बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कोरोना महामारीबाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४, टेलिफोन हेल्पलाइन सञ्चालनमा

आइतबार, चैत्र ३० २०७६

काठमाडौं, ३० चैत । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।

स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्तको समितिले जनाएको छ ।

विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा। सापकोटाले जनाए ।

संक्रमित हुनेमा देशमा अमेरिका ५ सय, युके १ सय, स्पेन १८, युएई १०, जर्मनी ४, पोतुगल ८, अष्ट्रेलिया ९, साउदी अरब ४, कुवेत ५, जापान १, मलेसिया १, म्यानरमार १ र हङकंङ १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले एनआरएनएले आइतबारदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौमा रहेको संघको सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने यस हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारीमा रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सघले जनाएको छ ।

बिहान ८ बजेदेखि देखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने संघका प्रवत्ता डिबी क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार