सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३

सीप सिकेर युवाहरू नेपाल फर्किने वातावरण बनाउनुपर्छ : भीमसेन थापा (एनआरएनएका युवा उपाध्यक्ष)

सोमबार, भाद्र २२ २०८३

काठमाडौं(जस)–स्वदेशमा अवसरको अभावले गर्दा राष्ट्रिय स्तरका खेलाडीदेखि दक्ष जनशक्तिसम्म विदेशीनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा विदेशमा रहेका करिब ८० लाख नेपालीको साझा संस्था एनआरएनएले युवाका मुद्दालाई कसरी सम्बोधन गरिरहेको छ त ? प्रस्तुत छ, एनआरएनएका युवा उपाध्यक्ष भीमसेन थापासँग संस्थाभित्रको पुस्तान्तरण, युवा स्वरोजगार र सरकारसँगको समन्वयका विषयमा गरिएको यो विशेष कुराकानी :

अहिले हाम्रो देशका दक्ष युवा र प्रतिभावान खेलाडीहरू समेत बाध्यताले विदेशिनु पर्ने स्थिति छ । यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खेलकुद वा अन्य माध्यमबाट देशलाई कसरी चिनाउने योजना बनाएको छ ?
युवाहरूका समस्या विश्वभरि नै प्रायः समान छन् । यदि हाम्रो देशको अर्थतन्त्र बलियो हुन्थ्यो र पर्याप्त अवसर हुन्थे भने युवाहरू बाहिरिनुपर्ने अवस्था आउने थिएन । परिवार र भविष्यप्रतिको जिम्मेवारीका कारण हाम्रा सक्षम युवा र राष्ट्रिय स्तरका खेलाडीहरू समेत युरोप, अमेरिका, अष्ट्रेलिया र खाडी मुलुकमा जान बाध्य छन् । तथ्याङ्क अनुसार करिब ८० लाख नेपाली विदेशमा रहँदा करिब १५ देखि २० लाख युवा जनशक्ति बाहिर छ । एनआरएनएले यो जनशक्तिलाई कसरी नेपालसँग जोड्ने र उनीहरूको क्षमतालाई देशको हितमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ । सम्मेलनमा सहभागी हुनुभएका नेपाल सरकारका प्रतिनिधिहरूसँग पनि यसबारे सहकार्यका लागि मैले प्रतिबद्धता व्यक्त गरेको छु ।

नेपालमै रहेका युवाहरूलाई स्वदेशमै रोक्न र विदेशिएका युवाहरूलाई प्रविधिमैत्री एवं सशक्त बनाउन तपाईंहरूसँग के–कस्ता ठोस योजनाहरू छन् ?
एनआरएनएले यसका लागि एउटा उत्प्रेरक वा ’पुल’ को भूमिका निर्वाह गर्ने हो । मुख्य जिम्मेवारी त सरकारकै हुन्छ । यदि देशमै सीप अनुसारको काम र लगानीको वातावरण बन्ने हो भने कसैलाई पनि बाहिर जाने रहर हुँदैन । हाल विदेशमा रहेकामध्ये ९८ प्रतिशत नेपालीहरू श्रमिकका रूपमा कार्यरत हुनुहुन्छ; केवल २ प्रतिशत मात्र व्यवसायी हुनुहुन्छ । आफ्नै परिवारसँग बसेर स्वरोजगार हुने वातावरण बनाउन उद्योग र कलकारखानाको विकास हुनुपर्छ । यसका लागि एनआरएनएले सरकारसँग निरन्तर पहल र सहकार्य गरिरहेको छ ।

सरकार र युवा वर्गबीच एनआरएनएले पुलको काम गरिरहेको भन्नुभयो । यो भूमिकालाई अझ प्रभावकारी बनाउन र युवाहरूलाई स्वदेशमै टिकाउन कस्तो कार्ययोजना छ ?
मैले युवा उपाध्यक्षको हैसियतले नेतृत्व लिइरहँदा मेरो प्राथमिकता नेपाल सरकारलाई समस्या समाधानका लागि घच्घच्याउनु नै हो । जो विदेश गइसक्नुभयो, उहाँहरूले त्यहाँ आर्जन गरेको सीप र प्रविधिलाई नेपालमा कसरी उपयोग गर्ने र जो नेपालमै हुनुहुन्छ, उहाँहरूलाई कसरी स्वरोजगार बनाउने भन्नेमा हाम्रो ध्यान छ । विदेश जानु आफैँमा नराम्रो होइन, तर त्यहाँ सिकेको सीपलाई स्वदेशको विकासमा लगानी गर्नु अनिवार्य छ ।

तपाईंले ‘रि–ब्रान्डिङ’ को कुरा गर्नुभयो । के यो पुरानो नेतृत्वले केही गरेनन् र हामी नयाँ ढङ्गले आउँछौँ भन्न खोज्नुभएको हो ?
यसो होइन । पुरानो पुस्ताबाट हामीले धेरै कुरा सिक्नुपर्छ । ’रि–ब्रान्डिङ’ भनेको विगतका कमजोरीहरूलाई सुधार्ने र राम्रा कामहरूलाई निरन्तरता दिँदै संस्थालाई समयानुकूल बनाउने प्रक्रिया हो । संस्थाभित्रका नकारात्मक गतिविधि हटाएर विकासमुखी र परिणाममुखी काम गर्नु नै रि–ब्रान्डिङ हो । तर ’युवा’ भन्ने शब्द भाषणमा मात्र सीमित भयो भन्ने गुनासो छ । देशमा युवा नेतृत्वको सरकार छ, तपाईंहरू पनि युवाकै कुरा गर्नुहुन्छ, तर युवा विदेशिने क्रम रोकिएको छैन । यो मुद्दा कार्यान्वयन हुने पक्ष हो कि केवल भाषण मात्र ? तपाईंको प्रश्न जायज छ । युवाको नेतृत्व गरिरहँदा मैले युवाकै मुद्दा उठाउनु स्वाभाविक हो । अहिले देशमा बिस्तारै प्रणाली बस्दैछ र विकासका गतिविधिहरू अघि बढ्दैछन् । तर, सबै कुरा सरकार वा अरूको भरमा मात्र छोड्नु हुँदैन; हामी युवाहरूले पनि आफैँ केही गरेर देखाउनुपर्छ । हामीले प्रणाली बसाल्न मद्दत गर्ने हो र त्यसको सदुपयोग पनि आफैँले गर्ने हो । परिवर्तनको सुरुवात हामी आफैँबाट हुनुपर्छ ।

युवालाई सीपयुक्त बनाउन तपाईंहरूको लगानी कहाँ छ त ? के यो कुरा भाषणमै मात्र सीमित हुने त होइन?
परिवर्तन रातारात हुँदैन, यो एउटा प्रक्रिया हो । हामी बिस्तारै ठोस योजनाका साथ अघि बढ्दैछौँ । तपाईं ढुक्क हुनुहोस्, सकारात्मक परिवर्तन अवश्य हुँदैछ ।

नेपालमा नयाँ युवा नेतृत्वको उदय भइरहँदा एनआरएनएमा भने २० वर्षदेखि सक्रिय पुराना अनुहारकै बोलवाला देखिन्छ । के एनआरएनएमा नेतृत्व परिवर्तन र पुस्तान्तरण आवश्यक छैन ?
एनआरएनए सन् २००३ मा स्थापित भएको ८४ देशमा सञ्जाल फैलिएको एउटा ठुलो छाता संगठन हो । संस्था चलाउन अनुभव र यसको मर्म बुझेको व्यक्ति चाहिन्छ । जो सक्षम छ, जसले संस्थालाई समय दिन सक्छ र जसले नागरिकता वा लगानी जस्ता गम्भीर विषयमा सरकारसँग पैरवी गर्न सक्छ, त्यस्तो अनुभवी व्यक्तिले नै नेतृत्व लिने हो । केवल नातागोताका आधारमा नेतृत्व सुम्पिनु न्यायसंगत हुँदैन ।

अन्त्यमा, हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनका माध्यमबाट युवा प्रतिनिधिका रूपमा के सन्देश दिन चाहनुहुन्छ?
हामीले यस पटक ’दोस्रो पुस्ता’ लाई जोड्ने विशेष पहल गरेका छौँ । विदेशमा लामो समयदेखि बसोबास गरिरहेका नेपालीका छोराछोरी, जो त्यहीँ जन्मिए र हुर्किए, उहाँहरूलाई नेपालको भाषा, संस्कृति र माटोसँग जोड्नु हाम्रो मुख्य उद्देश्य हो । दोस्रो र तेस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने वातावरण बनाउन एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार