काठमाडौं । कतारमा रहेका नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ कतारले बाढीपीडितका लागि ३८ लाख २६ हजार ३ सय ९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संघले आफ्ना व्यवसायी सदस्य तथा विभिन्न सहयोगी संस्थाबाट संकलन गरेको उक्त रकम संघका अध्यक्ष महेन्द्रप्रसाद चौम्लागाईसहितको टोलीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष नरेन्द्र भाट, सचिव सुनिल घिमिरे र सहकोषाध्यक्ष रामकुमार श्रेष्ठको सहभागिता थियो। संघका अनुसार कुल ४२ जना व्यवसायी तथा सहयोगीबाट रकम संकलन गरिएको हो। संकलित रकममध्ये सफारी मलले सबैभन्दा बढी १० लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ।
सहयोग हस्तान्तरणपछि संघका अध्यक्ष चौम्लागाईले विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु व्यवसायीको सामाजिक दायित्वसमेत भएकाले आफूहरूले सक्दो सहयोग जुटाएको बताए।
उनले संकलित रकम पारदर्शी ढंगले सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको उल्लेख गर्दै भने, ८८‘हामीले सहयोगका लागि व्यवसायी सदस्य तथा सहयोगी संस्थाबाट रकम संकलन गर्यौँ र संकलित रकम आफैँ उपस्थित भएर पारदर्शी रूपमा सरकारलाई हस्तान्तरण गरेका हौँ। विपत्तिमा परेका नेपाली नागरिकलाई सहयोग गर्नु हाम्रो मानवीय र सामाजिक जिम्मेवारी हो।’८८
अध्यक्ष चौम्लागाईले विदेशमा रहेका नेपाली व्यवसायीहरूले आफ्नो व्यवसायसँगै मातृभूमिप्रतिको जिम्मेवारीलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएको बताए। आगामी दिनमा पनि नेपालमा लगानी, सामाजिक सहयोग तथा आपत्कालीन अवस्थामा आवश्यक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ।
नेपाली व्यवसायी संघ कतार कतार सरकारमा औपचारिक रूपमा दर्ता भएको पहिलो नेपाली संघका रूपमा रहेको बताइएको छ। संघले कतारमा रहेका नेपाली व्यवसायीहरूको हकहित, अधिकार तथा व्यावसायिक समस्या समाधानका लागि विभिन्न गतिविधि गर्दै आएको छ।
यसका साथै संघले नेपालमा लगानी प्रवर्द्धन, सामाजिक सहयोग तथा विभिन्न परोपकारी गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो आर्थिक सहयोग पनि नेपालमा आएको विपत्तिमा विदेशमा रहेका नेपाली व्यवसायीहरूले देखाएको ऐक्यबद्धताको उदाहरण भएको संघले जनाएको छ।