काठमाडौं । नाइजेरियाको प्रमुख आयल तथा ग्यास कम्पनी निप्को पीएलसीले नेपालका बाढीपीडितका लागि १५ हजार अमेरिकी डलर सहयोग गरेको छ। उक्त रकम नेपाली रुपैयाँ करिब २२ लाख ५० हजार बराबर रहेको छ।
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो। सहयोगका लागि एनआईपीसीओ समूह तथा कम्पनी व्यवस्थापनप्रति आभार व्यक्त गरिएको छ।
सहयोग जुटाउन कम्पनीका वित्त निर्देशक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाका पूर्वअध्यक्ष चिरञ्जीवी रोकाले विशेष पहल र समन्वय गरेका थिए। उनको अग्रसरतामा एनआईपीसीओबाट नेपालका बाढीपीडितका लागि सहयोग उपलब्ध भएको हो।
त्यस्तै, एनआईपीसीओ ग्यासका महाप्रबन्धक–वित्त तथा एनआरएनए नाइजेरियाका अध्यक्ष सोमेस अर्याल र ११ पीएलसीका महाप्रबन्धक–वित्त तथा एनआरएनए नाइजेरियाका पूर्वअध्यक्ष विश्वास पौडेललाई पनि सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरिएको छ।
नाइजेरियाको एनआईपीसीओ पीएलसी डाउनस्ट्रिम आयल तथा ग्यास क्षेत्रमा कार्यरत प्रमुख कम्पनीमध्ये एक हो। लागोसको अपापा क्षेत्रमा मुख्यालय रहेको कम्पनीले पेट्रोलियम पदार्थको भण्डारण तथा वितरण, इन्धन बिक्री केन्द्र, एलपीजी तथा सीएनजीलगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।
कम्पनीका नाइजेरियाभर ४०० भन्दा बढी ब्रान्डेड खुद्रा इन्धन बिक्री केन्द्र तथा करिब ८ करोड ५० लाख लिटर तेल भण्डारण क्षमता रहेको बताइएको छ। एनआईपीसीओले नाइजेरियामा सीएनजी प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने पछिल्लो समय अपस्ट्रिम आयल तथा ग्यास क्षेत्रमा समेत व्यवसाय विस्तार गरिरहेको छ।
नेपालमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला स्वदेश तथा विदेशबाट राहत तथा सहयोग जुट्ने क्रम जारी छ। यसै क्रममा नाइजेरियास्थित एनआईपीसीओ पीएलसीको सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।