँ संक्रमित थपिएका छन् । सोमबार थपिएका संक्रमितमध्ये ५९६ पुरुष र ३०३ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरका ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार १२९ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ९३ हजार ४७२ नमूना परीक्षण भइसकेको छ । देशभरमा पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० रहेको छ । यो जम्मा संक्रमितमध्ये ५४ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको संख्या सात हजार ३३७ रहेको छ । देशभर जम्मा १७ हजार ८२२ सक्रिय संक्रमितमध्ये १० हजार ७०१ संस्थागत आइसोलेशन र सात हजार १२१ होम आइसोलेशनमा छन् । प्रदेशअनुसार, संस्थागत आइसोलेशनमा सक्रिय संक्रमित प्रदेश १ मा एक हजार २८७, प्रदेश २ मा दुई हजार ६२, वाग्मती प्रदेशमा चार हजार ४०८, गण्डकी प्रदेशमा ५३०, प्रदेश ५ मा एक हजार १७३, कर्णाली प्रदेशमा ३९६ र सुदूरपश्चिम प्रदेशमा ८४५ छन् । होम आइसोलेशनमा प्रदेश १ मा ५१०, प्रदेश २ मा चार हजार ५५, वाग्मती प्रदेशमा दुई हजार ४२, प्रदेश ४ मा १८, प्रदेश ५ मा ३५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १२० छन् ।
देशभरमा गरी १३२ संक्रमित सघन उपचार कक्षमा रहेका छन् । प्रदेश १ मा चार, प्रदेश २ मा ३८, वाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना सघन उपचार कक्षमा रहेका छन् । प्रदेश १ मा एक, वाग्मती प्रदेशमा १३ र प्रदेश ५ मा दुई गरी १६ संक्रमित भेण्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशरभका ४६ जिल्लामा नयाँ संक्रमित भेटिएका छन् । प्रदेश १ मा ओखलढुङ्गा एक, खोटाङमा एक, झापा पाँच, मोरङ १९, सङ्खुवासभा नौ र सुनसरी ५३ रहेका छन् छ । प्रदेश २ मा धनुषामा ३१, पर्सा ३४, बारा २३, महोत्तरी छ,, रौतहट एक, सप्तरी २२, सर्लाही १०३ र सिराहा पाँच छन् । त्यस्तै, वाग्मती प्रदेशमा काठमाडौँमा १९०, ललितपुर ६७, भक्तपुर ४१, काभ्रेपलाञ्चोक १३, चितवन ७१, दोलखा दुई, धादिङ एक, मकवानपुर ४२, रामेछाप दुई, सिन्धुपाल्चोक एक र सिन्धुली तीन संक्रमित पुष्टि भएको छ ।
प्रदेश ४ मा कास्की तीन, गोरखा १३, नवलपरासीपूर्व चार, लमजुङ दुई, तनहुँ २६ र वाग्लुङमा चार संक्रमित फेला परेका छन् । प्रदेश ५ मा अर्घाखाँचीमा दुई, कपिलवस्तु एक, नवलपरासी तीन, पाल्पा एक, बर्दिया दुई, बाँके १४ र रुपन्देही ११ संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जुम्लामा एक र सुर्खेतमा ३८ फेला परेका छन् भने सुदूरपश्चिममा अछाम २३, कञ्चनपुरमा सात, कैलाली १६, डोटी एक, बझाङ एक र बैतडी दुई संक्रमित फेला परेका छन् । सोमबारसम्म देशभरका ७७ जिल्लामध्ये १२ जिल्लामा संक्रमित ५०० बढी छन् भने दुई जिल्लामा शून्य रहेको छ । ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, चितवान, ललितपुर, काठमाडौँ र रुपन्देही रहेका छन् । त्यस्तै, हाल संक्रमितको संख्या शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन् । देशभरमा संक्रमितको संख्या बढीरहेकाले परिवारभित्र यसबाट बच्ने विधि र व्यवस्थापनका विषयमा छलफल गर्न खाँचो रहेको डा गौतमको जोड छ । परिवारमा जो कोहीलाई संक्रमण भएमा उसलाई कहाँ र कसरी अरुबाट छुट्टै राख्ने भनी पूर्वतयारी गर्नुपर्ने उनले बताए । उनले भने, ‘सरकारको मात्रै स्रोत र साधनले नपुग्न सक्छ, त्यसैले पहिले नै परिवार र समुदायले योजना बनाउनुपर्छ ।’
थप सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सात जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २२८ पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । मृत्यु हुनेमा महोतरीकी चार वर्षीय बालिका, गोरखाकी ६२ र रुपन्देहीकी ६८ वर्षीया महिला छन् । त्यस्तै, पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षका छन् ।
कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल सञ्चालन
भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ । सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको उक्त अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो । काठमाडौँ महानगरपालिकाको विशेष पहलमा सरकारले निर्णय गरेपछि उक्त अस्पताल १०० वेड क्षमतासहित सोमबारदेखि सञ्चालनमा आएको काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उक्त अस्पतालमा शुरुको चरणमा ६ जना चिकित्सक र १२ जना नर्सले सेवा दिनेछन् । बिरामीको अवस्था हेरेर स्वास्थ्य जनशक्ति थप गरिने महानगरपालिकाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि उक्त अस्पताल बन्द हुँदै आएको थियो । अस्पताल खुलाउन काठमाडौँ महानगरपालिका–१६ ले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै पत्राचार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार