शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सहकारीको निक्षेप अपचलन तथा ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय

बिहिबार, भाद्र २५ २०८३

काठमाडौँ । सिभिल बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन तथा ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले व्यवसायी इच्छाराज तामाङलाई साढे पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृत बहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराध मुद्दामा सजाय निर्धारण गर्दै मुख्य अभियुक्त तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। यस मुद्दामा अदालतले गत भदौ ११ गते नै उनीहरूलाई कसुरदार ठहर गरेको थियो।
फैसला अनुसार सहकारीका तत्कालीन अध्यक्ष केशव लाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। निक्षेपकर्ताहरूको मागदाबी बमोजिमको कूल ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा बिगो तथा क्षतिपूर्ति रकम प्रतिवादीहरूबाट दामाशाहीका आधारमा जाहेरवालाहरूलाई भराइदिन अदालतले आदेश जारी गरेको छ।
इजलासले ठगी कार्यमा संलग्न अन्य पाँच जना प्रतिवादीहरूलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। एक वर्ष कैद सजाय पाउनेहरूमा सिर्जना शाक्य (तामाङ), लालकाजी गुरुङ, दानहिरा तुलाधर (कंसाकार), हरिहर प्रसाद लामिछाने र रामकृष्ण पौडेल रहेका छन्।
त्यसैगरी अन्य आठ जना प्रतिवादीहरूलाई जनही ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरिएको छ। जसमा दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, मुकुन्द प्रसाद न्यौपाने, नगेन्द्र बिमली, रामराज मास्के र हरि प्रसाद रिसाल रहेका छन्।

सहकारीका हजारौँ बचतकर्ताहरूको अर्बौँ रकम अपचलन गरी संगठित ठगी गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तामाङसहितका सञ्चालक तथा कर्मचारीहरूलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो। मुलुकी ऐन ठगीको महल तथा मुलुकी अपराध संहिता २०७४ बमोजिम अदालतले यो अन्तिम सजाय निर्धारण गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार