आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षक पुरस्कृत

आइतबार, कार्तिक ८ २०८३

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उहाँको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो।

सानिमदौस्थित सामुदायिक भवनमा आज सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र ७६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको हाे। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक अभावका कारण पढाइमा समस्या भोग्न सक्ने छात्रालाई अध्ययनमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षाविद् गुञ्जबहादुर श्रेष्ठ तथा अतिथिका रूपमा नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष बद्री नयाँघरे सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सभापतित्व श्याम सुवेदी र गीता सुवेदीले गर्नुभएको थियो भने सञ्चालन युवराज सुवेदीले गर्नुभएको थियो। स्वागत मन्तव्य सूर्य सुवेदीले दिनुभएको थियो।

पूर्ण छात्रवृत्तिअन्तर्गत क्याम्पस तहका छात्रालाई जनही १८ हजार रुपैयाँ नगदसहित ट्र्याकसुट, ब्याग तथा कापी–कलम प्रदान गरिएको थियो। विद्यालय तहका पूर्ण छात्रवृत्ति पाउने छात्रालाई जनही १० हजार रुपैयाँ नगदसहित ट्र्याकसुट, ब्याग तथा कापी–कलम उपलब्ध गराइएको थियो।

त्यस्तै, आंशिक छात्रवृत्ति पाउने छात्रालाई ट्र्याकसुट, ब्याग तथा वर्षभरि पुग्ने कापी–कलम प्रदान गरिएको थियो।

यस वर्षको छात्रवृत्ति मन्थली माध्यमिक विद्यालय, भैरवी माध्यमिक विद्यालय सुनारपानी, तामाकोसी क्याम्पस खिम्ती, सेतीदेवी माध्यमिक विद्यालय सालु, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोक, रामेछाप बहुप्राविधिक शिक्षालय मन्थली, सहिद स्मृति क्याम्पस मन्थली र मन्थली स्काउट मन्थलीमा अध्ययनरत छात्रालाई प्रदान गरिएको हो।

छात्राहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रमका लागि यस वर्ष करिब १० लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। श्याम सुवेदी तथा उहाँको परिवारले ११ वर्षदेखि निरन्तर रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको बताइएको छ।

दुई शिक्षक पनि पुरस्कृत

कार्यक्रममा विद्यार्थीलाई शिक्षण–सिकाइमा उत्कृष्ट बनाउन योगदान पुर्‍याएका दुई शिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिएको छ।

आफ्नो विद्यालयमा गणित विषयमा कमजोर रहेका विद्यार्थीलाई उत्कृष्ट अंक ल्याउन सक्ने बनाउन निरन्तर मेहनत गर्दै आउनुभएका खाडादेवी माध्यमिक विद्यालय चोप्राङ, रामेछापका गणित शिक्षक सुबोध यादव र पशुपति माध्यमिक विद्यालय भुलभुलेका अंग्रेजी शिक्षक प्रलाद खत्रीलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

११ वर्षदेखि सञ्चालन हुँदै आएको छात्रवृत्ति कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका छात्रालाई शिक्षामा निरन्तरता दिन सहयोग पुर्‍याउनुका साथै परिवार तथा समाजमा छोरीको शिक्षाप्रतिको सकारात्मक वातावरण निर्माण गर्न योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार