मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३

वाम दलसँग एकताका लागि वार्ता समिति गठन

मंगलबार, असोज ६ २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले वैचारिक, सांगठनिक र कार्यक्रमिक समानता भएका विभिन्न वाम राजनीतिक दल तथा घटकसँग पार्टी एकताका लागि पहल तथा वार्ता गर्न समिति गठन गरेको छ।

पार्टी केन्द्रीय कार्य संयोजन समितिको मंगलबार बसेको बैठकले कार्यसंयोजन समिति सदस्य देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा कार्यसंयोजन समिति सदस्य प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता र सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले पार्टी एकताका लागि समान विचार भएका वाम दल तथा घटकसँग वार्ता अघि बढाउने निर्णय गरेको हो।

बैठकमा संयोजक प्रचण्ड र सहसंयोजक नेपालले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले निर्वाह गर्नुपर्ने कार्यभार तथा पार्टीका पछिल्ला गतिविधिबारे धारणा राखेका थिए। बैठक शहीदहरूप्रति एक मिनेट मौनधारण गरेर सुरु भएको थियो।

पार्टीले महाधिवेशन तथा अधिवेशनको विषयमा भने सचिवालय बैठकले छलफल गरी आवश्यक निर्णय गर्ने जनाएको छ।

त्यस्तै, पार्टी र जनवर्गीय संगठनको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण र संगठन सुदृढीकरणका लागि दुईमहिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। अभियानको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णयसमेत गरेको छ।

बाढी प्रभावित नागरिकलाई सहयोग गर्न पार्टीका तर्फबाट प्रभावकारी पहल गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।
यसैबिच नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमा बढ्दै गएको आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

केन्द्रीय संयोजन समितिको बैठकपछि मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राज्यप्रति नागरिकको विश्वास गुम्दै जाँदा यस्ता गम्भीर घटनाहरू बढिरहेको बताएका हुन्।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘अहिले आत्मदाहका घटना जसरी बढ्दै गएका छन्, यो निकै चिन्ताको विषय भएको छ। राज्यप्रति जनताको र नागरिकको विश्वास हराउँदै गएपछि यसखालका घटनाहरू बढ्दै जान्छन्।’

राज्य संवेदनशील हुन नसक्दा र जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी राम्रोसँग वहन गर्न नसक्दा यस्ता घटना हुने गरेको बताउँदै उनले यस विषयमा सबै गम्भीर हुनुपर्नेमा जोड दिए।

यस्तै, संयुक्त राष्ट्रसंघको महासभा र जलवायु परिवर्तनको प्रसङ्गमा बोल्दै प्रचण्डले नेपालको परिस्थिति र जलवायु परिवर्तनबारे आफूहरूले नै सबैभन्दा पहिला सशक्त रूपमा अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाएको दाबी गरे। सोही क्रममा प्रधानमन्त्री बालेन शाहतर्फ सङ्केत गर्दै उनले भने, ‘म हेर्दै छु, बालेनले कति गर्छन्।’

सञ्चारकर्मीले एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो परेको तर तपाईँलाई सहज भएको हो भनी सोधेको प्रश्नमा प्रचण्डले आफ्नो पार्टीमा कुनै विवाद नरहेको दाबी गरे। उनले भने, ‘हाम्रो बैठकमा एकमत छ। पूरै पार्टी एकदम एकीकृत छ, कुनै समस्या छैन।’

पार्टीको महाधिवेशनबारे सोधिएको प्रश्नमा उनले अहिले नै हुने वा नहुने भन्ने टुङ्गो नलागिसकेको स्पष्ट पारे। ‘हाम्रो पहिलाको सेड्युल कायमै छ। हामी छिट्टै अर्को बैठक बस्छौँ र त्यो बैठकले मात्रै यसबारे टुङ्गो लगाउनेछ,’ उनले भने।

सञ्चारकर्मीले पार्टीको नेतृत्व परिवर्तन गरी विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउने हल्ला बाहिर आएको छ नि भनी प्रश्न गर्दा प्रचण्डले त्यसलाई ठाडै अस्वीकार गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार