काठमाडौं(जस)–नेपाली कांग्रेसले असोज ३ र ४ गतेदेखि सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन हुने तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना हुँदैछ ।
बैठकले महाधिवेशनलाई सांगठनिक प्रक्रिया मात्रै नभई राजनीतिक महाउत्सवका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सबै तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टी सदस्यलाई आग्रह गरेको छ । महाधिवेशन प्रक्रियामा कुनै पनि क्रियाशील सदस्य नछुटून् भन्ने उद्देश्यले सदस्यता अद्यावधिक प्रक्रियामा छुटेका सदस्यलाई समेत सहभागी गराउने निर्णयअनुसार प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ । पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा कानुनबमोजिम पार्टी सदस्य बन्न नमिल्नेबाहेक अन्य क्रियाशील सदस्यलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने निर्णय गरिएको छ ।
बैठकले पार्टीभित्र देखिएका असहमति र चासोलाई संवाद, सहमति र सहकार्यबाट सम्बोधन गर्दै महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैगरी, विशेष महाधिवेशनअघि तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरूलाई विधानबमोजिम १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउन आवश्यक व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले प्रस्तुत गरेको १५ औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली बैठकले स्वीकृत गरेको छ । कांग्रेसले असोज ३ गतेदेखि वडा तहबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई उत्साहपूर्वक सफल बनाउन सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई अपील गरेको छ ।