काठमाडौँ । विदेशमा बस्नुको अर्थ मातृभूमिबाट टाढा हुनु मात्र होइन, दुःख र संकटमा आफ्नो देश र समाजसँगै उभिन सक्नु पनि हो। यही भावनालाई व्यवहारमा उतार्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलक प्रसाद गैरेले हालैको बाढी तथा पहिरोबाट प्रभावित नेपालीको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन्।
नवलपुरको गैंडाकोट घर भएका गैरे विगत २० वर्षदेखि पोर्चुगलमा बस्दै आएका छन्। विदेशमा आफ्नो व्यवसायिक यात्रा अघि बढाउँदै गर्दा पनि उनले नेपाल र नेपालीसँगको सम्बन्धलाई कहिल्यै टुट्न दिएनन्। सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय गैरे हाल पोर्चुगलमा कृषि क्षेत्रमा व्यवसाय गर्दै आएका छन्।
व्यवसायमा व्यस्तता भए पनि सामाजिक कामप्रतिको उनको लगाव निरन्तर छ। प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने, उनीहरूका समस्या र आवश्यकतामा साथ दिने तथा नेपालमा आइपर्ने संकटका बेला सहयोग जुटाउने कार्यमा उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन्।
नेपालमा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति पुर्याएको खबरले उनलाई पनि भावुक बनायो। पीडित परिवारको दुःखमा आफ्नो तर्फबाट केही योगदान गर्नुपर्छ भन्ने भावनासहित उनले एनआरएनएमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका हुन्।
गैरेका लागि यो सहयोग केवल रकम हस्तान्तरण गर्ने विषय होइन। प्रवासमा कमाएको सफलताको एउटा हिस्सा मातृभूमिको दुःखमा प्रयोग गर्न सक्नु नै आफूले पाएको अवसरप्रतिको जिम्मेवारी हो भन्ने उनको सामाजिक यात्राले देखाउँछ।
दुई दशकदेखि पोर्चुगलमा रहेर कृषि व्यवसायमा सक्रिय गैरेले एनआरएनए अभियानमा पनि लामो समयदेखि योगदान दिँदै आएका छन्। एनआरएनएको माध्यमबाट प्रवासी नेपालीलाई नेपालसँग जोड्ने र आवश्यक पर्दा मातृभूमिको पक्षमा उभिने उनको सक्रियता निरन्तर रहँदै आएको छ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत र पुनःस्थापनाका लागि राज्यको प्रयाससँगै विदेशमा रहेका नेपालीको सहयोग पनि महत्वपूर्ण हुने गैरेको विश्वास छ। उनी विपद्को समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवता, सहकार्य र एकताको भावनाका साथ पीडितको साथमा उभिनुपर्ने बताउँछन्।
विदेशमा दुई दशक बिते पनि मन भने मातृभूमिसँगै राखेका गैरेको यो सहयोगले प्रवासमा रहेका नेपालीको नेपालप्रतिको सम्बन्ध दूरीले होइन, भावनाले निर्धारण गर्छ भन्ने सन्देश दिएको छ।