काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् ।
सिजन मिडियाले आइतबार आयोजना गरेको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ समारोहमा श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत र सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले संयुक्त रूपमा श्रेष्ठलाई सम्मान गरेका थिए ।
सरकार र निजीक्षेत्रको संयुक्त लगानीमा सञ्चालित साल्ट ट्रेडिङको नेतृत्व गर्दै आएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्ष र नेपाल महिला चेम्बरकी अध्यक्षसमेत हुन् ।
साल्ट ट्रेडिङको नेतृत्वमा रहेर श्रेष्ठले आवश्यक वस्तुको सहज आपूर्ति, बिक्री वितरण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्दै आएकी छन् । विपद् तथा संकटका समयमा समेत आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा साल्ट ट्रेडिङले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
श्रेष्ठ महिला उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा समेत सक्रिय छिन् । नेपाल महिला चेम्बरमार्फत उनले वित्तीय साक्षरता, व्यावसायिक तालिम, उद्यम प्रवर्द्धन तथा महिला र युवा उद्यमी लक्षित विभिन्न कार्यक्रमको नेतृत्व गरेकी छन् ।
उनी युरोपियन इकोनोमिक चेम्बरकी उपाध्यक्ष, इन्टरनेसनल चेम्बर अफ कमर्सकी कार्यकारिणी सदस्य तथा नेपाल–भियतनाम चेम्बर अफ कमर्सकी वरिष्ठ उपाध्यक्षसमेत हुन् ।
व्यावसायिक नेतृत्व तथा महिला उद्यमशीलता प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ ।